Logo
Logo

उपत्यका प्राधिकरणको चरम अन्याय, २५ वर्षसम्म हात्तीवनवासीको जग्गा रोक्का


7.5k
Shares

काठमाडौं । पाँच बर्षभित्र सम्पन्न गर्नेगरी स्थापना गरिएको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको काम २५ बर्ष बितिसक्दा पनि सकिएको छैन । ४ सय घरधुरी रहेको आयोजनाको जग्गा १२ बर्षदेखि रोक्का छ । किनबेच गर्न, बैंकमा राख्न पाएका छैनन् । तर आयोजनाका इन्जीनीयरदेखि प्रमुखसम्म जग्गा हस्तान्तरण गर्नभन्दा पनि झुलाउन मात्र ब्यस्त देखिएका छन् । घुस दिने जग्गाधनीको जग्गा हस्तान्तारण गर्ने तर घुस नदिनेको झुलाएर राखिएको गुनासो भेल्पा हात्तीवनबासीको छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरण ललितपुरअन्तर्गतको उक्त आयोजनाका जग्गाधनीहरु बर्षौसम्म पनि पूर्जा आफ्नो नाममा नआउँदा ठूलो मारमा परेका छन् । बीसौं करोड आयोजनाका कर्मचारीको तलवभत्तामै खर्च भइसकेको छ । जुन त्यही जग्गाधनीले बेहोर्नुपर्छ ।

आयोजनाले जगा हस्तान्तरण नगर्दा जग्गाधनीको जग्गा ४ आनाबाट घटेर साढे २ आनामात्र भागमा पर्ने भइसकेको छ । तर पनि जग्गा हस्तान्तरण सम्पन्न गर्न अनेक बाधा देखाउने र झुलाउने काम प्राधिकरणबाट खटिएकी इन्जीनीयर प्रकृति केसीले गरेको आरोप छ । केसीले जग्गाधनीलाई जग्गा प्लटिङ हुँदैन भनेर तर्साउने र सस्तोमा बिक्री गर्न बाध्य पार्ने गरेकी छन् । ढल बाटो कमिसन आउने भएकाले बनाउने तर जग्गा हस्तान्तरण गर्न अनेक समस्या देखाउने गरिएको छ ।

यसअघिका प्राधिकरण ललितपुरका प्रमुख गणेशमान महर्जनले जग्गा हस्तान्तरणमा चासो राख्न खोज्दा तिनै केसीले रोक्ने काम गरेकी थिइन् । महर्जन अवकाशपछि ललितपुर प्राधिकरणको केसी निमित्त भइन् । निमित्त भएपछि पनि उनले जग्गाधनीलाई तर्साउने र जग्गा प्लटिङ नहुने भन्दै बिक्री गर्न भन्ने क्रम जारी नै राख्दैआइन् ।

सहरी विकास मन्त्रालयका पूर्वसचिव तथा हाल योजना आयोगका सदस्य रमेशकुमार सिंहको संरक्षणप्राप्त केसीले आयोजनाका जग्गाधनीलाई उक्त जग्गा प्लानिङ कहिल्यै नहुने भएकाले बिक्री गर्न दबाब दिने र ग्राहक आफैं ल्याउने र दुबैतिरबाट लाभ लिने क्रम जारी नै राखेकी थिइन् । बिक्री गर्दा पनि कमिसन र किन्ने ग्राहकसँग पनि उनले लाभ लिएर भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाको जग्गा हस्तान्तरण हुनबाट रोक्दैआएको आरोप जग्गाधनीको छ ।

जग्गा हस्तान्तरण गर्न ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनदेखि सरोकारवालामार्फत जग्गाधनीहरुले दबाब बढाएपछि उनले गएको चैत १५ गते झुलाउनका लागि किशोर हुमागार्इँको संयोजकत्वमा समस्याको पहिचान गरी समाधान पेश गर्न समिति बनाएकी छन् ।

२५ बर्षअघि सुरु भएको भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना जग्गा हस्तान्तरण नगरी अझै समस्या समाधानका नाममा अर्को समिति गठन गरी पीडामाथि पीडा दिने काम इन्जीनीयर केसीले गरेको आरोप छ ।

मेयर महर्जनको समेत बदनाम गर्दै केसीले जग्गा हस्तान्तरणमा बाधा खडा गरेपछि २ महिनाअघि आयोजनाका जग्गाधनीहरुको प्रतिनिधिमण्डलले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भेटेर आफूलाई बर्षौदेखि आयोजनाले जग्गा हस्तान्तरण नगरेको दुखेसो पोखेका थिए । भेल्पा हात्तीवन जग्गा आयोजनाबाट पीडितहरुको गुनासो सुनेपछि इन्जीनीयर केसीलाई सचिव सिग्देलले सरुवा गरेका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुर कार्यालयको प्रमुखमा तुल्सी खर्बुजालाई सरुवा गरेको छ । तर निमित्त प्रमुख रहेकी केसीले खर्बुजालाई आयोजनाका करारका कर्मचारी उचालेर हाजिर हुनबाट रोकिन् । सरुवा गरे पनि केसीले गाडी समेत फिर्ता नगरी दुरुपयोग गर्दैआएकी छन् ।

आयोजनाले जग्गा प्लानिङ गरी हस्तान्तरण गर्नेभन्दा पनि बर्षौदेखि समस्या देखाउँदै अलमल्याउने गर्दैआएको छ । जग्गाधनीलाई यो जग्गाको प्लानिङ हुँदैन, बिक्री गर्नुस् भन्दै वाक्कदिक्क पार्ने काम गरेका छन् । केसीले मागेजति घुस दिनेहरुलाई भने जग्गा हस्तान्तरण गर्नेगरेको आरोप छ ।

२५ बर्षे करारका कर्मचारीको जगजगी

भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजना ५ बर्षमा जग्गा बितरण सम्पन्न गर्नेगरी स्थापना भएको थियो । ५ बर्र्षमा सकिनुपर्ने आयोजनामा करारमा नियुक्त भएका कर्मचारी २५ बर्षदेखि कार्यरत छन् । उनीहरु जग्गा प्लानिङ सकेर हस्तान्तरण गरेपछि जागिर जाने भएकाले जग्गा एकीकरण सम्पन्न हुन रोक्दै झुलाउँदै आएका छन् ।

हरेक कार्यालयमा करारका कर्मचारीको प्रत्येक आर्थिक बर्षमा करार नवीकरण गर्नुपर्छ, तर भेल्पा हात्तीवन जग्गा एकीकरण आयोजनाका कर्मचारीको भने आयोजना अवधिभरका लागि भनेर नियुक्तिपत्र दिइएको छ । जुन नियुक्ति नै कानुन बिपरीत भएको आयोजनाका कानुन अधिकृत घनश्याम पौडेलले भन्दैआएका छन् ।

नियुक्तिमै कानुनी प्रश्न उठाएका पौडेलले यसरी २५ बर्षसम्म करार नवीकरण नगरी कर्मचारी राखिरहन नमिल्ने राय दिएका छन् । तर उनको सल्लाह प्राधिकरणमा लागू हुन सकेको छैन । जग्गा हस्तान्तरण सकिए जागिरबाट बिदा हुनुपर्र्ने भएकाले करारका अधिकृत पित्तराज कोइरालाहरु कुनै पनि हालतमा सम्पन्न हुन नदिने चलखेलमा सक्रिय रहँदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्