काठमाडौं । काठमाडौंको टोखा क्षेत्रबाट बरामद गरिएको करिब २५ करोड रुपैयाँ बराबरको युरो र अमेरिकी डलर सम्बन्धी घटनामा दुई जनाविरुद्ध मुद्दा दायर गरिएको छ ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेका अनुसार ट्रक चालक कुसाङ लामा उर्फ ‘फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ का नारायण पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार मुद्दा दायर गरिएको हो ।
विभागले उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै सो रकम जफत गर्न आग्रह गरेको छ ।
गत चैत ४ गते राति करिब १० बजेतिर टोखास्थित झोर महांकालबाट ना७ख १६५२ नम्बरको ट्रकमा लुकाएर राखिएको ठुलो परिमाणको विदेशी मुद्रा प्रहरीले बरामद गरेको थियो । ट्रक चालक कुसाङ लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का बासिन्दा हुन् ।
अनुसन्धानका क्रममा उक्त रकम सिन्धुपाल्चोकका पुराना खासा व्यापारी नारायण पौडेलको भएको खुलेको छ । टोखा नगरपालिका–१० स्थित महादेवटार हाइटमा बस्दै आएका पौडेल हाल फरार छन् ।
तिब्बती नागरिकसँग विवाह गरेका पौडेल विगतमा खासा व्यापारमा संलग्न थिए । २०७२ सालपछि तातोपानी नाका बन्द भएपछि उनले रसुवाको केरुङ नाका प्रयोग गर्दै सुन तस्करी सुरु गरेको अनुसन्धानले देखाएको छ ।
जफत रकम सुन खरिदका लागि केरुङतर्फ लैजाने योजनाअनुसार फुच्चे उक्त ट्रक चलाइरहेका थिए