Logo
Logo

विमानभित्रै कालाखेतीको चर्तिकला


1.2k
Shares

काठमाडौं । पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले विमानस्थल सुधार गर्छु भने पनि सबैभन्दा पहिला त्यहाँका कर्मचारीको आचरण सुधार गर्नुपर्ने देखिएको छ । नेवानिको एक कर्मचारीको हर्कतले विमानभित्र बसेका यात्रुहरू समेत हैरान भए ।

सामान्यतया अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्था कायम गर्ने कुरा संवेदनशील मानिन्छ । तर निगमका डेपुटी म्यानेजिङ डाइरेक्टर(डिएमडी) जनकराज कालाखेतीले सुरक्षा व्यवस्थालाई चुनौती दिएका छन् । उनले अन्र्तराष्ट्रिय विमानस्थलमा उडान तयारीमा रहेको विमानभित्रै मारवाडी व्यापारीहरूको हुल लिएर एकजना स्वामीको दर्शन गराएका थिए ।

काठमाडौंमा आएका महामण्डलेश्वर आत्मानन्दी गिरी बैशाख २६ गते आरए–२१७ विमानबाट नयाँदिल्लीतर्फ जान जहाजभित्र बसिसकेको अवस्थामा कालाखेतीले करिब एक दर्जन मारवाडी व्यापारीलाई भेटाएका थिए । जबकि बोर्डिङ पास लिइसकेको अवस्थामा यस्तो कसरी संभव भयो भन्नेमा विमानस्थलका कर्मचारीहरू नै अलमलमा परेका थिए ।

विमानस्थलमा बोर्डिङ पास भइसकेपछि वायुसेवा निगमको अध्यक्ष वा मन्त्री नै भए पनि विमानभित्र जान पाईँदैन । यात्रु र विमानका चालक, सहचालक र विमान परिचारक÷परिचारिका (क्याबिन क्रु) मात्र जान पाइन्छ । तर निगमका डिएमडी कालाखेतीले मारवाडी लगेर विमानभित्रै महामण्डलेश्वर गिरीसँग भेट गराएका थिए । निगमका उच्च तहको कर्मचारीले दबाब दिएकाले उक्त विमानका वरिष्ठ कप्तान पीपी सिंह र सहायक पाइलट प्रसन्नसमशेर जबरासमेत मुकदर्शक बन्नु परेको विमानस्थल स्रोतको दाबी छ ।

त्यसरी विमानभित्र अनधिकृत रुपमा हुलै लिएर गएको बिषयमा नागरिक उड्डयन प्राधिकरण पनि मौन रहेको छ । प्राधिकरणले यो विषयलाई छानबिन गरी कारवाही गर्नसक्ने अवस्था भएपनि प्राधिकरणमा महानिर्देशक आफै भ्रष्टाचारको आरोपमा छानबिनमा रहेकाले मौन भएको स्रोतको दाबी छ । निगमका नायब महाप्रबन्धक कालाखेतीमाथि भने अहिलेसम्म कुनै पनि तह र निकायले एक्सन लिएको छैन ।

डिएमडी कालाखेती निगमको भन्दा पनि व्यापारीको हितमा बढी लाग्ने गरेका छन् । उड्न लागेको विमानमा व्यापारीको हुल लिएर महामण्डलेश्वर भेटाएका कालाखेतीले निगमका गन्तब्यस्थल नयाँदिल्ली, मुम्बई, जापान, हङकङ लगायतका स्थानका स्टेसन म्यानेजरहरूलाई समेत फोन गर्दै मारवाडी व्यापारीहरूको २५–३० किलो सामान पनि विनाशुल्क राख्न दबाब दिएको आरोप छ । हप्कीदप्की गरेरै उनले व्यापारीको सामान राख्न लगाउने गरेको गुनासो स्टेसन म्यानेजरहरूले पटकपटक गरिसकेका छन् ।

एक यात्रुले निश्चित तौलको सामान मात्र ल्याउन पाउँछ । बढी सामानको शुल्क तिर्नुपर्छ । सित्तैमा बढी सामान बोक्न दबाब दिँदा निगमको आम्दानीमा असर परेको छ ।

कालाखेतीले इकोनोमिक क्लासका टिकट लिएका यात्रुहरूलाई बिजनेश क्लासमा राख्न क्याविन क्रुहरूलाई दबाब दिने गरेको आरोप पनि छ । कालाखेती विभिन्न मुलुकमा जिएसए छनोटदेखि टिकट बिक्री एजेन्टसम्ममा जताततै लेनदेन र सेटिङमा समेत मुछिएका थिए ।

कार्यालय समयमै प्रायः खानपिनमा बाहिर निस्कने गरेका कालाखेतीविरुद्ध वाइडबडी जहाज खरिद घोटालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर उनलाई पछि विशेष अदालतले सफाइ दिएको थियो । अदालतले सफाइ दिएपछि उनी फुक्काफाल भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्