बाँके । नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्थामा ३७ करोड बढी रकम हिनामिनाको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष हरदेवबक्स चौधरी, सिद्धिकुमार महर्जन र सुरत खटिक छन् ।

जिल्ला अदालतको फैसला कार्यान्वयन टोलीले उनीहरूलाई पक्राउ गरेको हो । जिल्ला अदालतले अध्यक्ष चौधरीलाई ५ वर्ष कैद र ५० हजार जरिवानाको सजाय तोकेको छ । यसअघि उनले एक वर्ष कैद भुक्तान गरी २५ लाख धरौटीमा रिहा भएका थिए ।
उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले जिल्ला अदालतको फैसला सदर गरेपछि उनीहरू पक्राउ परेका हुन् । अदालतले सहकारी घोटालामा १९ जनालाई कसुरदार ठहर गरेको छ, जसमध्ये ७ जनाले कैद र जरिवाना भुक्तान गरिसकेका छन् भने बाँकी फरार छन् । कसुरदारहरूसँग बिगो रकम उठाउन बाँकी रहेको अदालतले जनाएको छ ।
२०७६ असोज २८ मा सहकारी ऐन, ठगी र सङ्गठित अपराधमा मुद्दा दायर भएको थियो । २०८० पुस २६ मा जिल्ला न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले ४१ मध्ये १९ जनालाई दोषी ठहर गरेको थियो । २०८२ जेठ १४ मा उच्च अदालतले फैसला सदर गर्दै पीडित पक्षसहितको सञ्चालक टोली गठन गर्न आदेश दिएको छ । यो सहकारीमा ११,८०४ बचतकर्ता छन्, जसमध्ये १,५०६ जनाले प्रहरीमा सनाखत गरेका छन् ।
पक्राउ परेका तीनै जना मधेसकेन्द्रित दलबाट राजनीति गर्ने पात्र हुन् । बचतकर्ताहरूले लामो समयदेखि रकम फिर्ता पाउन सकेका छैनन् । अध्यक्ष चौधरीले सम्पत्ति बेचेर रकम तिर्ने कागज गरे पनि मुद्दा पुनः दायर भएपछि बचतकर्ताको रकम जोखिममा परेको छ ।














