Logo
Logo

‘अब फिल्म बनाउने शैली बदल्नुपर्छ’


378
Shares

सौगात मल्ल एक भर्सटायल अभिनेता तथा निर्देशक हुन् । उनको अभिनयले केवल पर्दामा मात्र होइन, दर्शकको मनमा पनि गहिरो छाप छोडेको छ । सौगातको अभिनय मात्र होइन, अभिनयको तयारीका लागि उनले गर्ने प्रि–वर्क पनि अद्भुत छ । आज हामी फिल्मको सफलता–असफलताको कुरा भन्दा बढी, एक व्यस्त र लोकप्रिय अभिनेताको दृष्टिबाट नेपाली फिल्म निर्माण प्रक्रियाबारे चर्चा गर्दैर्छौँ । सिटामोल प्रदर्शन पश्चात् परालको आगो नामक चलचित्रको वर्कशपमा व्यस्त रहेका सौगात मल्लसँग नेपाली फिल्म मेकिङमा देखिएका केही चुनौतीहरूबारे कुरा गरेका छौँ । प्रस्तुत छ, दृष्टि न्युजका लागि सविना राउतले गरेको अन्तर्वार्ताको सम्पादित अंश

भनिन्छ नेपाली फिल्महरू हतारमा छायाङ्कन गरिन्छ, तयारीको अभावले नै नेपाली फिल्महरूले गहिरो रूपमा कथा भन्न नसकेको हो ?
फिल्म बनाउने क्रममा सबैभन्दा पहिलो गल्ती हामीले कहिल्यै नबिर्सिने एउटा हो– हतार गर्नु । प्रि–प्रोडक्सन भनेको फिल्मको मेरुदण्ड हो । स्क्रिप्ट तयार नभएको, कास्टिङ अधुरो भएको, लोकेशन क्लियर नभएको अवस्थामा पनि छायाङ्कन सुरु गरिन्छ । यसरी हतारमा खिचिएको फिल्म कुनै पनि रूपमा परिपक्व हुन सक्दैन । यो परीक्षा नदिई रिजल्टको अपेक्षा गरेजस्तै हो । कास्टिङमा पनि समस्या छ ।

कलाकार सेलेक्सनमा पनि निकै समस्या देखिन्छ । मैले आफैँले फिल्म यो भूमिकामा मलाई ठिक हुन्न कि भनेर अस्वीकार गरेको छु, यो भूमिका अरू कसैले राम्रो गर्न सक्छ भनेर नाम दिएर पनि सुझाव दिने गरेको हुन्छु । तर, म नै हुनुपर्छ भन्नुहुन्छ । अनि अन्तिममा मान्नुपर्ने भएको छ । हाम्रा मेकर्स त्यो कुरा मान्न तयार हुँदैनन्। सधैँ एउटै अनुहार देखाउनु राम्रो कुरा होइन। स्क्रिप्ट अनुसार पात्र छनोट हुनुपर्छ, स्टार अनुसार होइन। यो कुरा बुझिएन भने फिल्मको आत्मा नै मरेको हुन्छ ।

पोस्ट–प्रोडक्सनमा खासै समय दिइँदैन, त्यसलाई फिल्म निमार्णको ठूलो भुल भन्न मिल्छ ? र, राम्रो फिल्म बनाउन हामी कहाँ चुकिरहेको छौँ ?
हामी फिल्मको पोस्ट–प्रोडक्सनलाई अझै पनि अन्तिम स्टेपको रूपमा मात्र हेरिरहेका छौँ । जुन सोच अत्यन्तै गलत हो । डबिङ, साउण्ड मिक्सिङ, म्युजिक स्कोर, भिएफएक्स, कलर करेक्सन यी सबै चीज फिल्मको भाव प्रवाहमा असर गर्ने अति संवेदनशील पक्ष हुन् । म आफैँले खेलेका केही फिल्म हलमा हेर्न गएका छैन, किनकि मलाई थाहा थियो पोस्टप्रोडक्सनमा न्याय भएको छैन । अधिकांश फिल्मको त सम्पादनमा समेत जान्नँ । किनभने, सम्पादनमा बसेपनि अनेक कुरा बिग्रिरहेको देख्छु । यो भन्दा अन्तिममा एकैपटक हे¥यो, चित्त बुझायो । हामी फिल्मको कथालाई गहिरो बनाउने ‘फिनिशिङ टच’लाई सस्तोमा टार्न खोज्छौँ । परिणामस्वरूप, राम्रो अभिनय र कथा हुँदाहुँदै पनि फिल्म दर्शकको मन छुन सक्दैन ।

स्क्रिप्ट लेखनमा गम्भीरता नलिइनु फिल्मको सबैभन्दा ठुलो कमजोरी हो । स्क्रिप्ट फिल्मको आत्मा हो । तर, अहिलेको अवस्थामा, स्क्रिप्टको अध्ययन, विकास र मिहेनतको संस्कार हराउँदै गएको छ । विदेशमा एउटा स्क्रिप्ट तयार गर्न १–२ वर्ष लाग्छ, कहिलेकाहीँ त ५ वर्षसम्म पनि । तर हामी भने १० दिनमा स्क्रिप्ट लेखेर फिल्म फ्लोरमा लैजाने हतारमा हुन्छौँ। यस्तो गर्दा कथाको गहिराइ, पात्रको मनोविज्ञान, यथार्थपरक संवाद सबै हराउँछ। अझै हामी कुन कलाकार चलेको छ त्यसैको वरिपरि स्क्रिप्ट बुन्छौँ। यो ‘फिल्म लेखन’ होइन, मार्केटिङ हो। लेखक भन्नाले केवल कथा भन्न सक्ने मात्र होइन, समाज बुझ्न सक्ने, पात्रको जीवन अनुभूत गर्न सक्ने मानिस चाहिन्छ ।

नेपालमा फिल्मलाई एउटा व्यापारको रूपमा मात्रै लिइँदै आएको छ । फिल्मको चर्चा पनि कति कमायो भन्ने केन्द्रित हुने गरेको छ । यसलाई चाहिँ तपाईँले कसरी लिनु भएको छ ?
फिल्म मेकिङ विश्वमै जोखिमपूर्ण क्षेत्र हो । तर त्यसको अर्थ यो होइन कि हामी हतार, सस्तो सोच र अभावमै सिनेमा बनाइरहेका छौँ । हामी नेपालमा पनि अत्यन्त न्यून बजेटमा काम गरिरहेका छौँ, त्यो त ठिकै हो । तर सीमित संसाधनमै पनि सिर्जनात्मक काम गर्न सकिन्छ, यदि हामी योजनाबद्ध रूपमा काम गर्छौँ भने ।

सिर्जनाका लागि समय, मन, अध्ययन, र दृष्टिकोण आवश्यक हुन्छ । हामीले लेखकहरूलाई, टेक्निकल टिमलाई, पोस्टप्रोडक्सनका विशेषज्ञहरूलाई सशक्त बनाउनु पर्छ । उदाहरणका लागि, हामीले साउन्ड डिजाइनरलाई विदेश पठाएर अध्ययन गराएका छौँ त ? कुनै लाइट म्यानलाई व्यावसायिक ट्रेनिङ दिएका छौँ त ? छैन । जबसम्म त्यो हुँदैन, फिल्म बनाउने शैली पुरानै रहन्छ ।

उसोभए समस्या दर्शकमा नभई मेकिङमै छ ?
धेरै पटक फिल्म नचलेपछि मेकर्स दर्शकमाथि दोष थोपर्छन्– ‘दर्शकले साथ दिएन’। तर यो सोच गलत हो । दर्शकले साथ दिएका छन्, नेपालमै बनेका उत्कृष्ट फिल्महरू मन पराएका छन् । असल फिल्म कहिल्यै हराउँदैन केवल कमजोर मेकिङले मात्र उसलाई ओझेलमा पार्छ । दर्शक आलोचक पनि हुन्, उनीहरूले नचाहिएको कुरा अस्वीकार गर्छन् । त्यो त स्वाभाविक हो । त्यसैले आलोचना स्वीकार गरेर आफूलाई सुधार्ने काम फिल्मकर्मीको हो । मानौं, कुनै ग्राहकले पैसा तिरेर होटेलमा केही खानेकुरा किनेको छ, उसले यो स्वाद मन परेन, अलिकति चर्को भयो, तेल धेरै भयो भन्न नपाउनु ? पकाउनेले रिसाएर भयो त ?

अब समाधानको बाटो चाहिँ के त ?
नेपाली फिल्म उद्योगले केही वर्षमा निकै प्रगति गरेको छ । प्रविधिमा, प्रस्तुतिमा, र सोचमा पनि विकास आएको छ । तर अहिले हामीले गम्भीर भइकन फिल्म बनाउने संस्कार बसाल्न जरुरी छ । राम्रो स्क्रिप्ट, सक्षम लेखक, सशक्त निर्देशक टिम, र समर्पित कलाकारको सम्मिश्रणबाट मात्र उत्कृष्ट सिनेमा सम्भव हुन्छ । र, दर्शकहरूलाई म धन्यवाद दिन चाहन्छु– तपाईँहरूको माया, साथ, र आलोचनाले नै हामीलाई अघि बढ्न हौसला मिल्छ । म सधैँ आलोचना र सुझावलाई स्वागत गर्छु । र, म विश्वस्त छु, हामी मिलेर नेपाली फिल्मलाई अझ उचाइमा पु¥याउन सक्छौँ ।

प्रतिक्रिया दिनुहोस्