Logo
Logo

यौन दुर्व्यवहारमा परेकी थिइन, गाउँमै मिलापत्र गर्न दबाब दिएपछि रोजिन् आत्महत्या

घटना अनुसन्धानमा प्रहरीको आलटाल, ६५ दिनपछि मात्रै जाहेरी दर्ता


3.8k
Shares

काठामाडौं । सिरहाको नवराजपुर गाउँपालिका–३ स्थित जगतपुर दोनवारी टोलमा मुसहर समुदायकी एक महिला मृत फेला परेकी छन् । यौन दुर्व्यवहारमा परेकी २४ वर्षीया आनन्दीदेवी सदाय मंगलबार दिउँसो ३ बजे माइती घरमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

आनन्दी विवाहित हुन् । उनको २ वर्षकी एक छोरी छन् । श्रीमान् भने वैदेशिक रोजगारमा छन् । छोरीसहित पछिल्लो समय माइतीघरमै बस्दै आएकी आनन्दीमाथि झन्डै ४ महिनाअघि गाउँकै दुई युवकबाट बलात्कार प्रयास भएको थियो ।

उनी न्यायको प्रतिक्षमा थिइन् । तर, प्रहरी प्रशासनले न्यायमा ढिलाइ गरेपछि उनले आत्महत्याको बाटो रोजेकी आफन्तले बताएका छन् । यो घटनामा प्रहरीले घटना भएको ६५ दिनपछि मात्रै जाहेरी दर्ता गरेको पाइएको छ ।

आनन्दीकी आमा बिलटौनदेवीका अनुसार घटनालगत्तै उनले दोषीमाथि कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा जाहेरी दिएकी थिइन् । तर, प्रहरीले तुरुन्तै उजुरी दर्ता गरेर पीडकलाई पक्राउ गर्न ढिलाइ गरेको र पीडकले गाउँमै मिलापत्र गर्न दबाब दिएपछि आनन्दीले आत्महत्याको बाटो रोजेको उनको भनाई छ ।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए । ‘घटना मुचुल्का गरी शव पोस्टमार्टमका लागि पठाएका छौं,’ उनले भने, ‘यस विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।’

पीडित परिवारका अनुसार आनन्दी गत पुस ९ बिहान ११ बजे बरियारपट्टी गाउँपालिका–१ स्थित नर्गी बस्ने आफ्नी दिदीलाई भेट्न हिँडेकी थिइन् । गाउँमै रहेको पोखरी हुँदै गन्तव्यतिर गइरहेकै बेला स्थानीय २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले उनलाई घेरा हालेर बलात्कार प्रयास गरेका थिए ।

तर, उनी प्रतिकार गर्दै उम्केएर भाग्न सफल भएकी थिइन् । घटनालगत्तै सोही दिन अपराह्न आनन्दीले इलाका प्रहरी कार्यालय महेशपुर पतारमा जाहेरी दिइकी थिइन् । तर, घटनाको अढाई महिनापछि फागुन २५ मा मात्रै प्रहरीले उनीहरूविरुद्ध जबर्जस्ती करणी उद्योगमा जाहेरी दर्ता गरेको पाइएको छ । यसबीच पीडकका पक्षबाट केही स्थानीयले घटना गाउँमै मिलाउन प्रयास गरेको पनि खुलेको छ ।

आमा बिल्टौनका अनुसार गाउँकै केही व्यक्तिले रकम लिएर गाउँमै मिलिहाल्न र नमिले उल्टै मुद्दा लगाइदिने धम्की दिएका थिए । आफूहरू मिडियामा जाने तयारी गरेपछि बल्ल प्रहरीले जाहेरी दर्ता गरेको मृतककी आमा बिल्टौनले सुनाइन् ।

एसपी शर्माले यो घटना अनुसन्धानकै क्रममा रहेको बेला पीडिले आत्महत्या गरेको बताए । उनले भने, ‘म दुई साताअघि मात्रै सिराहा आएको हुँ । म आएपछि चलिरहेका मुद्दालाई ध्यान दिएर हेर्न निर्देशन दिएको छु । अहिले आरोपी भारततिर भागेका छन् भन्ने छ । खोजतलास जारी छ ।’

उनले यो घटनामा प्रहरीले उजुरी दर्ता गर्न केही दिन ढिला गरेको स्वीकार गर्दै त्यतिबेलै किन उजुरी दर्ता भएन सम्बन्धित निकायमा बुझ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्