Logo
Logo

पुटिनको भारत भ्रमणः दक्षिण एसियामा तरङ्ग


डा. दीपेश केसी

630
Shares

रुसी राष्ट्रपति भ्लाडिमिर पुटिन विशेष विमानबाट भारत पुग्दा त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदी स्वागतका लागि विमानस्थलमै पुगे । स्वागतका क्रममा पुटिनलाई अँगालो हाले । मोदीले पुटिनलाई उपहारका रुपमा रुसी भाषामा अनुवाद गरिएको हिन्दूको पवित्र धर्मग्रन्थ भागवत गीता उपहार दिए ।

पुटिनलाई गोर्खा सैनिकका साथ गार्ड अफ अनर दिइयो । कूटनीतिमा यी विषयहरूले निकै ठूलो अर्थ राख्दछ । विश्वको सबैभन्दा ठूलो देश रुसको राष्ट्रपतिले विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतको भ्रमणले विश्वव्यापी चासो पायो । त्यसमाथि पुटिनले भारत भ्रमणका क्रममा पाएको विशेष महत्वले निकै ठूलो अर्थ राख्छ ।

पुटिन सायदै बाह्य मुलुकको भ्रमणमा निस्कन्छन् । युक्रेन युद्धपछि उनी रुसको गहिरो सम्बन्ध सीमित देशहरूमा मात्र पुगेका छन् । यसपटक उनी भारतको दुई दिने भ्रमणमा पुगे । पुटिन आउनु अघि नै भारत र रुसका उच्च अधिकारीहरूको भ्रमण भएको थियो । ती भ्रमणहरू हतियार, तेल, व्यापार र विश्व व्यवस्थामा केन्द्रित रहे । युक्रेन युद्धपछि भारतले रुससँग कच्चा तेल खरिद ह्वात्तै बढाएको छ ।

कुनै बेला भारतले आयात गर्ने तेलमा २ प्रतिशत रुसी तेलको हिस्सा हुन्थ्यो । अहिले त्यो बढेर ३५ प्रतिशत नाघेको छ । भारतले रुससँग भारी प्रतिशत छूटमा तेल खरिद गरिरहेको छ । त्यसबाट उसले ठूलो धनराशि आर्जन गरेर अर्थतन्त्र उकासिरहेको छ । रुस पनि भारतलाई कच्चा तेल बेचेर युद्धको अवस्थामा अर्थतन्त्रलाई उकासिरहेको छ ।

अमेरिकाले भारतलाई रुससँग धेरै नजिक हुन नदिने अनेकन् रणनीति अपनाएको छ । यतिसम्मकी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको सामानमाथि कर ह्वात्तै बढाइदिए । उनको सर्त छ कि भारतले रुसबाट कच्चा तेल खरिद बन्द गरोस् । ट्रम्पको दबाबका बाबजुद भारतले रुससँग तेल खरिद गरिरहेको छ । पुटिनले भारत भ्रमणको ठिक अघि अमेरिकाले आफूसँग युरेनियम खरिद गरिरहेको र भारतले तेल खरिद गर्न नहुने भन्ने जायज नहुने अभिव्यक्ति दिए । तर, अमेरिका, जापान र अस्ट्रेलियासहित चार देशको सुरक्षा संगठन क्वाडमा भारत समेत सामेल भएकाले ट्रम्पको दबाबभित्र रणनीतिक स्वार्थ देखिन्छ ।

अमेरिका भारतलाई आफ्नो समूहमै रहिरहोस् भन्ने चाहन्छ । तर, भारतले पटक पटक युद्ध गरिसकेको पाकिस्तानमा उसको विशेष प्रभाव छ । पाकिस्तानलाई ठूलो सैन्य सहयोग देखि हतियार समेत अमेरिकाले दिएको थियो । यतिसम्मकी आतंकवादविरुद्धको युद्धका नाममा अरबौँ डलर नै खन्याएको थियो ।

पाकिस्तानसँग हालै भएको युद्धका बेला भारतले रुसमा निर्मित हतियार प्रयोग गरेको थियो । प्रतिरक्षासम्बन्धी एस ४०० हतियारको त मोदीले खुलेर प्रशंसा गरे । उता पाकिस्तानतर्फ प्रयोग भएको कतिपय हतियार अमेरिकी थिए । जसमध्ये भारतीय हवाई सेना प्रमुख अमर प्रित सिंहले उल्लेख गरेको एफ १६ लडाकु विमान पनि थियो ।

भारत अत्याधुनिक हतियारको विकास र खरिदमा पनि अघि सरिरहेको छ । उसले फ्रान्ससँग विगतमा राफेल लडाकु विमान ठूलो संख्यामा खरिद गरेको थियो । रुससँग एस ५०० प्रतिरक्षा प्रणाली र एसयु ५७ लडाकु जेट किन्न खोजिरहेको छ । पुटिनले पनि भारतीय मिडियालाई दिएको अन्तवार्तामा रुसले हतियार मात्र नबेचिरहेको आफ्नो विशेष मित्रशक्ति भारतलाई सैन्य प्रविधि बाँडिरहेको भने । ब्रम्होस जस्ता अत्याधुनिक मिसाइलको चर्चा गरे जुन भारतसँग रुसले संयुक्त रुपमा भारतमै उत्पादन गरिरहेको छ ।

रुससँग तेल, ग्याँस, कोइलालगायत ठूलो प्राकृतिक स्रोत छ । भारतसँग त्यसको प्रयोग गर्ने विश्वकै ठूलो जनसङ्ख्या छ । जुन रुस प्राप्त गर्न चाहन्छ । यी दुई देशबीच जमिन जोडिएको छैन । रुसको प्रभाव रहेका मध्य एसियाका देशहरूसँग पाकिस्तानको सीमा जोडिएको छ । तर, पाकिस्तानसँग भारतको सम्बन्ध सहज छैन । यस कारण रुस र भारतबीच समुन्द्री मार्गबाट खरबौँ डलरको व्यापार चलिरहेको छ ।

युक्रेन युद्धपछि पश्चिम यूरोपसँग रुसको सम्बन्ध चिसिएपछि उसको ध्यान पूर्वतर्फ छ । विशेषगरी भारत र चीनलाई रुसले तेल, ग्याँस, कोइलालगायत खनिजहरु प्रचुर मात्रामा बेचिरहेको छ । रुसका लागि भारत र चीनजस्ता देशहरू यस कारण पनि विशेष हुन पुगेका छन् । अर्कोतर्फ, पश्चिमा शक्तिसँग रुसको विश्वका विभिन्न भागहरूमा टकराब चलिरहँदा क्षेत्रीय शक्तिहरूको साथ उसले पनि खोजेको छ ।

रुसले भारतलाई झन् झन् आफूनिकट ल्याउन सक्नुमा अमेरिकी नीति पनि कारण बन्यो । पाकिस्तानसँग भारतको हालै केही दिन युद्ध हुँदा अमेरिकी हतियारहरू प्रयोग भए । भारतले रुसी अत्याधुनिक हतियारको प्रयोग गरेको थियो त्यतिबेला । भारतले अमेरिकाबाट जुन साथ खोजेको थियो त्यो पाएन । बरु पाकिस्तानका सेना प्रमुख असिम मुनिरलाई ट्रम्पले ह्वाइट हाउसमा डाकेर लन्च बैठक नै गरे । ट्रम्प क्यानडामा भएको जी सेभेन बैठकमा मोदीलाई नभेटी वासिङ्टन फर्किए र उतै भेटका लागि आउन भने । मोदीले अस्वीकार गरी दिल्ली फर्किए । दुई नेताबीच लामो समय फोनवार्ता समेत भएन ।

यस्ता घटनाहरू भारत र चीनलाई नजिक्याउने कारण पनि बन्यो । मोदी सी चिनफिङसँग चीसो सम्बन्धमा आइसब्रेक गर्दै चीन पुगे । जहाँ पुटिनसहित तीन नेताको हाँसीमज्जासहितको भेटको दृश्य विश्वव्यापी चर्चा बन्यो । विश्व व्यवस्थामा बदलाव आइसकेको र कुनै एक देश विश्व शक्ति नरहेको सन्देश गयो । तथापि, अमेरिकासहित पश्चिमा शक्तिले आफ्नो प्रभाव विश्वभर देखाइरहे । विशेषगरी भारत र चीन जस्ता प्रभाव क्षेत्रमा पश्चिमाहरूको भूमिका विभिन्न शैलीमा देखिन थाल्यो ।

भारतको नजिकका देशहरूमा एकपछि अर्को गरी सत्ता परिवर्तनहरू भए । मालदिभ्स, श्रीलङ्का, बङ्गलादेश हुँदै नेपालसम्म सत्ता परिवर्तनसँगै सिङ्गो क्षेत्रमा राजनीतिक अस्थिरता बढ्ने खतरा देखिइरहेको छ । सत्तापलटका पछाडि अमेरिकासहित पश्चिमा शक्तिको भूमिकाको विषय उठिरहेको छ । अर्को रोचक घटना भारतले तालिवानहरुसँग सम्बन्ध स्थापित गरेको छ । तालिवानी विदेशमन्त्री हालैमात्र भारत भ्रमण गरे । जुन तालिवानलाई विगतमा अमेरिका र पाकिस्तानको साथ थियो अहिले त्यही तालिवान ती देशसँग घोषित अघोषित युद्ध लडिरहेको छ ।

अफगानिस्तानमा हवाई सैन्य अड्डा राख्ने अमेरिकी चाहनालाई रोकिरहेको छ । पाकिस्तानसँग सीमा युद्ध लड्न थालेको छ । जुन तालिवानले विगतमा रुसी सैनिकसँग लडेको थियो अहिले त्यही तालिवानको रुससँग विशेष सम्बन्ध छ । बलिया देशहरूले सम्बन्धहरू रणनीतिक स्वार्थ बमोजिम बनाउने गर्दछन् भन्ने उदाहरण हो यो । तर, यस्ता घटनाले दक्षिण एसियाको सिङ्गो राजनीतिलाई तरङ्गित पारिदिएको छ ।

बगलादेश युनुसको शासनकालमा भारतसँग जोरी खोज्न खोज्दैछ । पाकिस्तानसँग लडेर पूर्वी पाकिस्तान स्वतन्त्र भई बनेको बँगलादेशमा पाकिस्तान हावी हुन खोज्दैछ । यी सबै घटनाका पछाडि अमेरिकालगायत पश्चिमाहरूको भूमिका खुल्दै गएका छन् ।

भारत चाँडै विश्वको तेस्रो धनी देश बन्ने प्रक्षेपण भएसँगै उसले सैन्य शक्ति पनि मजबुत बनाउँदै लगेको छ । चन्द्रमामा यान अवतरण गराइसकेको भारतसँग अत्याधुनिक हतियारहरू पाकिस्तानसँगको छोटो युद्धका दौरान देखिइसकेको छ । उसको जनशक्ति पनि प्रभावशाली छ । भारतीय डायस्पोरा विश्वभर संगठित र बलियो मानिन्छ । तीव्र गतिमा आर्थिक र सैन्य शक्ति वृद्धि गरिरहेको भारत शक्तिराष्ट्रहरुको मित्र मात्र नभई प्रतिस्पर्धी पनि बन्दै गएको छ ।

यस कारण पनि उसलाई नयाँ खालका अवरोधहरु आइलागेको छ । त्यसको असर सिङ्गो दक्षिण एसियामा पनि देखिन थालिसकेको छ ।

सैन्य दृष्टिले विश्वका सबैभन्दा बलियो मानिएका अमेरिका र रुसको दक्षिण एसियाका क्षेत्रीय शक्तिहरुमार्फत् भूराजनीतिक प्रभाव बनाउने होडबाजी छ । यही होडबाजीका क्रममा पुटिन भारत पुगेर परम्परागत विशेष मित्रशक्तिसँग सैन्य प्रविधि आदानप्रदान, कच्चा तेल छूट मूल्यमा कारोबारको निरन्तरताको सन्देश दिएर फर्किए । यो घटनाले अमेरिकासहित पश्चिमा देशहरूले दक्षिण एसियामा चाल्ने कदमको प्रभावले अर्को तरङ्ग चाँडै नआउला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्