काठमाडौं । राजावादी प्रदर्शनको क्रममा हिंसा भड्किएको तीनकुने घटनामा दुर्गा प्रसाईँविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा समेत अनुसन्धान सुरु भएको छ । १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा उनले सुरक्षाकर्मीलाई गाडीले पेल्दै अघि बढेको आरोपमा प्रहरीसमक्ष सामूहिक उजुरी दर्ता भएको हो । भिडिओमा उनी आफैँले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीमाथि गाडी चलाएको देखिन्छ ।

यसअघि काठमाडौं जिल्ला अदालतबाट राजद्रोह, सङ्गठित अपराध र आपराधिक उपद्रवसम्बन्धी कसुरमा प्रसाईँविरुद्ध अनुसन्धान सुरु भइसकेको छ । ज्यान मार्ने उद्योग थपिएसँगै अब चार वटा कसुरमा एकैसाथ अनुसन्धान अघि बढाइएको हो ।
प्रदर्शनको क्रममा हिंसात्मक गतिविधि भएको, घर, पसल र सवारी साधनमा तोडफोड तथा आगजनी भएको थियो । सोही क्रममा दुई जनाको ज्यान गएको थियो ।
१५ दिनसम्म फरार रहेका प्रसाईँ २८ चैतमा भारतको आसामबाट पक्राउ परेका थिए । उनीलाई झापाको चन्द्रगढी विमानस्थलमार्फत काठमाडौं ल्याइएको थियो। अदालतले हाल उनलाई १२ दिनको म्यादमा हिरासतमा राख्न अनुमति दिएको छ ।