काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा शुक्रबारदेखि सुरु भएको नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बहुदलीय जनवाद (जबज) लाई विस्थापन गर्ने सङ्केत गर्दै ‘नेपाली विशेषताको समाजवाद’ को अवधारणा अघि सारेका छन् । यो प्रस्तावले पार्टीभित्र लामो समयदेखि मार्गदर्शक सिद्धान्तका रूपमा स्थापित जबजलाई कमजोर पार्ने र ओलीको व्यक्तिगत विचारलाई प्राथमिकता दिने रणनीतिका रूपमा हेरिएको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जबजलाई नेकपा (एमाले)ले २०४९ सालदेखि आफ्नो वैचारिक आधार मानेको छ । तर, अध्यक्ष ओलीले विधान महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा ‘नेपाली विशेषताको समाजवाद’ लाई जोड दिँदै जबजको मर्ममाथि प्रहार गरेको आरोप पूर्वराष्ट्रपति विद्या भण्डारी खेमाले लगाएको छ । विद्या पक्षधर नेताहरूले ओलीले जबजलाई असान्दर्भिक बनाएर आफ्नो विचार स्थापित गर्न खोजेको आशङ्का व्यक्त गरेका छन् ।
ओलीले प्रस्तावमा नेपाली समाजको बहुलता र विविधतालाई समाजवादी राज्यप्रणालीमा समेट्ने र ‘परिपूर्ण लोकतन्त्र’ लाई आधार बनाउने उल्लेख गरेका छन् । उनको प्रतिवेदनमा संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार, शक्ति पृथकीकरण र आवधिक निर्वाचनलाई जोड दिइएको छ । तर, जबजको मूल सिद्धान्तलाई स्पष्ट रूपमा समेट्नुको सट्टा नयाँ अवधारणालाई प्राथमिकता दिइएको छ, जसले जबजको वैचारिक महत्वलाई कमजोर बनाउने सङ्केत गरेको छ ।
केही वर्षयता ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारालाई प्राथमिकता दिँदै आएका थिए । विधान महाधिवेशनमा भने उनले ‘नेपाली विशेषताको समाजवाद’ को प्रस्ताव अघि सारेका छन्, जसलाई जबजको विकल्पका रूपमा हेरिएको छ । यो अवधारणाले नेपाली समाजको वर्ग संरचनालाई निम्न (वार्षिक आय १.५ लाखभन्दा कम), मध्यम (१.५–५ लाख) र उच्च (५ लाखभन्दा माथि) वर्गमा वर्गीकरण गरेको छ, जुन जबजको परम्परागत वर्ग विश्लेषणभन्दा फरक छ ।
विशेषगरी, ओलीले मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा मदन भण्डारीमाथि विवादास्पद टिप्पणी गर्दै जबजलाई सामूहिक छलफलको उपज भएको र व्यक्तिगत नभएको भन्ने अभिव्यक्तिप्रति विद्या पक्षधर नेताहरूले कडा आपत्ति जनाएका छन् ।
यो विधान महाधिवेशनले जबजको भविष्य र नेकपा (एमाले)को वैचारिक दिशालाई कसरी आकार दिन्छ भन्ने कुरा महाधिवेशनका छलफल र प्रतिनिधिहरूको प्रतिक्रियामा निर्भर रहनेछ । तर, ओलीको प्रस्तावले पार्टीभित्रको अन्तरसंघर्षलाई थप गहिरो बनाउने र जबजको ऐतिहासिक महत्वमाथि प्रश्न उठाउने स्पष्ट सङ्केत गरेको छ ।














