
उनी सानैदेखि पत्रकार बन्न चाहन्थिन् । जतिखेर उनलाई लाग्थ्यो– पत्रकारिता हरेक क्षेत्रमा सेवा गर्ने सशक्त माध्यम हो । उनै सरिता चौलागाइँ अहिले पत्रकारितामा सक्रिय छिन् । उनी पत्रकारितामा चुनौती र अवसर दुवै देख्छिन् । काभ्रे कोशीपारी चौरीदेउरालीकी २६ बर्षीया सरिता भन्छिन्, ‘जीवनको लक्ष्य र समाज परिवर्तनको ध्येय पूरा गर्न पत्रकारिताबाट प्रेरित छु ।’ हाल नारी टिभीमा कार्यरत टिभी जर्नालिस्ट सरिता चौलागाइँसँग रेजिना पाण्डेको जम्काभेट :
पत्रकारिता किन रोज्नुभयो ?
–सानै उमेरदेखि पत्रकार बन्ने इच्छा थियो । पत्रकारिता मेरो लागि पेसा मात्र होइन, हरेक क्षेत्रमा सेवा पु¥याउने एउटा सशक्त माध्यम पनि हो । परिवर्तनकारी भावनाले नै पत्रकारिताले मेरो मार्ग बन्यो । जसले मलाई समाजमा नयाँ दिशा र आवाज दिने अवसर प्रदान गरेको छ ।
कहिलेदेखि पत्रकारिता सुरु गर्नुभयो ?
मेरो पत्रकारिता कोभिडको समयबाट सुरु भयो । त्यो बेला म एउटा टिभीका काम गर्थेँ । उक्त तीन बर्ष काम गरेपछि आफैँ केही गरौं भन्ने सोचले नेपाल युनिक मिडिया प्रा.लि स्थापना गरेँ । तर, अगाडि बढ्न खाशै साथ र सपोर्ट नमिलेपछि अरुको मिडियामै काम गर्ने सोच आयो । अहिले नारी टिभीमा कार्यरत छु ।
पत्रकारितामा यहाँसम्म आइपुग्न सहज थियो ?
थिएन, यो भन्दाअघि मैले धेरै काम गरेँ । २०७२ सालमा कपडा पसलमा समेत काम गरेँ । घरको आर्थिक अवस्था कमजोर थियो । बाबाको संघर्षले मलाई पढ्न र आफ्नो भविष्य निर्माणका लागि संघर्ष गर्न प्रेरित ग¥यो । काठमाडौं आएर काम गर्दै आफ्नो पढाइ खर्च आफैले जुटाउँदै जीवनलाई नयाँ दिशा दिएँ । घरपरिवारदेखि टाढा बसेर काम गर्दा र संघर्षको कठिनाइ धेरै थियो । पशुपति बहुमुखी क्याम्पसमा काम गर्दै पढ्दै गरे र स्नातकोत्तर पनि पूरा गरे । त्यसपछि मेरो पत्रकारिता अगाडि बढेको होे ।
पत्रकारितामा के के चुनौती देख्नुहुन्छ ?
पत्रकारिता भनेपछि आफैमा चुनौतीपूर्ण पेसा हो । मुख्यगरी पत्रकारितामा राजनीतिक, व्यवसायिक र अन्य दबाबहरू हुन्छ । कतिपय ठाउँमा त सुरक्षा जोखिम, मानसिक दबाव जस्ता चुनौतीहरु आउँछ । यस्ता समस्याले पत्रकारको स्वतन्त्रता, निष्पक्षता र गुणस्तरमा प्रभाव पारेको छ ।
पत्रकारितामा प्रभावित पार्ने व्यक्तिको को र किन ?
पत्रकारिता क्षेत्र प्रभावित पार्ने व्यक्तिभन्दा पनि मेरो आफ्नै चाहना र इच्छा हो । परिवारमा बुबाआमाको मेहनत र परिश्रम देखेर मैले पनि केही गर्नुपर्छ है भन्ने लागेर पत्रकारिता पेसा रोजेँ । पत्रकारिताकै कुरा गर्दा नेपाल टेलिभिजनकी पूर्व समाचार वाचिका रमा सिंह, बबिता बस्नेत, रविन्द्र मिश्रलगायतका कार्यक्रम राम्रो लाग्थ्यो ।
महिलालाई यो क्षेत्रमा कतिको सहज छ ?
पत्रकारिता भनेपछि आफैँमा चुनौतीपुर्ण छ । अझै यो क्षेत्रमा महिला भएर काम गर्न चुनौती छ । हाम्रो समाजको रूढिवादी दृष्टिकोण, पारिवारिक अपेक्षा र व्यक्तिगत सुरक्षाजस्ता विषयमा पनि ख्याल राख्नुपर्ने हुन्छ । यो क्षेत्र संबेदनसील पनि छ । म त पत्रकारितामा महिलालाई समान अवसर र सम्मानको कमी भएको देख्छु । यद्यपि, हामीहरुले आफ्नो योग्यताको प्रदर्शन गरेर यी चुनौतीहरूको सामना पनि गरेका छौँ ।
आजसम्म कहाँ कहाँ पुग्नुभएको रिपोटिङ्ग गर्न ?
पत्रकारितामा काम गर्दा बाहिर जानु र जोखिमपूर्ण स्थानमा काम गर्नु भनेको साहसिक कार्य हो । जुन मैले पनि गर्दै आएको छु । डर र जोखिमका बावजुद पनि पत्रकारले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गर्नुपर्छ । म रिपोर्टिङकै क्रममा काभ्रे, रामेछाप, चितवन, जनकपुर, सर्लाही, तराई क्षेत्र लगभग भ्याइसकेको छु । सुदुरपश्चिममा धनगढी, अछाम, डडेलधुरा, बाजुरा लगायतका जिल्लाहरु पुगेकी छु ।
तपाइँको पेसालाई लिएर परिवारले के भन्छन् ?
सुरुवाती दिनमा गाली खानु परेको थियो । छोरी भएर जहाँ पनि जाने, घर समयमा नआउने, आफ्नो ज्यानको माया छैन ? छोरीको इज्जत नहेर्ने जस्ता धेरै बचन खाएँ । तर, अहिले मेरो परिवार, आफन्त सबै मेरो कामबाट खुशी हुनुहुन्छ ।
तपाइँ रिपोटिङका अलावा कार्यक्रम पनि चलाउनुहुन्छ ?
हो, म अहिले तीन वटा कार्यक्रम चलाउँछु । सुरुवातमा मैले परिवर्तनको आवाज कार्यक्रम चलाएँ । एक वर्ष जति हुन लाग्यो, अरु दुई कार्यक्रम थपिएको छ । आजको नारी र बालमनोरञ्जन ।
यो क्षेत्रमा लागेर पाएको सफलता के हो ?
हामीले सफलता के र कस्तोलाई मान्ने । अहिले हामी हरेक व्यक्तिको मस्तिकमा यस्तो छ कि पैसा कमाउनुपर्छ । तर, मेरो लागि पैसा कमाउनु सफलता होइन । हामीले दृष्टिकोण बदल्नुपर्छ भन्ने सोच राखेर हिँडेकी छु । म यस क्षेत्रमा लागेको धेरै भएको छैन । तर पनि सफल नै छु जस्तो महसुस गरेकी छु । पैसा कमाउन नसकेपनि मानसम्मान र इज्जत कमाएकी छु । मेरो लागि यो सबैभन्दा ठूलो सफलता हो । भन्छन् नि, प्रतिक्षाको फल मिठो हुन्छ । त्यसैले त्यो सफलता पाउन पाइलाहरु चालिरहेकी छु ।
आगामी योजना के छ ?
योजनाहरु धेरै छन् । पहिलो योजना आफू र आफ्नो संस्था युवा डेल्ली मिडियालाई अगाडि बढाउने । बिकट गाउँवस्तीहरुमा पुगेर त्यहाँको समस्या उजागर गर्ने मन छ ।