काठमाडौं । कालिमाटीमा हिजोको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेका ३० वर्षीय देवकुमार सुवेदीको आज बिहान निधन भएको छ ।

सुवेदीलाई पेटमा गोली लागेको थियो । आन्द्रा बाहिरिएको अवस्थामा तत्कालै बयोदा अस्पताल पुर्याइए पनि अत्यधिक रक्तस्रावका कारण डाक्टरको प्रयास असफल भयो । बिहान ९ बजे निधन भएको उनको जेठान मनिष बास्तोलाले जानकारी दिए ।
उदयपुरका सुवेदी सडक विभागमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । ‘देश बिग्रँदैछ, केही बोल्नुपर्छ’ भन्ने सोचले उनी प्रदर्शनमा सहभागी भएका थिए । तर, आवाज उठाउने प्रयासमै उनले ज्यान गुमाए ।
उनको निधनले परिवारमा गहिरो शोक छाएको छ । ८ वर्षीया छोरी, वृद्ध आमाबुबा र अचेत अवस्थामा रहेकी श्रीमतीलाई सम्हाल्न कठिन भएको परिवारले जनाएको छ ।
हिजोको प्रदर्शनमा गोली लागेका तीनमध्ये अर्जुन भट्ट र दिपक साउदको हिजो राति नै मृत्यु भइसकेको छ । सुवेदीको निधनसँगै मृतक संख्या तीन पुगेको छ ।














