काठमाडौं । गृह मन्त्रालयको प्रशासनिक नेतृत्व गर्ने सचिवजस्तो व्यक्ति ठिक समयमा ठिक निर्णय क्षमता भएको हुनुपर्छ । तर पछिल्ला दिनमा प्रधानमन्त्री, गृहमन्त्रीले गृहसचिवमा बुद्धि, विवेकले काम गर्ने सक्षम व्यक्तिलाई रोज्नेभन्दा आफूनिकट, आफूले जे भने पनि मुन्टो हल्लाउने एसम्यान राख्ने प्रवृत्ति बढ्दै गएको छ ।

बालकृष्ण खाण गृृहमन्त्री भएपछि नेपाली कांग्रेसनिकट थुप्रै सचिवहरू हुँदाहुँदै कहिल्यै पनि गृह मातहत काम नगरेका शिक्षा समूहका टेकनारायण पाण्डेलाई ल्याइएको थियो । गृह प्रशासन नबुझेका पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दा चलाउदा खाणमात्र होइन, उनी स्वयंसमेत जेल जानुप¥यो । गृह प्रशासन मातहत सिन्धुपाल्चोकतिर एकाध वर्ष प्रमुख जिल्ला अधिकारी भएबाहेक खासै अनुभव नभएका गोकर्णमणि दुवाडीलाई गृहमन्त्री रमेश लेखकले आफैले रोजेरै सचिवमा ल्याएका थिए ।
गृह प्रशासन नबुझेकालाई गृहसचिव बनाएर प्रहरीका सरुवा बढुवामा एक्लौटी गर्नका लागि खाणले पाण्डेलाई ल्याएजस्तै लेखकले पनि दुवाडीलाई रोजेका थिए । दुवाडीले पनि प्रहरी र सशस्त्रमा गृहमन्त्रीले जे जे भन्छन्, त्यही सदर गर्दै आएका छन् ।
गृह मन्त्रालयको सचिव प्रहरी र सशस्त्रको बढुवा समितिको अध्यक्ष हुने भएकाले उनलाई प्रहरी र सशस्त्रका तल्लो दर्जादेखि महानिरीक्षकसम्मले सलाम गर्ने नै भए । गृहसचिवलाई मात्र होइन, उनको सचिवालयका निजी सचिवसम्मलाई प्रहरीका उच्च अधिकृतले सलुट गर्ने गर्छन् ।
सरुवामा राम्रो ठाउँ पाउन र बढुवामा अवसर पाउन गृहसचिवका निजी सचिवलाई समेत प्रहरी अधिकृतहरूले सलाम गर्ने गर्दछन् । तर गृह मन्त्रालयका सचिव दुवाडीले निजी सचिवमा भने राजपत्र अनंकित नायबसुब्बा सरहका नापी विभागका सर्भेक्षक आनन्द बुर्लाकोटीलाई राखेका छन् । यसबाटै गृहसचिव दुवाडी कति नालायक छन् भन्ने बुझिन्छ । नायब सुब्बालाई प्रहरीका डिआइजीसम्मले सलाम गर्न बाध्य छन् । योभन्दा लज्जाजनक कुरा अरु के हुन सक्छ ?
गृह मन्त्रालय वा निजामती सेवा अन्तर्गत प्रशासन समूहका हजारौं कर्मचारी छन् । तर जग्गा नापजाँच गर्ने नासु(सर्भेक्षक)लाई ल्याएर गृहसचिव दुवाडीले पीए राख्नुपर्ने बाध्यता किन परेको होला भन्ने प्रश्न उठेको छ । बुर्लाकोटी गृहसचिव दुवाडीका भान्जा भएकाले उनलाई निजी सचिवालयमा लगिएको स्रोत बताउँछ ।
दुवाडीले गृह मन्त्रालयमा सरुवा हुनासाथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै पत्र लेखेर काजसरुवा गराइ भान्जा बुर्लाकोटीलाई निजीसचिव बनाएका छन् । प्रहरी र सशस्त्रदेखि अध्यागमन र जिल्ला प्रशासन कार्यालयका जुनियर अधिकृतदेखि अधिकृतसम्मको सरुवादेखि बढुवामा दाम उठाउनकै लागि भान्जालाई गृह मन्त्रालयमा लगेको आरोप दुवाडीमाथि लागेको छ । यसअघि भूमि व्यवस्था मन्त्रालयको सचिव हुँदा पनि दुवाडीले भान्जा बुर्लाकोटीलाई निजी सचिवालयमा राखी मालपोत र नापीका कर्मचारी सरुवामा चलखेल गरेको आरोप लागेको थियो ।
भूमि व्यवस्था मन्त्रालयमा हुँदा त मातहतकै नापी विभागअन्तर्गत कार्यरत भएकाले अस्वभाविक नभए पनि गृहमा गएपछि पनि जग्गाको नापनक्सा गर्नुपर्ने सर्भेक्षकलाई लग्नुको उद्देश्य सरुवामा असुली गर्न नै हो भन्ने पुष्टि गरेको छ ।