काठमाडौं । सरकारको इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णयविरुद्ध जाग नेपालीले आन्दोलनको घोषणा गरेको छ । यो कदम देवनागरी लिपि मेटाउने विदेशी षड्यन्त्रको हिस्सा भएको भन्दै जाग नेपालीले कडा प्रतिकार गर्ने जनाएको छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संयोजक केसीले सत्ताको दुरुपयोग र कमिशनको लोभमा नेपाली भाषा र संस्कृति मेटाउने योजनाविरुद्ध सडकमा उत्रने बताए । उनले इम्बोस्ड नम्बर प्लेट बहिष्कार गर्न र जडान अवज्ञा गर्न अपिल गरे ।
अधिवक्ता रामेश्वर राउतले यो योजनाले राष्ट्रभाषा मेटाउने र ठूलो भ्रष्टाचार गर्ने नियत राखेको बताए । नेपाल स्वतन्त्र नागरिक सञ्जालका दिनेश सुवेदीले यसले नेपालीलाई असुरक्षित बनाउने र मातृभाषा मेटाउने खतरा रहेको उल्लेख गरे ।
पूर्व सुरक्षाकर्मी परिषद्का हेमशंकर गिरीले राष्ट्रियतामाथिको आक्रमणविरुद्ध कडा प्रतिवाद गर्ने बताए । आन्दोलनअन्तर्गत भाद्र ९–१० मा विभिन्न दल र सङ्घसंस्थालाई ज्ञापनपत्र बुझाउने, ११ गते परामर्श गर्ने र १३ गते सडक सङ्घर्षसहित थप कार्यक्रम घोषणा गरिने जाग नेपालीले जनाएको छ ।
आज मात्रै यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य निर्णय गरेको हो । विभागले हालसम्म सामान्य नम्बर प्लेट प्रयोग गरिरहेका सवारी साधन धनीलाई उच्च प्रविधि जडित इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनुरोध गरेको छ ।
गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो । आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ ।














