Logo
Logo
टिप्पणी

राजनीतिक अस्थिरता र नयाँ वर्षको चुनौती


441
Shares

काठमाडौं । गत वर्ष २०८१ साल आम नेपाली जनताका लागि कुनै पनि कोणबाट सुखद रहन सकेन । राजनीतिक अस्थिरताका कारण वर्षमा दुई पटक सरकार परिवर्तन भयो । सरकारमा जानेहरूले सुशासनलाई प्राथमिकतामा राखे पनि कार्यान्वयन हुन सकेन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनको पक्षमा ललितानिवास जग्गा, बाँसबारी जग्गा काण्ड, बालमन्दिर जग्गा काण्डलगायत केही पुराना फाइल नखोजेका होइनन्, तर त्यसै क्रममा कांग्रेस नेतृ आरजु राणा देउवालाई नक्कली भुटानी शरणार्थी काण्डमा जोगाउन कांग्रेसले सत्ता समिकरण बदलेर आरजु पक्राउ पर्नबाट जोगिइन । आरजुलाई जेल हाल्नका लागि बेचन झालाई भारतबाट पक्राउ गरी ल्याइएको थियो । त्यतिबेला गृहमन्त्री थिए रवि लामिछाने ।

संसदमै तत्कालीन गृहमन्त्री लामिछानेले ठुला काण्डमा संलग्न जो कोहीलाई पनि नछाड्ने प्रतिबद्धता जनाएका थिए । उनले गिरिबन्धु टी स्टेटमा संलग्न व्यक्तिहरूको फाइल खोल्ने बताएपछि एमाले अध्यक्ष केपी शर्मा ओली पनि झस्केका थिए ।

त्यसैले सहकारी ठगीको बहानामा रवि लामिछानेलाई जेल कोचिएको छ । वास्तवमा रवि लामिछाने सहकारी ठग होइनन्, ऋणी हुन् । उनले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा विभिन्न सहकारीबाट ऋण लिएका थिए । त्यही झुटो आरोपमा लामिछानेलाई राज्यले पूर्वाग्रह साँध्ने काम गरेको छ ।

लामिछानेको मुख थुन्दैमा ठूला दलका नेताहरूले आफ्नो अपराधबाट मुक्ति पाउने छैनन् । ‘ऋणसँग नडराउनु, दिनसँग डराउनु’ भन्छन् । अहिले पनि लाखौँ सहकारी पीडित सडकमा छन् । उनीहरूको समस्या समाधान गर्नेतिर सरकारको ध्यान गएको छैन ।

पक्कै पनि सत्ताको आवरणमा लुकेका अपराधीहरू जेल जानुपर्ने दिन नजिकै छ । त्यसैले सरकार शान्तिपूर्ण जुलुसलाई हिंसामा परिणत गरेर आफ्नो काल आफैँ निम्त्याउँदै छ । आम जनता भ्रष्टाचार र अपराधका विरुद्ध सडक आन्दोलनमा छन् । दिनहुँ राजधानीका सडकहरू आन्दोलनले भरिएका छन् । जुनसुकै तप्काका नागरिकहरूमा पनि असन्तुष्टि चुलिएको छ । आम नागरिक अब अन्याय सहने पक्षमा छैनन् । त्यसैले राजावादीहरूको जुलुस असन्तुष्ट नागरिकले भरिन थालेको छ ।

नेताहरूको भ्रष्ट चरित्रका कारण लोकतन्त्रकै बदनाम भएको छ । विगतमा लोकतान्त्रिक गणतन्त्रका लागि लडेका सचेत नागरिकहरू समेत राजावादी बनेका छन् । यो राम्रो संकेत होइन । सत्ता जहिले पनि तानासाही र निरङ्कुश हुन्छ ।

त्यो शैली अहिलेको लोकतान्त्रिक शासकहरूले पनि अबलम्बन गर्दै आएका छन् । सत्ता जब कमजोर हुन थाल्छ तब उसले दमनको बाटो रोज्छ । दमन समस्याको समाधान होइन, निरङ्कुश सत्ताको अन्त्य हो भन्ने कुरा अहिलेका शासकहरूले बुझ्न जति ढिलाइ गर्छन्, उति उनीहरूको पतन नजिकिन्छ ।

सरकार गठन भएको नौ महिना बित्दासम्म विकास, सुशासन र कानुनी सुधारमा उत्साह जगाउने कुनै पनि काम हुन सकेको छैन । राजनीतिक व्यवस्था र सङ्घीयता सुदृढ गर्न संविधान संशोधनको उद्घोष गरे पनि कांग्रेस र एमालेले त्यसको गृहकार्य नै थाल्न सकेका छैनन् ।

विगतको समीक्षा गर्दै आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिबद्धता जनाउने उपयुक्त बेला नयाँ वर्ष हो । यो भनेको कमजोरी सुधार गर्दै अघि बढ्ने एउटा अवसर पनि हो । तर, नेताहरूले प्रत्येक वर्ष जनाउँदै आएका प्रतिबद्धता भुल्दै आएका छन् । त्यसैले हरेक वर्ष क्यालेन्डरको पाना पल्टाउने काम मात्रै हुँदै आएको छ । जसका कारण राजनीतिक दलप्रति जनतामा गुनासा, प्रश्न र आक्रोश बढ्दो छ । जसलाई व्यवस्था विरोधीहरूले हतियारको रूपमा प्रयोग गरेका छन् ।

यस्तो संकटपूर्ण अवस्थाबाट देशलाई पार लगाउन जनता नयाँ चिन्तन, नयाँ विचार, नयाँ बाटो र नयाँ नेतृत्वको खोजीमा तड्पिरहेका छन् । आशा गरौँ, नयाँ वर्ष २०८२ ले सम्पूर्ण नेपाली जनताको निराशालाई आशामा परिणत गर्न सकोस् । नयाँ वर्ष २०८२ को शुभकामना ।

प्रतिक्रिया दिनुहोस्