काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको बताएको छ।

महाशाखाले आज (बिहीबार) साँझ जारी गरेको आगामी ३ दिनको मौसम पूर्वानुमान बुलेटिनमा बिहीबार राति देशका सातै प्रदेशका हिमाली भेगमा हलुका हिमपात तथा पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ्गसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
शुक्रवार र शनिवार दिउँसो ७ प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हिमपातको सम्भावना रहेको छ।
भोलि र पर्सी २ दिन पहाडी र तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन तथा चट्याङ्गसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।











