काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षका लागि जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आफ्ना कर्मचारी, विभाग, प्रादेशिक कार्यालय, शाखा तथा उपशाखाहरूका लागि व्यावसायिक लक्ष्य (मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक) निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क र म्यादी जीवन बीमाशुल्कलाई अनिवार्य समावेश गर्न निर्देशन दिएको छ ।

प्राधिकरणले सबै जीवन बीमा र लघुजीवन बीमा कम्पनीहरूलाई जारी गरेको पत्रमा भनिएको छ, ‘आगामी आर्थिक वर्षका लागि मातहतका कर्मचारी, उपशाखा, शाखा, प्रादेशिक कार्यालय र विभागहरूलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा प्रथम बीमाशुल्कका अतिरिक्त नवीकरण बीमाशुल्क र म्यादी जीवन बीमाशुल्कलाई अनिवार्य समावेश गर्ने गरी व्यवस्था गर्नू ।’
बीमकहरूले व्यावसायिक लक्ष्य निर्धारण गर्दा सावधिक र एकल बीमाशुल्क भुक्तानी हुने बीमालेखहरूलाई मात्र प्राथमिकता दिँदा न्यून आय भएका वर्गसम्म बीमाको पहुँच पुग्न नसकेको, ठुलो रकमको बीमाशुल्क सङ्कलनमा केन्द्रित हुँदा बीमालेखहरू अवधि नपुग्दै व्यतित वा समर्पण हुने समस्या देखिएको र यसले गुणस्तरीय तथा भरपर्दो बीमा सेवा प्रवाहमा चुनौती थपिएको गुनासो आएको सन्दर्भमा प्राधिकरणले यस्तो निर्देशन जारी गरेको हो । यो कदमले बीमा कम्पनीहरूलाई समावेशी रणनीति अपनाउन, नयाँ व्यवसाय विस्तारसँगै बीमालेखको निरन्तरता र न्यून आय भएका समुदायमा बीमाको पहुँच अभिवृद्धि गर्न प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।











