काठमाडौं । करिब सात दशकदेखि समाधान हुन नसकेको कश्मीर विवादका कारण भारत र पाकिस्तानबीचको तनाव बारम्बार चर्किँदै आएको छ । गत अप्रिल २२ मा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मृत्यु भएपछि दुई देशबीच फेरि तनाव चर्कियो ।
स्थिति बिग्रँदै जाँदा भारत र पाकिस्तानबीच युद्धको अवस्था सिर्जना भएको छ । बुधबार बिहान भारतले पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरमा हवाई हमला गरेपछि पाकिस्तानले पनि जवाफी कारबाही गरेको छ । भारतीय सञ्चारमाध्यका अनुसार आक्रमणमा अहिलेसम्म पाकिस्तानमा ३१ र भारतमा १४ जनाको मृत्यु भइसकेको छ ।

भारतले पाकिस्तानी भूभागमा लक्षित गरी सुरु गरेको ुअपरेसन सिन्दूरु जारी रहेको जनाएको छ । बिहीबार दिल्लीमा केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो । बैठकपछि केन्द्रीय संसदीय कार्यमन्त्री किरेन रिजिजूले सर्वदलीय बैठकमा रक्षामन्त्री सिंहले सबैलाई ुअपरेसन सिन्दूरु का बारेमा जानकारी दिएको बताए ।
कश्मीर विवाद किन बारम्बार चर्किन्छ ?
सन् १९४७ को अगस्टमा भारत र पाकिस्तानले बेलायती शासनबाट स्वतन्त्रता पाएलगत्तै जम्मु–कश्मीरलाई लिएर विवाद सुरु भयो । स्वतन्त्रताअघि ब्रिटिश भारतमा साढे पाँच सय बढी रियासतहरू थिए, जसका शासक महाराजाहरूले निश्चित कर तिरेर आफ्नो क्षेत्रमा शासन गर्थे ।
भारतीय स्वतन्त्रता ऐनअनुसार यी रियासतहरूले भारत वा पाकिस्तानमध्ये एकमा गाभिनुपर्ने थियो र यो निर्णय गर्ने अधिकार शासकहरूसँग थियो । जम्मु–कश्मीरले पनि यस्तै अधिकार पाएको थियो, तर उसले कुन देशमा गाभिने भन्ने निर्णय गर्न सकेन । यही बेला पाकिस्तानी क्षेत्रबाट आदिवासी सेनाले कश्मीरमाथि आक्रमण ग¥यो । आक्रमण थेग्न नसकेपछि कश्मीरका राजा हरि सिंह दिल्ली भागे र भारतीय सहयोग प्राप्त गर्न भारतमा गाभिने सन्धिमा हस्ताक्षर गरे ।
यसले सन् १९४७ मा भारत र पाकिस्तानबीच युद्ध निम्त्यायो । युद्ध लम्बिएपछि भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा कश्मीर विवाद उठायो । सुरक्षा परिषद्ले कश्मिर सम्बन्धमा निर्णय लियो, जसलाई रिजोलुसन–४७ (संकल्प–४७) भन्ने गरिन्छ । उक्त निर्णयले कश्मिरमा शान्ति स्थापनार्थ तीन चरणको प्रक्रिया सिफारिस गरेको थियो।
पहिलो चरणः पाकिस्तानले कश्मिरबाट आफ्ना सेना हटाउने ।
दोस्रो चरणः भारतले त्यहाँबाट क्रमबद्ध तरिकाले सेनाको संख्या घटाउँदै लैजाने ।
तेस्रो चरणः भारतले जनमत संग्रहका लागि प्रशासक नियुक्त गर्ने र उसले कश्मिरको सम्बन्धमा जनमत संग्रह गराउने ।
उक्त रिजोलुसनपछि युद्धविराम भएपनि पाकिस्तानले सेना हटाएन र भारतले जनमतसङ्ग्रह गराएन । फलस्वरूप, कश्मीर व्यवहारिक रूपमा विभाजित भयो । सन् १९५१ मा भारत–शासित कश्मीरमा भएको निर्वाचनले भारतमा गाभिने प्रक्रियालाई बल पर्यायो ।
भारतले यो निर्वाचनले जनमतसङ्ग्रहको आवश्यकता पूरा गरेको दाबी ग¥यो । तर, संयुक्त राष्ट्रसंघ र पाकिस्तानले जनमतसङ्ग्रहको माग कायम राखे । त्यतिबेला जम्मु–कश्मीरका प्रधानमन्त्री शेख अब्दुल्लाह थिए, जो ‘शेर–ए–कश्मीर’ भनेर चिनिन्थे ।
सन् १९५३ मा भारत–पक्षधर अधिकारीहरूले उनलाई जनमतसङ्ग्रहको पक्ष लिएको र भारतमा गाभ्न ढिलाइ गरेको आरोपमा अपदस्थ गरेर पक्राउ गरे । सन् १९५७ मा भारतीय संविधानले जम्मु–कश्मीरलाई भारतको अभिन्न अंगको रूपमा स्थापित गर्यो ।
जम्मु–कश्मीरलाई भारतमा गाभ्ने निर्णयसँगै कश्मीरलाई स्वतन्त्र राज्य बनाउने प्रयास पनि सुरु भएको थियो । पूर्वी पाकिस्तानमा सुरु भएको ‘स्वतन्त्रता संग्राम’ले भारत र पाकिस्तानलाई १९७१ मा फेरि युद्ध मैदानमा ल्यायो । भारत र पाकिस्तान बीचको यो युद्धको समाप्तिपछि १९७२ मा भारत–पाकिस्तानबीच भएको ‘सिम्ला सम्झौता’ भयो ।
सिम्ला सम्झौताले एलओसीलाई दुई मुलुकको सीमा माने पनि यसले अहिलेसम्म अन्तर्राष्ट्रिय मान्यता भने पाएको छैन । सोही वर्ष जम्मु–कश्मीरमा भएको निर्वाचनसँगै ‘जम्मु–कश्मीर मुक्ति मोर्चा’ (जेकेएलएफ) स्थापना भयो, जसलाई स्वतन्त्रता पक्षधर विद्रोहको बीउ मानिन्छ ।
भारतले पाकिस्तानले सीमापारबाट लडाकुहरू पठाएर यो मोर्चा स्थापना गरेको आरोप लगायो । तर, पाकिस्तानले यो आरोप अस्वीकार ग¥यो । जेकेएलएफको स्थापनाले कश्मीरमा नयाँ खालको सङ्घर्षको सुरुवात गर्यो, जसले पहिलेको भारत वा पाकिस्तानबीचको विवादलाई स्वतन्त्र राज्यको मागतर्फ मोड्यो ।
सन् १९९० मा भारतीय सेनाले कश्मीरमा करिब सय प्रदर्शनकारीको हत्या गरेपछि विद्रोह झनै चर्कियो । हिंसा र धम्कीका कारण कश्मीरका हिन्दूहरूले क्षेत्र छोड्नुप¥यो । भारतले त्यहाँ ‘सशस्त्र बल विशेषाधिकार कानून’ लागू ग¥यो, जसले स्थिति थप जटिल बनायो । यो विद्रोहले कश्मीरलाई अहिलेको अशान्त अवस्थामा पु¥याएको छ । सन् १९९९ मा भारत र पाकिस्तानबीच फेरि युद्ध भयो । भारत–प्रशासित कार्गिल जिल्लामा भएको सशस्त्र आक्रमणमा पाकिस्तानको संलग्नता रहेको आरोप लगाउँदै भारतले प्रतिकार ग¥यो, जसले दुई देशबीचको सम्बन्ध पूर्ण रूपमा बिग्रियो ।
जम्मु–कश्मीरको विशेषाधिकार
जम्मु–कश्मीरका महाराजाले ‘इन्ट्रुमेन्ट अफ एक्सेसन’ हस्ताक्षर गर्दा विशेष परिस्थितिमा आफ्नो राज्यका लागि विशेषाधिकारको माग गरेका थिए । सोहीअनुसार, उक्त सम्झौताको सर्त नम्बर ७ मा जम्मु–कश्मीरलाई आफ्नै संविधान बनाउने अधिकार दिइयो ।
राज्यको आफ्नै राष्ट्रिय झण्डा, राष्ट्रिय गान र दुई सदनसहितको संसदको व्यवस्था पनि गरियो । भारतीय संविधानको धारा तीन सय ७० मा जम्मु–कश्मीरको विशेषाधिकार उल्लेख छ ।
यसअनुसार, भारतीय संविधान पूर्ण रूपमा जम्मु–कश्मीरमा लागू हुँदैन, त्यहाँको संविधानसभाले बनाएको संविधान मात्र पूर्ण रूपमा कार्यान्वयन हुन्छ । केन्द्र सरकारले सञ्चार, रक्षा र परराष्ट्र मामिलाबाहेक अन्य विषयमा हस्तक्षेप गर्न पाउँदैन ।
यी तीनबाहेकका क्षेत्रमा केन्द्रको कानुन लागू गर्न राज्य संसदको स्वीकृति अनिवार्य छ । धारा तीन सय ७० संशोधन गर्न पनि राज्य संसदको सहमति चाहिन्छ, र केन्द्र वा राज्य एक्लैले यो परिवर्तन गर्न सक्दैन । विशेषाधिकारअन्तर्गत जम्मु–कश्मीरमा अन्य राज्यका नागरिकले जग्गा–जमिन किन्न नपाउने प्रावधान पनि छ ।
भारत–पाकिस्तान सम्बन्ध सुधारका प्रयास
भारत र पाकिस्तानबीच शान्तिका प्रयास नभएका होइनन् । सन् २००१–२००४ को अवधि जम्मु–कश्मीरमा शान्ति स्थापनाका लागि महत्त्वपूर्ण मानिन्छ । सन् २००३ मा दुवै देशले युद्धविरामको सहमति गरेको थियो ।
पाकिस्तानले आफ्नो भूमिमा विद्रोही शक्तिलाई आश्रय नदिने घोषणा ग¥यो भने भारतले सैन्य गतिविधि त्याग्ने विद्रोहीलाई क्षमादानको प्रस्ताव राख्यो । भारतीय सेनाको गोली प्रहारबाट हताहत हुने र बेपत्ता हुने घटना बढेपछि सन् २०१० मा कश्मीरमा फेरि विरोध चर्कियो ।
सन् २०१४ मा नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि सम्बन्ध सुधारको नयाँ प्रयास सुरु भयो । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरिफ मोदीको शपथ समारोहमा दिल्ली पुगे । तर, सन् २०१६ मा पन्जाबको पठानकोट र कश्मीरको उरीमा भारतीय सेनामाथि भएको आक्रमणले सम्बन्धमा फेरि तनाव ल्यायो ।
भारतले यी आक्रमणमा पाकिस्तानस्थित ‘आतङ्ककारी’ को हात रहेको आरोप लगायो । मोदीले सन् २०१७ को सार्क सम्मेलन बहिष्कार गरे र उरीको जवाफमा पाकिस्तानमा ‘सर्जिकल स्ट्राइक’ गरेको दाबी गरे । पाकिस्तानले भने आफ्नो भूभागमा कुनै भारतीय आक्रमण नभएको जिकिर ग¥यो । सन् २०१६ पछि दुई देशबीच औपचारिक संवाद भएको छैन ।
कश्मीरमा प्रदर्शन, आक्रमण, दमन र आरोप–प्रत्यारोपको शृङ्खला जारी छ । यही शृङ्खला चर्किँदै जाँदा भारत र पाकिस्तानबीच फेरि एकपटक युद्ध सुरु भएको छ ।










