काठमाडौं । सिरियामा संयुक्त राष्ट्रसंघको ‘युनाइटेड नेसन्स डिस्इंगेजमेन्ट अब्जर्भर फोर्स’ (UNDOF) अन्तर्गत खटिएको नेपाली सेनाको टोलीमाथि जंगीअड्डाले छानबिन थालेको छ । सिरियाबाट फर्किएको १९७ सदस्यीय टोलीका झण्डै ३० जनामाथि सोधपुछ भइरहेको छ, जसमा मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्कासहित चार अधिकारी अहिले पनि सैनिक प्रहरी गणको नियन्त्रणमा छन् ।

२२ मंसिर २०८१ मा सिरियाको हदारस्थित १०–ए सुरक्षा पोष्टमा हतियारधारी समूहले हमला गरी केही अत्याधुनिक हतियार लुटेका थिए । घटनापछि युनले छानबिन गरी हतियार फिर्ता गरिसकेको भए पनि, नेपाली सेनाले आन्तरिक कमजोरीको मूल्याङ्कन गर्न छानबिन थालेको हो ।
सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार, छानबिन अहिलेसम्म आन्तरिक प्रकृतिको मात्र छ । यदि गम्भीर त्रुटि भेटिएमा कोर्ट मार्सलसम्मको प्रक्रिया अघि बढाइने छ ।











