
काठमाडौं । सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित युनिटी ठगी काण्डमा सञ्चालकहरूलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासले युनिटीका सञ्चालकहरुलाई दोषी ठहर गर्दै कैद सजाय तथा जरिवानाको फैसला गरेको हो ।
त्यतिबेला प्रतिबन्ध लगाइएको पिरामिड शैलीको व्यवसाय गरेको आरोपमा युनिटीका सञ्चालकहरूमाथि प्रहरीले ठगी मुद्दा चलाएको थियो ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलका अनुसार युनिटीका अध्यक्ष काशीराम गुरुङसहित सञ्चालकहरू भीमबहादुर गरुङलाई साढे २ वर्ष कैद सजाय र २५ हजार जरिवाना तोकिएको छ ।
युनिटीका महाप्रवन्धक शिशिर योगीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । निर्देशक विश्वनाथ गौतमलाई पनि त्यति नै सजाय हुने भएको छ ।
अरु सञ्चालकहरू इन्द्रबहादुर विश्वकर्मा, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्र, महेन्द्र केसी, विष्णुबहादुर क्षेत्रीलाई साढे २ वर्ष कैद सजाय सुनाइएको हो । कैद सजाय तोकिएको हरेकले २५ हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ । विष्णुबहादुर क्षेत्रीको भने यसअघि नै निधन भइसकेकाले कैद र जरिवाना मिनाहा गरिएको छ ।
युनिटीका सञ्चालकहरूले पिरामिड आकारको सञ्जाल बनाई ३ लाख ४० हजार सदस्यबाट ३ अर्बभन्दा बढी रकम उठाएर अपचलन तथा घोटाला गरेका थिए ।














