Logo
Logo

रुससँग किन बिच्किए ट्रम्प ? यस्तो छ चेतावनी


2.4k
Shares

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसलाई दुई साताको अल्टिमेटम दिएका छन् । अन्तर्राष्ट्रिय समाचार माध्यमका अनुसार ट्रम्पले आगामी दुई हप्ताभित्र युक्रेन युद्धको शान्तिपूर्ण समाधानतर्फ कुनै ठोस प्रगति नभए रुसविरुद्ध कडा प्रतिबन्ध वा कर लगाउने चेतावनी दिएका हुन् ।

यही अगस्ट १५ मा अलास्कामा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेको एक हप्तापछि ट्रम्पको यस्तो अभिव्यक्ति आएको हो । शुक्रबार ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘म चाँडै निर्णय गर्नेछु । यो धेरै महत्वपूर्ण निर्णय हुनेछ, चाहे त्यो ठूलो मात्रामा प्रतिबन्ध होस्, कर होस् वा दुवै । अथवा हामी यो पनि भन्न सक्छौँ कि यो अमेरिकाको लडाइँ होइन, यो तपाईंको लडाइँ हो ।’

युक्रेनस्थित अमेरिकी कारखानामा रुसले हालै गरेको आक्रमणप्रति उनले आक्रोश समेत व्यक्त गरे । आक्रमणबाट कारखानामा आगलागी भएको थियो र धेरै कर्मचारी घाइते भएका थिए । ‘म यसबाट खुसी छैन, युद्धसँग सम्बन्धित कुनै पनि कुराबाट’ ट्रम्पको भनाइ उदृत गर्दै सीएनएनले लेखेको छ ।

ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै उनले ‘रुस–युक्रेन युद्धमा जे भइरहेको छ त्यसबाट म खुसी छैन । यो कुन दिशामा जान्छ भन्ने कुरा अर्को दुई हप्तामा स्पष्ट हुनेछ’ भनेका छन् । उनले रुसका राष्ट्रपति पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटघाटका विषयमा पनि बताए ।

‘म चाहन्छु– दुई नेता सँगै बसून्’ उनले भने, ‘यदि उनीहरूले यसो गरेनन् भने मैले यसो किन भयो भनेर हेर्नुपर्छ ।’ त्यसक्रममा ट्रम्पले आफ्नै कार्यकालमा सात युद्ध रोकेको र तीन सम्भावित युद्ध टारेको दाबी पनि गरेका थिए । ट्रम्पको चेतावनीको रुसले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्