काठमाडौं । नेपाल बीमा प्राधिकरणले कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सहभागिता रहेको थियो ।

कार्यक्रममा कोशी प्रदेश सरकारले बीमाको पहुँच विस्तारका लागि अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने र प्रदेश बीमा नीति तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा राहत वितरणभन्दा नागरिकलाई बीमाको दायरामा समेट्ने, न्यून आय भएकाहरूको बीमा गर्ने र घर बीमालाई प्राथमिकता दिने योजना रहेको बताए ।
उनले बीमा कम्पनीहरूले समयमै दाबी भुक्तानी नगरेसम्म बीमाप्रतिको विश्वास नबढ्ने उल्लेख गर्दै समयमै भुक्तानी नगर्ने कम्पनीहरूलाई प्राधिकरणले कारबाही गर्नुपर्नेमा जोड दिए । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र नियमावलीअनुसार बीमालाई अगाडि बढाउन कोशी प्रदेश सरकारले देखाएको सक्रियताप्रति आभार व्यक्त गरे ।
उनले बीमा दाबी भुक्तानी समयमै सुनिश्चित गर्न कम्पनीहरूलाई निर्देशन दिइसकेको र जङ्गली हात्तीबाट हुने जोखिमलाई सम्बोधन गर्न हात्ती बीमालेख ल्याउने तयारी भइरहेको जानकारी दिए । अध्यक्ष ओझाले ‘बण्डल प्रोडक्ट’ विकास गरी सबै प्रदेशमा बीमा अभियान सञ्चालन गर्ने योजना रहेको बताउँदै अनौपचारिक क्षेत्रका कामदार र विपन्न वर्गलाई बीमाको दायरामा समेट्न प्रदेश सरकारसँग सहकार्यको आग्रह गरे।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले बीमाको महत्त्व, बजारको वर्तमान अवस्था र बीमा क्षेत्रको विकासमा प्रदेश सरकारको भूमिकाबारे प्रस्तुति दिए । सहभागीहरूले सबै प्रदेशका लागि साझा बीमा नीतिको मस्यौदा तयार गर्न, सङ्घ र प्रदेशबीच सहकार्य गर्न, हात्ती प्रभावित क्षेत्रका लागि हात्ती बीमालेख ल्याउन र दाबी भुक्तानीमा ढिलाइ रोक्नुपर्ने सुझाव राखे ।
कार्यक्रममा कोशी प्रदेशका मन्त्री, प्रदेश योजना आयोगका उपाध्यक्ष, मन्त्रालयका सचिव, पदाधिकारी, नेपाल बीमा प्राधिकरणका केन्द्रीय र प्रदेश कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राधिकरणको कोशी प्रदेश कार्यालयका प्रमुख विनोद पोखरेलले गरेका थिए ।