
नेपालको राजनीतिमा लोकतन्त्रको आडमा वर्षौँदेखि व्याप्त भ्रष्टाचार र कुशासनको विरुद्धमा पहिलो पटक जेनजी आन्दोलन भयो । जेनजी आन्दोलनबाट बढारिएका भ्रष्ट नेता र दलहरू सच्चिने अपेक्षा गरिए पनि त्यस विपरीत उनीहरूका गतिविधि सञ्चालित छन् ।
जेनजी विद्रोहको जग लामो समयदेखि सत्तामै रहेका पुराना दलहरूले तयार पारे पनि त्यसको मुख्य कारक भने तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अराजक र दमनकारी कार्यशैली नै हो । यदि जेनजीको मागप्रति ओली सकारात्मक भएको भए यो अवस्था नै निम्तिने थिएन । ओलीकै हठ र अहंकारी शैलीले मुलुककै सम्पूर्ण संरचना ध्वस्त भएर उनी स्वयंलाई हेलिकप्टरबाट भाग्न बाध्य गराउने अवस्था सिर्जित हुँदा पनि उनको हठ अझै उस्तै छ ।
अहिले उनै ओलीले जेनजी आन्दोलनलाई पूर्णतया नजरअन्दाज गर्दै आएका छन् । उनी नेतृत्वकै सरकारले दमन गर्दा एकै दिन १९ जना युवाले ज्यान गुमाएको घटनाप्रति कुनै प्रायश्चित नगरेरै आफूलाई निर्दोष साबित गर्न प्रयासरत छन् । उनले जेनजी आन्दोलनको मर्म विपरीतका अभिव्यक्ति दिँदै त्यसको उपेक्षा गर्नुले मुलुकलाई थप राजनीतिक अनिश्चयतर्फ लैजाने संशय बढाएको छ ।
ओलीले जेनजी विद्रोहको बलमा बनेको सुशीला कार्की सरकारलाई ‘हाहाहुहु…’को सरकार भन्दै लाञ्छना लगाउँदै आएका छन् । ओली विघटित संसद् पुनस्र्थापनाको पक्षमा उभिएर ‘कार्की सरकारलाई कसले बनाएको हो ?’ भन्दै जेनजी आन्दोलनमाथि प्रश्न उठाएर ठाडै उपेक्षा गरेका छन् । जुन अराजनीतिक तर्क र विचार हो । यही भनाइले पनि ओली राजनीतिक संस्कार भएका नेता होइनन् भन्ने पुष्टि हुन्छ ।
अर्कोतर्फ, जेनजी आन्दोलनबाट वालवाल ज्यान जोगाएका शेरबहादुर देउवा र आरजु राणाले समेत चेतेका छैनन् । कांग्रेसका नेताहरूले समेत जेनजी पुस्ताको मर्म र भावना अनुरूपका क्रियाकलापतर्फ अघि बढेको देखिँदैन । जेनजी आन्दोलन विद्यमान दलका सीमित नेतातन्त्रको विरुद्धमा केन्द्रित थियो । तर त्यसको मर्म अनुरूप दलहरू नेतृत्व पुस्तान्तरण र हस्तान्तरणप्रति कुनै चासो दिएका छैनन् ।
काँग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरेर उदारता प्रदर्शन गरेपनि अन्य दलहरूमा भने नेतृत्व छाड्ने कुनै सुरसार छैन । यद्यपि, काँग्रेसमा गगन थापाले आगामी महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताउँदै पुस्तान्तरणको आवाज मुखरित गरेका छन् ।
माओवादी केन्द्र र एकीकृत समाजवादी लगायत अन्य दर्जनौँ वाम घटक मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीमा समेत उनै पुरानै अनुहार दोहोरिएका छन् । मुलुककै पहिलो वामपंथी पार्टी एमालेको आसन्न महाधिवेशनमा उनै जेनजी विद्रोहका विरोधी ओली फेरि नेतृत्वमै तेहरिन लागिपरेका छन् ।
तिनै ओलीको कार्यकालमा उनकै अहंकारकै उपज मुलुकले बारम्बार संकट व्यहोर्दै आएको छ । यसअघि पनि उनकै प्रधानमन्त्रीत्वकालमा करिब दुई तिहाइ नजिकको संसद् विघटन गरेर मुलुकलाई अनिर्णयको बन्दी बनाउन खोजेका थिए । उनको दोस्रो प्रधानमन्त्रीत्व कालमा दुई पटक विघटन गरिएको संसद् सर्वोच्च अदालतले उल्टाइदिएर मुलुकलाई संवैधानिक मार्गमा फर्काएको थियो ।
अहिले ओली फेरि निरकुंश शैलीमा एमालेको नेतृत्वमा आउन भगीरथ प्रयत्न गरिरहेका छन् । उनले आफ्नो नेतृत्व कायम राख्न जस्तोसुकै हर्कत गर्न समेत तयार हुने उनका अभिव्यक्ति र घटनाक्रमले दर्साइरहेको छ । उनी आफैँले दसौँ महाधिवेशनबाट पार्टीमा लागू गरेको दुई कार्यकाल र ७० वर्षे उमेरहदको प्रावधान संशोधन गराएरै तेस्रो पटक अलोकतान्त्रिक तवरले नेतृत्वमा आउन खोजेका छन् ।
प्रधानमन्त्रीको कुर्सीमा हुँदा ओलीकै दमनले विध्वंसात्मक परिस्थिति सिर्जना भएकोमा त्यसको नैतिक जिम्मा नलिएर अराजनीतिक चरित्र प्रदर्शन गरेका छन् र फेरि एमालेका नेतृत्व गरेर पार्टी र देशलाई बरबादीको बाटोमा लैजान खोजेका छन् भन्ने कुरालाई बुझेरै एमाले र कम्युनिष्ट आन्दोलन जोगाउन विद्यादेवी भण्डारी, ईश्वर पोखरेलले ओलीविरुद्ध अध्यक्षमा उठ्ने घोषणा गरेका छन् ।
देश ध्वस्त हुँदासमेत ओलीले आफ्नो प्रधानमन्त्रीत्वकालमा निर्माण भएका भौतिक संरचना सामाजिक सञ्जालमा भिडियो बनाएर आफैँले बनाएको दाबी गर्दै आएका छन् । यो उनको दरिद्र मानसिकता हो । विकास भन्ने कुरा जो सत्तामा आए पनि निरन्तर अगाडि बढ्ने कुरा हो ।
प्रक्रियागत रूपमै भएका सकारात्मक कार्यको जस लिन अघि सर्ने उनले आफ्नै नेतृत्वको सरकार हुँदा जेनजी विद्रोहबाट उत्पन्न असामान्य परिस्थितिको नैतिक जिम्मा लिनुपर्छ । उनकै कारण मुलुकले यत्रो मूल्य चुकाउँदा पनि उनको अहंकार अझै साम्य भएको छैन । उनी फेरि पार्टी नेतृत्वमा दाबेदारी गरेर आफूसँगै एमालेको पतन गराउने दिशातर्फ अग्रसर भएका छन् ।
देशकै वाम राजनीतिको अगुवा शक्तिका रूपमा स्थापित एमालेको दुई कार्यकाल नेतृत्व गरिसकेका ओलीको पालामा पार्टी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका नेताहरू उनकै कार्यशैलीले लगालग पार्टी छाड्न बाध्य भएका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र भीम रावल लगायतका नेताहरू ओलीकै निरकुंश कार्यशैलीले बाहिरिन बाध्य भएका हुन् । यस बाहेक अहिले पनि पार्टीमा आफ्नो विकल्प खोज्नेहरू प्रति ओली असहिष्णु तवरले अघि बढ्न खोजेका छन् ।
उनले केही समयअघि आफू बोलेपछि महाधिवेशन सकिने बताउँदै पार्टीभित्रको फरकमतलाई निस्तेज पार्ने अभिष्ट प्रकट गरेका थिए । तर ओलीको एकाधिकारविरुद्ध पार्टी उपाध्यक्ष भइसकेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनौती बनेका छन् ।
ओलीले आफ्नो नेतृत्वमा बाधक हुने देखेरै पूर्वराष्ट्रपति भण्डारीलाई एमाले पुनरागमनमा रोक लगाएका थिए । ओलीकै निर्देशनमा उनको सदस्यता नवीकरणमा रोक लागेको थियो । ओलीको त्यस निरकुंश कदमको प्रतिवाद गर्दै एघारौँ महाधिवेशनमा भण्डारीले आफ्नो अघोषित उम्मेदवारको रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई अघि सारेकी छिन् ।
आसन्न महाधिवेशनमा सर्वसम्मत हुने अपेक्षा गरेका ओलीलाई वरिष्ठ उपाध्यक्ष पोखरेलले प्यानलै बनाएर अध्यक्षमा चुनौती दिएपछि अहिले ओली गुण्डुमा रन्थनिएर बर्बराहट गर्दैछन् । लाखौं नेता कार्यकर्ता र सहिदहरूको रगत पसिनाबाट सिंचित एमालेलाई आफ्नो ‘बपौती’ ठान्दै आफैँले बनाएको विधान संशोधन गर्दै तेस्रोपटक नेतृत्व हडप्ने प्रयत्न गरेका ओलीलाई पोखरेल र भण्डारीको अघोषित सहकार्यले बेचैनी पैदा गरेको छ ।
एउटा व्यक्तिको हठले सिर्जित प्रतिकूल परिस्थितिको भारी सँधै देशले थेग्न सक्दैन । यस अघि ओलीकै दम्भ, अहंकार र अराजकताले जेनजी आन्दोलन सुरु भयो । उनकै कारण छिमेकी देशहरू सँगको सम्बन्ध बिग्रिएको छ । जेनजी आन्दोलनले खर्बौँको क्षति भएको छ ।
अर्थतन्त्र डगमगाएको छ । राजनीतिमा नैतिकता हराएको छ । जताततै विचौलिया, दलालको बिगबिगी छ । यस्तो अवस्थामा ओलीको बहिर्गमन आजको माग हो । भ्रष्ट नेताकै कारण देश तथालिंग, भताभुंग भएका कारण खरानीबाट उठेर कम्युनिष्ट आन्दोलनलाई जोगाउन एमालेको नेतृत्व परिवर्तनको विकल्प छैन ।











