
मुलुकका दुई ठूला वाम दल माओवादी केन्द्र र एमालेबीच २०७४ को आम निर्वाचनमा सहकार्य गर्दै भएको पार्टी एकता असफल भएपछि त्यसयता वाम एकताको प्रयत्नले मूर्तरूप लिन सकेको थिएन । एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र निरकुंश कार्यशैलीले दुई पार्टी मिलेर बनेको नेकपा दुई वर्ष पनि टिक्न नसकेर विभाजित हुन पुग्यो ।
त्यसपछि वाम जनमत क्षत विक्षत भएर नेपालको कम्युनिष्ट आन्दोलन नै कमजोर बनिरहेको बेलामा फेरि पूर्ववत माओवादी केन्द्र र सोही एमालेबाट विभाजित एकीकृत समाजवादीसहित अन्य ससाना दर्जनौं वाम घटक समाहित भएर नेपाली कम्युनिष्ट पार्टी(नेकपा)बनेको छ । यो एकताले विगतमा विभाजित कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता र आम शुभचिन्तकहरूमा आशा जगाएको छ । यद्यपि, यसको परिणाम भने हेर्न बाँकी नै छ ।
तर विगतमा विभाजनको दुष्परिणामले निम्त्याएको अस्थिरताबाट सिर्जित जेनजी विद्रोहबाट पाठ सिकेर नै नेताहरूले यो एकता गरेको बताउँदै आफ्नो निर्दिष्ट भूमिकाबाट विमुख नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालको कम्युनिष्ट आन्दोलनका दुई फरक धारको संयोजनका रूपमा रहेको यसलाई कम्युनिष्ट आन्दोलकै मूल प्रवाहकै रूपमा समेत विश्लेषण गर्न थालिएको छ । चौम धारबाट उदय भएको माओवादी केन्द्र र झापा विद्रोहको नेतृत्वकर्ता कोअर्डिनेशन केन्द्र हुँदै मालेधारको प्रतिनिधित्व गर्ने एकीकृत समाजवादीबीचको एकतामा अन्य वाम घटक पनि सहभागी भएको छ ।
अहिले नेकपाको संयोजक रहेका पुष्पकमल दाहाल प्रचण्ड दश वर्षे सशस्त्र सङ्घर्षको नेतृत्व गर्दै मुलुकको वर्तमान गणतान्त्रिक व्यवस्थाको सूत्रधार हुन् । अर्का सहसंयोजक रहेका माधवकुमार नेपाल तिनै प्रचण्डलाई शान्ति प्रक्रियामा ल्याउने १२ बुँदे सहमतिका मुख्य योजनाकार हुन् ।
प्रचण्ड–माधव आजको शान्ति प्रक्रियाको वातावरण निर्माण गर्नेदेखि विस्तृत शान्ति सम्झौता हुँदै एमाले र माओवादी मिलेर बनेको नेकपामा समेत सहकार्य गर्दै आएका थिए ।
हाल सहसंयोजक रहेका नेपालले तत्कालीन एमाले महासचिवको हैसियतमा १२ बुँदे सहमतिको वातावरण निर्माण गर्न युद्धरत प्रचण्डसँग समन्वय र सहकार्य गर्दै मुख्य भूमिका निर्वाह गरेका थिए ।
उनकै अगुवाइमा दश वर्षे जनयुद्धका सर्वोच्च कमान्डरका रूपमा रहेका प्रचण्ड विद्रोही शक्तिको नेतृत्व गर्दै १२ बुँदे सहमति मार्फत शान्तिपूर्ण राजनीतिमा अवतरण गरेका हुन् । त्यही युद्धरत माओवादी र तत्कालीन सात दलबीचको सोही सहमतिकै आधारमा दुवै पक्षको संयुक्त संघर्षबाट लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हो । अहिले व्यवस्थामाथि नै संकट निम्तिएको बेला १२ बुँदे पक्षधर दुई शीर्ष नेताहरू एकताबद्ध भएर गणतन्त्रको रक्षार्थ उभिएका छन् ।
त्यसै कारण यसलाई गणतन्त्र स्थापनामा प्रमुख भूमिका खेलेका विगतकै सहयात्रीको एकताका रूपमा समेत चित्रण गरिएको छ । त्यति मात्रै होइन, यिनै नवगठित नेकपामा समाहित भएका अधिकांश नेताहरूले विगत नेकपाकालमा एउटै पार्टीमा रहेर ओलीले दुई दुई पटक गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्ध संघर्ष गर्दै अलग भएका थिए । यसले पनि यो एकतामा आबद्ध भएका प्रमुख दलका शीर्ष नेताहरू एउटै पार्टीमा रहँदा नेतृत्वको गलत कदम विरुद्ध संघर्ष र अलग दलमा हुँदा वर्तमान व्यवस्था प्राप्ति र त्यसको रक्षार्थ सहकार्य गरिसकेका परिपक्व नेताहरू हुन् ।
यसमा एमाले निर्माणमा योगदान गरेका बहुसंख्यक नेताहरूको समेत सहभागिता छ । माधव नेपालसहित झलनाथ खनाल एमालेको महासचिव र अध्यक्ष भइसकेका नेता हुन् भने वामदेव गौतम र भीम रावल लगायतका नेताहरू एमालेको नेतृत्वदायी तहमा रहेर जिम्मेवारी वहन गरेका नेता हुन् ।
यसरी नेपालको वाम आन्दोलनका दुई मुख्य घटकसहित अन्य ससाना वाम घटकहरूको एकताले विभाजित वाम आन्दोलनलाई पुनः एकताबद्ध बनाउँदै वर्तमान व्यवस्थाको रक्षा गर्ने नेता कार्यकर्ता र आम जनताले अपेक्षा गरेका छन् । विगतमा एमाले र माओवादीको एकता असफल हुँदा मुलुकले व्यहोरेको राजनीतिक अस्थिरताले निराश बाहुल्यता रहेको वामपंथी जनमतलाई आशावादी बनाउँदै संगठित गर्नुपर्ने प्रमुख दायित्व नेकपाको सामु छ ।
वाम एकताको बाधक रहेका केपी ओलीकै अहंकारले मुलुकले जेनजी विद्रोह भोग्यो भने कम्युनिष्ट आन्दोलन पनि विभाजित हुन पुग्यो । अहिले एमालेमा जारी ११ औं महाधिवेशनले ओलीको बहिर्गमन भए एमालेसँग पनि वृहत वाम एकताको वातावरण बन्ने नेताहरूले औँल्याएका छन् ।
विगतमा करिब दुई तिहाइ बहुमत सहितको एमाले र माओवादीको एकता दिगो भएर तत्कालीन नेकपा सरकारले जनपक्षीय काम गर्न सकेको भए अहिले जेनजी आन्दोलनबाट मुलुकले अपूरणीय क्षति बेहोर्दै प्रधानमन्त्री रहेका ओली हेलिकप्टरबाट भाग्नुपर्ने अवस्था निम्तिने थिएन ।
तर ओलीको हठ र एकाधिकारले त्यो वाम एकता टिक्न नसक्दा मुलुकमा राजनीतिक अस्थिरताको पुनरावृत्ति भएर जनताका अपेक्षामाथि कुठाराघात हुन पुग्यो । त्यसकै दुस्परिणामस्वरुप जेनजी आन्दोलनमार्फत जनआक्रोश प्रकट हुँदा मुलुकले ठूलो मात्रामा भौतिक र मानवीय क्षति व्यहोर्नुपर्ने विकराल स्थिति सिर्जना भयो ।
अहिले त्यही जेनजी आन्दोलनको बलमा गठित सुशीला कार्की नेतृत्वको नागरिक सरकारले फागुन २१ गते चुनाव घोषणा गरेको छ । गैर संसदीय प्रक्रियाबाट सरकार गठन भएर संविधान मरेतुल्य अवस्थामा छ । राजनीतिक तरलताले आगामी भविष्य अन्योलग्रस्त देखिन्छ । यस्तो जटिल परिस्थितिको सामना गर्दै वर्तमान संकटमोचनका लागि नवगठित नेकपाले चुनावको वातावरण बनाउन तयार हुनुपर्छ ।
माओवादीको दश वर्षे सशस्त्र संघर्ष र २०६२/६३ को जनआन्दोलनबाट मुलुकले प्राप्त गरेको गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समानुपातिक र समावेशीता संकटमा परेकाले त्यसलाई जोगाउन पनि निर्वाचनमार्फत मुलुकलाई संवैधानिक मार्गमा फर्काउनुपर्ने अहिलेको आवश्यकता हो ।
मुलुकमा व्याप्त विद्यमान संकटको निवारण निर्वाचनले मात्रै गर्न सक्ने भएकाले त्यसको लागि यथोचित वातावरण बनाउन जिम्मेवार राजनीतिक दलको हैसियतमा नेकपाले प्रमुख भूमिका खेलेर वर्तमान उपलब्धिको रक्षा गर्ने जिम्मेवारी खडा भएको छ ।
अर्कोतिर देश जेनजी आन्दोलनबाट थिलथिलो भएर अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । यसलाई लयमा फर्काएर मुलुकमा समाजवादको आधार तयार पार्ने दायित्व पनि नेकपाकै काँधमा छ । विगतका कमी कमजोरी सच्याउँदै मुलुकको वर्तमान समस्या समाधानमा केन्द्रित हुन सके मात्रै पार्टी एकता कामयावी हुन्छ ।
विगतमा दलहरुको सत्तालिप्साले राजनीतिक अस्थिरता निम्त्याएर लोकतन्त्र नै कुरूप बन्यो । त्यसकै उपज दलतन्त्रको आडमा व्याप्त भ्रष्टाचार र कुशासन विरुद्ध नवयुवाहरुले विद्रोह गरेका हुन् । यस तथ्यलाई गम्भीरतापूर्वक हृदयंगम गर्दै नवगठित नेकपाले विगतका कमजोरी सच्याएर आजका युवाहरूको भावना मुखरित गर्ने जनपक्षीय शक्तिका रूपमा आफूलाई रूपान्तरित गर्न सक्यो भने यो वाम एकता सार्थक हुने र आम जनताले वैकल्पिक वाम शक्तिका रूपमा स्थापित गर्ने सम्भावनालाई नकार्न सकिँदैन ।











