काठमाडौं । नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल–२०२५’ आयोजना गर्ने भएका छन् ।

आइतबार बोर्डको सभाहलमा आयोजित पत्रकार सम्मेलन गरी ‘नेपाल आर्ट एण्ड कल्चर फेस्टिभल’ हुने जानकारी गराइएको हो । फेस्टिवल आगामी यही भदौ २० देखि असोज १० गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर र किर्तिपुरमा आयोजना हुनेछ ।
कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागर शमशेर राणाले नेपालमा मात्रै नभई विदेशमा समेत यस्ता सांस्कृतिक पर्वले ठूलो महत्व राख्ने बताउँदै यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन फेस्टिभल आयोजना गर्न लागिएको जानकारी दिए । कार्यक्रमहरुले स्वदेशी तथा विदेशी पर्यटक दुवैलाई आकर्षित गर्ने उद्देश्य राखेको उनले बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिए पनि यो फेस्टिवलमार्फत नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको बताए ।
‘हाम्रो विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै धरोहरहरूको वैभवतालाई संसारभर चिनाउनुपर्छ’ उनले भने, ‘यस किसिमको महोत्सवले नेपालमा पर्यटकको संख्या बढाउनुका साथै आर्थिक आम्दानीमा योगदान पु¥याउने विश्वास लिएका छौं ।’
फेस्टिभल सञ्चालन समितिका प्रमुख तथा नेपाल होटल व्यवसायी संघ (हान)का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफटाइम एक्सपेरियन्स’का लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे । उनले भने, ‘नेपाल लाईफ टाइम एक्सपेरियन्स लिने उत्कृष्ट गन्तव्य हो। पर्यटन र जात्रा–महोत्सव जोड्ने हाम्रो प्रयास अन्तर्गत थालिएको यस महोत्सवले एक्सपेरिमेन्टल टुरिजम्का लागि योगदान गर्ने हाम्रो विश्वास छ ।’
कार्यक्रम संयोजक आयुषा श्रेष्ठले तीन सातासम्म चल्ने यस महोत्सवमा ४० वटा कार्यक्रमहरु आयोजना गरिने जानकारी दिए । उनले इन्द्रजात्राको अवसरसँगै सुरु हुने यो महोत्सवलाई उपत्यकाका सम्पदा, कला, संस्कृतिको समग्र उत्सवका रूपमा प्रस्तुत गरिने बताए ।
‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित सुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ–संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला–कौशल, संगीत–नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
उपत्यकाका पुराना शहर काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको पनि आयोजकले जनाएको छ ।











