
एक दशकअघि ‘नेपालमा भविष्य नै छैन, किन बस्ने ?’ भन्ने भाष्य बन्दै थियो, अहिले त्यो भाष्य यथार्थमा बदलिएको छ । र, जो जहाँ जान सक्छ, त्यतैतिर पाइला बढाएको छ । अरबदेखि अमेरिकासम्म नेपाली पाइलाहरू निरन्तर बढिरहेकै छन् ।
जहाँ स्थायी रूपमा बस्ने । कानुनी प्रपञ्च मिल्छ, धेरैजसो उतै बसेका छन् । थोरै त्यस्तो तारतम्य नमिलेर फर्केका छन्, त्योभन्दा पनि अझ थोरै लगभग अपवाद नै भन्दा पनि हुन्छ, तारतम्य मिलेरै पनि फर्केका छन् । जहाँ बस्ने कानुनी प्रपञ्च नै मिल्दैन वा आवधिक श्रम भिसामा मात्र जानुपर्दा फर्कनु बाध्यता नै हुन्छ, उनीहरू भने फर्केका छन् ।
जो जसरी जहाँ पुगे पनि सबैलाई चित्त बुझाउने मेलोचाहिँ एउटै छ, यो सबै भाग्यको खेलो हो । छैठीमा भावीले निधारमा जे लेखिदिया छ, त्यही हुने हो । फर्कने हुन् वा नफर्कने, उनीहरूका पनि यही ‘भावीको खेलो’लाई नै कारक ठान्छन् ।
तर, आजसम्म न कसैले भाग्य लेख्ने त्यो भावी देखेको छ, न त्यो लेखनदासले निधारमा लेखेको भाग्य नै देखेको छ । एकजना अमेरिकी कविले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘भावीले लेख्ने लिपिको स्थूल स्वरूप नभएर हो, भावीको लेखान्त कसैले देख्नै सक्दैन ।’ यही हो वा अरू पनि केही कारण छ, त्यो उही भाग्य लेख्नै लेखान्त नै जानोस् ।
यद्यपि, भाग्यको खेलोमा विश्वास गरेर भाग्यवादीहरू त्यही भनेर आफूलाई सान्त्वना दिइरहेका हुन्छन् । जो उमेरमा कर्मवादी भए पनि शरीरमा पाइन सकिँदै गएपछि भाग्यवादी हुन्छन्, उनीहरू पनि अन्ततः त्यही दोबाटोमा भेटिन्छन् । केही कर्मवादीहरू भने जब्बर हुन्छन्, उनीहरूचाहिँ भाग्य पनि कर्मले नै लेख्ने ठोकुवा गर्छन् ।
भाग्यवादी हुन् वा कर्मवादी, जो जे भए पनि नेपालीहरूले नेपाल छोडिरहेका छन्, यो भने सत्य हो । बेकामेले त छोड्ने भइहाले, काम भएकैले पनि छोडिरहेका छन् । अवसरको गुद्री नपाउनेले त छोड्ने भइहाले, अवसरकै डसनामा ढलीमली गरिरहेकाहरूले पनि छोडिरहेका छन् । नवजवाहरूले छोडे त के अचम्म भयो र उमेर पुगेकाहरूले पनि छोडिरहेका छन् । ग्लोबल भिलेजको सोच राख्ने अन्तर्राष्ट्रवादीहरूका लागि देश छोड्नु र नछोड्नुको कुनै अर्थ छैन, भूगोलको सिमानामा टाक्सिएको देश र त्यसको चौघेराको राष्ट्रवादलाई नै रामनामी ठान्नेहरूले पनि देश छोडिरहेका छन् ।
देश छोड्नुका एक हैन, अनेक कारण छन् । जसरी हरेक मान्छेका आफ्नै कथा–व्यथा हुन्छन्, लगभग त्यति नै कारण छन् देश छोड्नुका पनि । कसैले रहर भनेका छन्, कसैले कहर । कसैले भाग्यलाई कारण बताएका छन् कसैले नियतिलाई । कसैले अवसरको खोजी भनेका छन्, कसैले सन्तानको भविष्य । कसैले बसुधैव कुटूम्बकम् भनेका छन् त कसैले सन्तानले डाँडाकाँडा ढाकुन् भन्ने आशीर्वाद । कसैले कसैले त जन्मेको देशमा दोस्रो दर्जाको नागरिक हुनुभन्दा देश छोड्नु बेस ठानेको भावनात्मक कारण पनि बताएका छन् ।
कारण जे जति हुन्, सबैलाई दुई खण्डमा राख्नुपर्ने हुन्छ । एक खण्डमा, नेपालबाट ठेल्ने कारक (पुसिङ फ्याक्टर), अर्को खण्डमा अरू देशले तान्ने कारक( पुलिङ फ्याक्टर) । ठेल्ने कारकको कुरा गर्दा, पछिल्लो समय नेपालमा भइरहेको अति राजनीतिकरण नै मूल कारण हो ।
सत्तारूढ दल अझ त्यसमा पनि संस्थापन गुटको मान्छे नहुने हो भने जति नै योग्य भए पनि उसको योग्यताको मानमनितो छैन । कुनै दलको चौवन्नी सदस्य नभएसम्म अवसरको भोटेताल्चा नै खुल्दैन । नातावाद, कृपावाद, क्षेत्रीयतावाद, अरू पनि थुप्रै वादहरूको बोलवाला छ । अझ पछिल्लो समय त बिचौलियाकै बिगबिगी छ । उसको पैसाको सामुन्ने बाँकी सबै गौण छन् ।
यो उपल्लो कोटिका नेपाली जो बसाइ सराइकै लागि देश छोड्छन्, उनीहरू बिदेसिनु पर्नाको पुसिङ फ्याक्टर हो । श्रमका लागि फर्कने गरी देश छोड्नुको कारण चाँहि देशमा रोजगारीको अभाव नै हो । कृषिप्रधान देशमा गरिखाने वातावरण नै छैन ।
मल कारखाना छैन, खेती लगाउने बेलामा मलको हाहाकार छ । सिंचाइको व्यवस्था छैन, आकाशेपानीको भरमा हुने खेतीले दिने प्रतिफलको कुनै निश्चितता छैन । उत्पादित बस्तुको सहज बजार छैन । अर्थात्, घाटाको कृषक हुनुपर्ने स्थिति छ । पशुपालनले पनि बजारको अभावमा प्रतिफल दिइरहेको छैन । यस्तो प्रतिकुलताका कसले गर्छ कृषि ? कसले गर्छ पशुपालन ?
देशमा औद्धोगिकीकरण हुन सकेको छैन । सानो आकारको विकास खर्च छ, त्यो पनि २० प्रतिशत खर्च हुदैन । यस्तो अवस्थामा कुनै रोजगारीको अवसर हुने कुरै भएन । अर्कोतिर सरकारको नीति नै देशका युवाहरू विदेश पठाउने छ । त्यसका लागि अरू देशसँग श्रम सम्झौता गर्ने, निःशुल्क भिसा र हवाई टिकट उपलब्ध गराउने, विप्रेषणको बिमा गरिदिनेलगायतका सुविधाहरू सरकारले दिँदै आएको छ । यसो गर्दा एकातिर उनीहरूले पठाएको विप्रेषणले देश चलाउन पाइन्छ भने अर्कोतिर युवाहरू विदेशिदा सत्तासीनहरूको ढलिमलिविरूद्ध उठ्ने आवाजहरू पनि बाँकी हुँदैनन् ।
अर्कोतिर, नेपाली राजनीतिमा गणतन्त्र आएयता तीन दल नेपाली, कांग्रेस, एमाले र माओवादीको ढलिमली छ । त्यसमा पनि ती दलका तीन सुप्रिओ क्रमशः शेरबहादुर देउबा, खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालीमुहाली छ । लाग्छ, उनीहरू नयाँ राजा हुन् र यो गणतन्त्र उनीहरू र उनीहरूका आसेपासेको देश लुट्ने लाइसेन्स मात्र हो । उनीहरूका दल भनेका सत्ताको बाँडिचुडी गर्ने फगत प्राइभेट कम्पनी हुन् ।
गणतन्त्रका नाममा यो दिक्कलाग्दो दृश्य मात्रै देख्दै आएको नयाँ पुस्ता नेपालको पछिल्लो अवस्था देखेर वाक्कदिक्क छ र ऊ उच्च शिक्षा लिने वहानामा देश छोड्ने फालिममा छ । सरकारसँग यो फालिम रोक्ने न कुनै योजना छ, न कुनै कार्यक्रम । अभिभावक निरीह रमितेको भूमिकामा छन् । उनीहरूको जिम्मेवारी अभिभावकभन्दा पनि स्पोन्सरको जस्तो छ ।
यसैबिच, नेपालको लिगेसी मिडियादेखि वैकल्पिक सामाजिक सञ्जालहरू पनि नेपालमा भविष्य नभएको भविष्यवाणी गर्ने फलित ज्योतिषी भएका छन् । नेपालमा केही नै नभएको भाष्य बनाउने यिनीहरू मात्रै छैन, राजा भएको बेला तथाकथित रामराज्य भएको र अब फेरि राजा आएपछि सबै ठीक हुने काउन्टर दिइरहेका छन् । यो ‘टाउको दुखेको दबाइ नाइटामुनी लाई’ को असर पनि नेपाली सामाजमा केही मात्रामा देखिएकै छ ।
नेपालबाट यी ठेल्ने कारकले त गजबले काम गरिरहेकै छन्, बाँकी विश्वका देशहरूको तान्ने कारकहरूले उतिकै काम गरिरहेका छन् । आजको वैश्विक युगको मूल विकास भनेकै मौद्रिक हो । विकसित देशमा जानेहरूको यस्तो विकास भएकै छ । त्यसले दिने सुकिलो मुकिलो जीवनको चुम्बकी प्रभावमा जो कोही नेपालीमा पनि नपर्ने कुरै छैन । यस क्रममा भइरहेको मिडिया फ्लोको सामु काउन्टर फ्लो निरीह छ ।
यति मात्रै हैन, बसाइ सराइ मानव सभ्यताकै एक अभिन्न पक्ष हो । अहिले नेपालीले देश छोड्नु पछाडिको एउटा महत्त्वपूर्ण कारण यो पनि हो । नेपाली आफैँमा एक घुमन्ते–फिरन्ते जाति हो । बसाइ सराई उसको डीएनएमै छ । नयाँका बारेमा हुने मावनीय जिज्ञासाको कोणबाट हेर्दा नेपाली जाति धेरै अगाडि देखिन्छ । नेपाली जातिमाथि मानवशास्त्रीय तथा समाजशास्त्रीय दृष्टिकोणबाट गरिएका पछिल्ला अध्ययनहरूले यही देखाएका छन् ।
यी तमाम तान्ने–घचेट्ने जस्ता भौतिक कारक र जिज्ञासा पछ्याउने मानवीय कारकका कारण नेपालीले देश छोडिरहेको छ । तर, नेपालमा भने यो चुरो कुरोको पछाडि लाग्ने भन्दा पनि देशमा केही नै नभएकाले मात्र नेपालीले देश छोडेको जस्ता तर्कको खेती जारी छ । यो नितान्त एकपाखे तर्क हो । समग्रतामा हेर्दा नेपालमा धेरै भएको छ तर जति हुनुपर्ने हो, त्यति नभएको सत्य हो । यति भन्दाभन्दै पनि कति चाँहि हुनुपर्ने जति हो, त्यो पनि विषयगत कुरो हो । यसलाई पनि सापेक्षतामा हेर्नुपर्ने हुन्छ ।
डा. रामेश कोइरालाको कुरा,
यतिबेला मुटु शल्यचिकिचत्सक डा. रामेश कोइरालाले नेपाल छोडेको कुराले नेपाली मिडियाको बजार तातेको छ । डा. रामेशको पक्षमा मेनिया पनि छ, विपक्षमा फोबिया पनि छ । यी दुवै छेउका कुरा हुन् , सत्य छेउमा हुँदैन । दार्शनिक आरिस्टोटलले भनेकै छन्, ‘सत्य बीचमा हुन्छ’ ।
डा. रामेश नेपालका लागि आवश्यक हुन्, अपरिहार्य हैनन् । यो धर्तीमा जन्मदिने आमा–बाबु बाहेक सबैको विकल्प छ । यस मानेमा डा. रामेश अपवाद हुन सक्दैनन् । यो सत्यका बारेमा उनी स्वयं जानकार छन् ।
रामेश मेरा आइएस्सीका सहपाठी मात्रै हैनन्, एक नजिकका ‘तिमी साथी’ पनि हुन् । उनी एक कुशल शल्य चिकित्सक त हुन् नै, धेरै विषयमा गहिरो ज्ञान भएका एक अध्ययनशील विचार सम्प्रेषण पनि हुन् । हामीबीच राजनीतिक दर्शनबाहेक धेरै कुरामा मोटो प्रोक्सिमिटी थियो र छ ।
२०४२ सालपछि उनी र मेरो भौतिक भेटघाट भएको छैन । गत वर्ष मेरो संघीय जिम्मेवारीले छुट दिएको बेला उनीसँग वर्षौपछि छिटपुट ट्विटरमा क्रिया–प्रतिक्रिया भएको हो । त्यो पनि व्यक्तिगत विषयमा नभएर सार्वजनिक चासो र चिन्ताको विषयमा ।
मैले बुझेसम्म डा. रामेश मन, वचन र कर्मले एक कांग्रेसी थिए । उनी कांग्रेस हुनु भनेको प्रजातन्त्रवादीको पर्याय ठान्थे । कांग्रेसमा मात्र मेरिटोक्रेसी हुन्छ भन्ने उनको अटुट विश्वास थियो । त्यही विश्वासको आधारमा उनी सामाजिक सञ्जालमा कांग्रेसको पक्षमा पैरवी गरिरहेका हुन्थे । कांग्रेस गुटहरूको गठजोड हो । स्वभावतः उनी पनि एउटा गुटको नजिक थिए ।
एक सफल शल्य चिकित्सकका रूपमा २५ वर्ष सेवा गरेपछि वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा निवेदन दिएका रहेछन् । तीनजनामा उनको नाम पनि चढेछ । तर, अन्तमा उनी कांग्रेसी गुट राजनीतिको सिकार भएर नियुक्त हुन सकेनछन् ।
मेरो विचारमा यो उनको नाजायज चाहना पनि थिएन र उनी यसका लागि अयोग्य पनि हैनन् । तर, उनलाई किनारा लगाउँदै अर्का एक कांग्रसी नियुक्त भए, उनी कति योग्य हुन त्यो मलाई थाहा भएन ।
मेरो प्रिय साथीले त्यही रनाहाले आफ्नो जिम्मेवारीबाट राजिनामा दिदै देश छोडेछन् । हरेक पदहरूको अति दलीयकरण भएको नेपालमा आफ्नै गुटको कांग्रेसी स्वास्थ्यमन्त्री हुँदा पनि उपकुलपति हुन नपाउनु उनको भन्दा पनि उनको योग्यता र निष्ठाको अपहेलना हो । शायद त्यही तिरस्कार नसकेर उनले देश छोडे ।
उनी देश छोडेर म बसेकै देश आएछन् । यतिबेला म उनका लागि यति लेख्न सक्छु,
प्रिय रामेश,
तिमीलाई अमेरिकामा स्वागत छ । तिमी अहिले आउँदै गरेको देश मैले त ८ वर्ष अघि नै आएर आफ्नो देश बनाइसके । अमेरिकामा कोही कहिल्यै ढिलो हुँदैन । तिमी पनि ढिलो छैनौ । मलाई विश्वास छ, तिमी जतिको विशेषज्ञलाई अमेरिकाले अवसरको रातो कार्पेट ओछ्याउँछ । तिमी, त्यो रातो कार्पेटमा हिँडिरहेको देख्न चाहन्छु, कहीँ कतै यो तिम्रो पुरानो साथी काम लाग्छ भने सम्झे हुन्छ । कुनै दिन भेटेर कफी गफ गरौला ।
म यतिबेला ८ वर्ष अघि लगभग उस्तै प्रकृतिको घटनाबाट आहत भएर देश छोडेको सम्झिरहेको छु । त्यतिबेला देश छोडेर कतै बेठीक त गरिन भन्ने लागेको थियो तर अहिले बेठीक हैन ठीक गरेछु भन्ने लागेको छ । मेरिटोक्रेसीको चिहानमाथि अट्टाहास गरिरहेका जल्लादहरूले राज गरेको देशमा बसेर के नै पो गर्न सकिन्थ्यो र ? आज ‘रामेश’ हुनुभन्दा ८ वर्षअघि ‘प्रदीप’ भएर ठिकै गरेछु ।
यो कुनै रामेश वा प्रदीपको मात्र प्रश्न हैन ।











