Logo
Logo

‘विष्णु माझीका तीज गीत समाजसँग मेल खान्छन्, त्यसैले बढी चल्छ’


मञ्जु थापा, गायिका

882
Shares


हिन्दु नारीहरूको विशेष पर्व तीज आउन केही दिन मात्रै बाँकी छ । तीज नजिकिँदै गर्दा कलाकर्मीमाझ सांगीतिक रौनक छाएको छ । हिजोआज कलाकारहरूलाई स्टेज कार्यक्रममा भ्याइनभ्याइ छ । धार्मिक तथा सांस्कृतिक आस्था बोकेको तीजलाई केही वर्षयता संगीतकर्मीले ‘सांगीतिक पर्व’ बनाउँदै आएका छन् । तीजको मौकामा गीत निकाल्ने र स्टेज कार्यक्रम गर्ने लहरबिच कलाकारहरू चर्चामा आउने गरेका छन् । तीज गीतबाटै चर्चामा आउने गायिकामध्येकी एक हुन् मञ्जु थापा । गायिका थापाले हालसम्म करिब तीन सय गीत गाइसकेकी छन् । तीजलाई उनी एक पर्वका रुपमा लिन्छिन् । यिनै गायिका मञ्जु थापासँग दृष्टिको जम्काभेट-

हिजोआज कतिको व्यस्त हुनुुहुन्छ ?
अहिले त जताततै तीजको माहोल छ । दर खाने, नाच्ने र गाउनमै व्यस्त छु । स्टेज कार्यक्रमहरू पनि भइरहेका छन् । अब केही दिनका लागि तीज कार्यक्रममा सहभागी हुन तेह्रथुम जाँदैछु ।

तीज लागेपछि कलाकारलाई दशैँ आएझैँ हुन्छ हो ?
हो, आउनु पनि पर्छ । दर्शक-श्रोताले माया गरेर हामी जस्ता कलाकारलाई हेर्न र सुन्न बोलाउनु हुन्छ । यो हामी कलाकारका लागि राम्रो कुरा हो । तीजजस्ता बिशेष चार्डपर्वमा कलाकारलाई बोलाएर सम्मान गर्दा खुसी लाग्छ ।

तपाईँले यसपाली तीज गीत विशेष भनेर किन निकाल्नु भएन ?
८÷९ वर्षदेखि मैले निरन्तर तीज पर्वलाई फोकस गरेर गीत निकाल्थेँ । यसपाली पनि शब्द तयारी थियो । तर, अघिलो वर्ष विभित्र कारणले गर्दा तीज आउन तीन दिन मात्र बाँकी हुँदा मेरो गीत निस्कियो । त्यसलाई प्रमोसन गर्न पाइन्ँ । सोही गीतलाई यसपाली प्रमोसन गरेकी छु । दर्शक÷श्रोताले उक्त गीतलाई मनपराउनुु भएको छ । यो मात्र होइन, मेरो प्रायः सबै तीजका गीतहरू मनपराएर मेला महोत्सवहरूमा बजिरहेका छन् ।

तपाईँकै गीत चलेका छन् । तर, पुरानो ‘तीजको लहर आयो वरि लै’ गीतलाई किन रिमिक्स गर्नुभयो ?
यो गीत मैले रिमिक्स गरेको होइन, रिमेक गरेकी हँु । संगीतकार शम्भुजित बास्कोटासँग अनुमति लिएर नयाँ ढाँचामा ल्याएको हुँ । मलाई मनपरेको र यो गीत पुरानो हुँदै जाँदा नयाँ पुस्ताले बिर्सदै जान्छन भनेर नै ताजा बनाउन रिमेक गरेको हुँ । पुरानै कलाकार, पुरानै संगीतमा उक्त गीत गाएको छु । साथै, भिडियोमा पुरानो र नयाँ कलाकारहरू नै नचाएको छु ।

तपाईँको गीत तीज मेला, महोत्सवहरूमा बज्दा कस्तो लाग्छ ?
–धेरै खुशी लाग्छ । आफ्नो गीतलाई मनपराएर बजाएर महान पर्व तीजमा नाच्दा, गाउँदा कुन कलाकार खुशी हुँदैन र ? मलाई पनि निकै रमाइलो लाग्छ ।

हिजोआज तीज गीतहरू भड्किलो र उताउलो भयो भन्छन्, तपाइँलाई कस्तो लाग्छ ?
म पनि तीज गीतहरू धेरै सुन्छु, हेर्छु । म पनि तीज गीतहरू भड्किलो भयो, समाज बदनाम भयो भनेको सुन्छु । यसो भनिरहँदा वा नकारात्मक कमेन्ट आए पनि अन्तमा यस्तै गीतले बाजी मारेको देखेका छौँ । यस्तै गीतहरू नै बढी हेर्ने गरेको पाइन्छ । तर, हरेक दर्शक÷श्रोतासँग आआफ्नो च्वाइज हुन्छ ।

धेरै कलाकारले तीज गीत निकाल्छन् । तर, बिष्णु माझीको गीत बजारमा आएपछि अरु आझेल पर्छन, किन ?
हो । यो हामीले देखिरहेका छौँ । उहाँका गीतहरू समाजसँग मेल खान्छन् । अत्यन्त मार्मिक हुन्छ । तीज पर्वले मागेको गीत उहाँले मात्र दिन सक्नु भएर पनि हुन सक्छ । र, तीजमा श्रोताले यस्तै गीत चाहेर पनि होला । विष्णु माझीका तीज गीतले देशका कुनाकप्चाका पिर, दुःख र पीडा बोकेको हुन्छ । उहाँका गीतले समाज कस्तो थियो र के हुँदैछ भन्ने कुरा प्रष्ट पार्छ । अनि, दर्शक श्रोताको मन जित्न सफल भएको पाइन्छ ।

तीजमा व्रत बस्नुहुन्छ ?
म बाल्यकालदेखि नै रहरै रहरले आमाहरूले बसेको देखेर तीजमा व्रत बस्थेँ । अहिले विश्वासले बस्छु । मलाई धर्मकर्ममा विश्वास लाग्छ । यसैले पनि म निराहार व्रत बस्न मन पराउँछु । श्रीमानको खुट्टाको पानी खाएपछि मात्र व्रत पुरा गर्छु ।

श्रीमानको खुट्टा धोएर पानी खाने चलन अन्धविश्वास भन्छन् नि ?
मान्छे आफू कसरी हुर्केको छ, आफू बाँचेको समाज कस्तो छ ? मेरो आमाहरू यही संस्कार र परिवेसमा हुर्कनुभयो । उहाँहरूलाई राम्रै भएको छ । फरक केही परेको छैन । मलाई पनि केही फरक परेको छैन । म गर्वसँग भन्छु– श्रीमान जीवनसाथी मात्र नभएर मेरो अभिभावक पनि हो । हरेक दिन उहाँले मलाई सम्मान गर्नुहुन्छ । मेरो परिवारको संरक्षण गर्नुहुन्छ । त्यो पुरुषलाई मैले सम्मान गरेको हुँ । यो मेरो सौभाग्य पनि हो ।

तीज आउन महिना दिनअघिदेखि दर खाने कार्यक्रम हुन्छ । यो पनि विकृति हो नि ?
हुन त दर खाने भनेको तीजको एक दिनअगाडि माइतमा आमा, बा, भाइदाइले बोलाएर खाने हो । तर, अहिले दर खाने चलन औकातअनुसार हुन्छ । तर, आज यो दर खाने कार्यक्रम घरभित्र भन्दा पनि घरबाहिर बढी हुुने गरेको छ । खासमा सभ्य भएर परिवारिक जमघटमा दर खाने र रुमाउनु राम्रो कुरा हो ।

तपाईँले अन्तरजातीय विवाह गर्नुभयो, कति सहज भयो ?
हो, म गुरुङको छोरी । मैले क्षेत्रीसँग विवाह गरेँ । त्यतिबेला भर्खर एसएलसी दिएकी थिएँ । संस्कार र विचार नमिल्दा सुुुरुका दिनमा धेरै ग्राह्रो र सर्घष गर्नुप¥यो । तर बिस्तारै सासु–ससुराको स्पोर्ट र साथ पाउन थालेँ । त्यसपछि सहज हुन थाल्यो । घरपरिवार र श्रीमानको साथ सपोर्टले नै अहिले यहाँसम्म छु ।

प्रतिक्रिया दिनुहोस्