काठमाडौं । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई सम्मानजनक अन्तर्राष्ट्रिय अवार्ड जीतेको छ । सिंगापुरमा २०२५, जुलाई ९ मा आयोजित विशेष समारोहमा कम्पनीले ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि इयर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि इयर’ २०२५ अवार्ड प्राप्त गरेको हो ।

उक्त समारोहमा कम्पनीका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठ र निर्देशक विजय कुमार पन्तले अवार्ड ग्रहण गरे । एसिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित मानिने यी अवार्डले नेपाली बीमा उद्योगको अन्तर्राष्ट्रिय छविलाई थप उजागर गरेको छ । एचइआईले यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जित्दै आएको छ ।
सन् २०२३ मा ‘इन्स्योरेन्स एशिया अवार्ड’ र सन् २०२४ मा ‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि इयर’ तथा ‘स्ट्राटेजिक पार्टनरसिप अफ दि इयर’ अवार्ड प्राप्त गरेको इतिहास छ । कम्पनीको उत्कृष्ट सेवा, नवीन रणनीति र ग्राहकमुखी दृष्टिकोणका कारण एचइआईले निरन्तर अन्तर्राष्ट्रिय प्रशंसा कमाउँदै आएको छ ।
यस वर्ष प्राप्त दुई अवार्डले कम्पनीको नेतृत्व र नवप्रवर्तन क्षमतालाई थप पुष्टि गरेको छ । अवार्ड ग्रहण गर्दै अध्यक्ष श्रेष्ठले भने, “यो उपलब्धि हाम्रो टिमको कडा मेहनत र समर्पणको फल हो। ग्राहकप्रतिको हाम्रो प्रतिबद्धताले अन्तर्राष्ट्रिय मान्यता पाउँदा हामी गौरवान्वित छौँ ।”
निर्देशक पन्तले पनि नेपाली बीमा कम्पनीले अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त गरेको सम्मानले आगामी दिनमा थप जिम्मेवार र सशक्त ढङ्गले अघि बढ्ने प्रेरणा मिलेको बताए ।











