काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौता नेपालको सार्वभौमसत्ता, भू–राजनीतिक सन्तुलन र संविधानको भावना विपरीत रहेको र यसमा नेपालका राजनीतिक पार्टीहरूले पनि दोहोरो चरित्र देखाएको बताए ।

आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै खनालले एमसीसी नेपालको हित अनुकूल नभएको टिप्पणी गरेका हुन् । नेपाल सरकार र एमसीसी बीचको सम्झौता दक्षिण एसियामा अमेरिकी सुरक्षा रणनीतिलाई अघि बढाउने माध्यम भएको खनालको भनाइ छ ।
एमसीसी सम्झौता नेपालको संसदबाट असामान्य ढङ्गबाट अनुमोदन भएकाले चीन र भारतसँग नेपालको भू-राजनीतिक सन्तुलन माथि गम्भीर असर पुर्याएको खनालको दाबी छ ।
संसदमा छलफल नै नगरी एमसीसी पास गरिएको घटना आश्चर्यजनक भएको भन्दै उनले त्यसले लोकतान्त्रिक मूल्यमान्यताको उल्लङ्घन भएको समेत बताए । खनालले राजनीतिक दलहरूले यसमा दोहोरो भूमिका खेलेको आरोप लगाए । त्यसबाट विद्यार्थी, युवा र बुद्धिजीवीहरूले अकारण दुस्ख भोग्नुपरेको समेत बताए ।
एमसीसी सम्झौताले नेपाललाई भारतसँगमात्र विद्युत् व्यापार गर्न बाध्य पार्ने उल्लेख गर्दै खनालले यसले भारतीय एकाधिकार बलियो बनाउने खतरा रहेको टिप्पणी गरे । एमसीसी सम्झौता कार्यान्वयनबारे अझै अस्पष्टता रहेको समेत बताए ।














