
काठमाडौं । पूर्वमुख्यसचिव बैकुण्ठ अर्याललाई सफाइ दिने फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च पुगेको छ ।
अर्याललाई सफाई दिने विशेष अदालतको फैसलाविरुद्ध अख्तियारले आज आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
सुरक्षण मुद्रण केन्द्रमार्फत अन्तःशुल्क स्टिकर छपाइका क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका तत्कालीन सचिव अर्यालसमेत १२ जनाविरूद्ध अख्तियारले दायर गरेको मुद्दामा विशेषले अर्यालसहितलाई सफाइ दिएको थियो ।
३८ करोड ६७ लाख १७ हजार ६४० रूपैयाँ बिगो दाबी गरी दायर मुद्दाको उक्त फैसला चित्त नबुझेको भन्दै पुनरावेदन निवेदन दर्ता गरिएको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।














