काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसीप’ को पाँचौँ संस्करण शनिबारबाट काठमाडौंमा सुरु हुँदै छ । शुक्रवार हिमालयन एयरलायन्सको विमानमार्फत लासा हुँदै ३७ जना चिनियाँ सैनिकको टोली काठमाडौं आइपुगेका हुन् ।

दश दिनसम्म चल्ने यो अभ्यास प्रतिआतंकवाद, युद्धकला र विपद् व्यवस्थापनमा केन्द्रित हो छ । रक्षा मन्त्रालयका अनुसार यो नियमित अभ्यास क्षमता अभिवृद्धि र अनुभव आदान-प्रदानका लागि हो, कुनै देशविरुद्ध लक्षित छैन । गत वर्ष चौथो संस्करण चीनको सिचुवान प्रान्तको छोङछिङमा भएको थियो ।
अभ्यासको तयारीका लागि नेपाली सेनाको पाँच सदस्यीय टोली, उपरथी प्रेमध्वज अधिकारीको नेतृत्वमा, छेन्दुमा आयोजित फाइनल प्लानिङ कन्फरेन्समा सहभागी भएको थियो।यो अभ्यास सन् २०१७ मा काठमाडौंमा पहिलोपटक सुरु भएको थियो । दोस्रो संस्करण २०१८ मा छेन्दुमा र तेस्रो २०१९ मा नेपालमा भएको थियो ।
कोरोना महामारीले केही वर्ष प्रभावित गरे पनि गत वर्ष चीनमा चौथो संस्करण सम्पन्न भएको थियो । चीनसँगको यो अभ्यासले भारत, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकहरूमा आशङ्का उत्पन्न गरेको छ । खासगरी, बिआरआई परियोजनासँग जोडेर पश्चिमा मुलुकहरूले नेपाल-चीन सैन्य सहकार्यप्रति प्रश्न उठाएका छन् । नेपालले अमेरिका र भारतसँग पनि नियमित सैन्य अभ्यास गर्दै आएको छ, जसमध्ये भारतीय सेनासँगको अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ ।














