Logo
Logo

अनैतिक राजनीतिले निम्त्याएको संकट


शरद रिजाल

756
Shares

नेपालको हकमा ‘राजनीति फोहोरी खेल हो’ भन्ने भाष्य सत्य साबित भएर सबैको जनजिब्रोमा झुन्डिएको छ । विगतदेखिका राजनीतिक व्यवस्था र त्यसका सञ्चालकहरूको अनैतिक क्रियाकलापले राजनीतिलाई फोहोर र घृणित कर्मको संज्ञा आम जनमानसले दिन थालेका छन् ।

मुलुकका प्रमुख दलका तीन शीर्ष नेताहरूले अनेकौँ पटक अवसर पाइसकेका छन् । उनीहरूले अब अरूलाई मार्ग प्रशस्त गर्नै पर्दछ । काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल क्रमशः पटक पटक असफल हुँदै परीक्षित भएका नेता हुन् ।

उनीहरूबाट मुलुकले जे प्राप्त गर्नु थियो, गरिसक्यो । अब उनीहरूले बिदा लिनुबाहेक अर्को विकल्प छैन । उनीहरूको अक्षमताको मूल्य अब देशले चुकाउन सक्दैन । ती दलहरू भित्रका युवा पुस्ता र नेतृत्वको अवसरबाट वञ्चित गरिएका तर क्षमतावानहरूले पार्टीमै विद्रोह गर्नुपर्दछ । दल जोगाउने कि, वृद्ध नेता जोगाउने भन्ने निर्णायक घडी आएको छ ।

वर्षौंदेखि पार्टीसत्ता र राज्यसत्ताको केन्द्रमा रहेका नेताहरूले मुलुकलाई दिन सक्ने योगदान गरिसकेका छन् । अब उनीहरूप्रति न समाजमा आकर्षण बाँकी छ, न उनीहरूबाट मुलुकले कुनै गुणस्तरीय उपलब्धि हासिल गर्ला भनेर विश्वास गर्न सकिन्छ ।

राज्यको मूल नीतिका रूपमा रहेको राजनीतिप्रति आम जनताको विश्वास र अपनत्वबोध कायम हुनुपर्नेमा यहाँ यिनै नेता र दल भन्ने बित्तिकै जनताहरू आक्रोशित हुँदै धारेहात लगाउने अवस्था सिर्जना भएको छ । यो विद्यमान दल र नेताहरूको निष्ठाविहीन र अनुत्तरदायी कार्यले राजनीति नै प्रदूषित भएको हो । अन्य समुन्नत देशमा दलीय आबद्धता सबैको सरोकार र चासोको विषय हुँदैन । तर, नेपालमा भने दलीयकरण नभएको कुनै क्षेत्र नै छैन ।

राज्यका हरेक संयन्त्र, चोक र चौतारीदेखि नै आम मानिस राजनीतिक विषयमा आफ्नो दलीय पक्षधरता देखाउँदै पक्ष र विपक्षमा उभिन्छन् । त्यसकै उपज नेपाली समाजमा दलीय कार्यकर्ता र आम जनताबीच गहिरो खाडल उत्पन्न भएको छ । एकातिर दलीय कार्यकर्ताहरू आफ्नो अमुक दलप्रति अन्ध पक्षधरता कायम गर्दै त्यसको बचाउमा उत्रिरहेका छन् भने अर्कोतिर आम मानिसहरू राजनीतिलाई घृणाको रूपमा लिएर नेताहरूप्रति असन्तुष्टि प्रकट गर्दै सत्तोसराप गरिरहेका छन् । नेपालमा विगतदेखि शासनसत्तामा रहेकाहरूको निष्ठाविहीन राजनीति र सत्ता स्वार्थप्रेरित क्रियाकलापले व्यवस्थामाथि नै वितृष्णा पैदा गरेको छ ।

पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा पूर्वमन्त्री रामकुमारी झाँक्रीका दुई अभिव्यक्ति निकै भाइरल भएर उनको आलोचना बढेको छ । उनका विगत र आगतका एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित विरोधाभाषपूर्ण अभिव्यक्तिहरू अहिले निकै चर्चामा छन् । विगतका आलोचनापरक र अहिलेका प्रशंसाजन्य अभिव्यक्तिले झाँक्रीको राजनीतिक निष्ठामाथि प्रश्न उठाएको छ ।

चार वर्ष अघि एमाले विभाजन गर्न माधवकुमार नेपालको हात समाएर निर्वाचन आयोगमा लगेकी उनले अहिले भने एमालेमा जान ओलीको प्रशंसामा समय खर्चिएकी छिन् । पात्र र प्रवृत्ति उही हुँदा पनि उनको अभिव्यक्तिमा बदलाव आउनुको मुख्य कारण व्यक्तिगत स्वार्थ र आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने दाउबाहेक अरू केही होइन ।

उनका दुई फरक अभिव्यक्ति मुलुक र समाजको हितलाई केन्द्रमा राखेर दिइएको होइन, त्यो विशुद्ध व्यक्तिगत स्वार्थ परिपूर्तिका लागि आफ्नो विगतकै क्रियाकलापको उपहास मात्रै हो । उनी त एक प्रतिनिधि पात्र मात्रै हुन् । नेपालमा अधिकांश दल र नेताहरू एक समय कडा आलोचक बन्ने र फेरि क्षणिक सत्ता स्वार्थका लागि प्रशंसक हुन तयार हुन्छन् । चाहे दलीय रूपमा होस् या व्यक्तिगत रूपमै नेताहरू आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न जता पनि लहसिने प्रवृत्ति व्याप्त छ ।

यही अनैतिक राजनीतिको उपज विद्यमान दलहरूमा एकता र विग्रहको क्रम सुरु भएको देखिन्छ । माधवकुमार नेपालको पार्टीबाट घनश्याम भुसाल लगायतका नेताहरू नयाँ ध्रुवीकरणको अभ्यास गरिरहेका छन् । त्यस्तै तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरूले पुरानो पार्टीसँग औपचारिक रूपमा नै सम्बन्ध विच्छेद गर्दै नयाँ अभियान सुरु गरेका छन् ।

एकै समयमा एक अर्कालाई आरोपित गर्दै शत्रु किटान गरेका प्रमुख दल र नेताहरू त्यही प्रवृत्ति यथावत् रहँदा नै फेरि आपसमा सहकार्यका लागि हौसिँदै अनेकौँ कुतर्क गरेर आफ्नो बचाउमा उत्रिनु अब नौलो रहेन । यसअघि कांग्रेस, एमाले र माओवादीका सत्ता लक्षित सहकार्य त्यसका पछिल्ला उदाहरण हुन् । चुनावी गठबन्धन एउटासँग गर्दै अरूसँग सत्ता सहकार्य गर्ने अनैतिक प्रवृत्ति पनि राजनीतिक वितृष्णा बढाउने मुख्य कारण हो ।

माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले खाएको स्वर्ग र नर्क सँगै जाने कसम जस्तै नेपाली राजनीति पनि उनीहरूले अविश्वसनीय बनाएका छन् । यिनै नेताहरूको अनैतिक क्रियाकलापले सिर्जित वर्तमान संकट समाधानका लागि सबै एकताबद्ध भएर मुलुकलाई राजनीतिक स्थायित्वतर्फ फर्काउनु आवश्यक छ ।

पुराना दलका नेताहरूले अब पनि नेतृत्वमा निरन्तर रहन खोज्ने हो भने, त्यसले अर्को विद्रोह जन्माउँछ । त्यसैले पनि उनीहरू पदमा रहने प्रयत्न गर्नु हुँदैन । पार्टीभित्र विभिन्न स्वार्थ राखेर नेतृत्वमा निरन्तरता दिनका लागि हुने वकालतबाट प्रभावित हुनु हुँदैन । उनीहरू अझै पनि नेतृत्वमा रहिरहने प्रयत्न र रणनीति अख्तियार गर्छन् भने त्यसले अन्ततः लोकतन्त्रलाई नै क्षति गर्छ ।

राजनीतिक दलको नेतृत्व गतिशील र समयानुकूल भयो भने मात्रै लोकतन्त्र पनि गतिशील हुन सक्छ । त्यसैले यति बेला हरेक पार्टीका युवापंक्तिले आफ्नो भूमिकालाई सशक्त बनाउनुपर्छ । उनीहरूले हस्तक्षेप गर्नुपर्छ । देशमा पर्याप्त साधन, स्रोत र सम्भावना भएर पनि जनतामा निराशा र आफ्नै जीवनप्रतिको बेचैनीको अवस्था सिर्जना कुनै बाहिरी तत्त्वले गरेको होइन ।

यही मुलुकका राजनीतिक दल र तिनले बनाएको अस्थिर सरकारले निम्त्याएको हो । भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलन त्यसैको ‘बाइ प्रोडक्ट’ हो । देश र आम जनताको भावना विपरीत आफ्ना दलीय र व्यक्तिगत स्वार्थमा नेताहरू लिप्त हुँदा त्यसविरुद्ध नवयुवाहरूले विद्रोह ओकलेका हुन् ।

त्यसैले अब सबैले आफ्ना पूर्वाग्रह त्यागेर देशको सार्वभौमिकता र अखण्डता जोगाउन एकताबद्ध हुनु नै आजको आवश्यकता हो । राष्ट्रिय एकता कायम गर्दै पुराना दल र नेताहरूको विस्थापन नै वर्तमान संकट समाधानको उत्तम विकल्प हो ।

प्रतिक्रिया दिनुहोस्