
म अहिले पोस्टपार्टम नामक यात्रामा छु । यो यात्रा बाहिरबाट देखिएजस्तो सरल छैन । न सिधा, न समतल । कहिले शरीरका टाँकाहरू च्यातिएर दुख्छ, कहिले मनभित्रका अदृश्य घाउहरू कारणविनै पोल्छ । कहिले आँखाभरि खुशीका आँसु भरिन्छन् । “म आमा भएँ” भनेर मनमनै प्रफुल्लित हुन्छु । कहिले यो सबै कसरी समालुँ भन्ने डरले भित्रभित्रै निसास्सिन्छु ।
अब मलाई थाहा भइसक्यो । यो बाटो न पूर्ण अँध्यारो छ, न त पूर्ण उज्यालो नै । यो त भावनाहरूले कोरेको एउटा अदृश्य नक्साजस्तो छ । जहाँ हरेक मोडमा नयाँ अनुभूति प्रतीक्षा गरिरहेको हुन्छ ।
कहिले असह्य रूपमा धड्किरहने शरीर, कहिले स्तनपानको पीडा, कहिले छुट्टिन नमान्ने थकान यी सबैले थिचिरहन्छन् । तर, यिनै पीडाका क्षणहरूबीच जब त्यो सानो, न्यानो हातले मेरो औँला समातिदिन्छ, मनले सबै दुख र बोझ चुपचाप बिर्सिदिन्छ ।
हुन त यो यात्रामा म एक्ली हिँडेकी छैन । असंख्य महिलाहरूले यो कठिन बाटो पार गरेका छन् । तर हरेक महिलाको आ–आफ्नै नियति हुन्छ, आ–आफ्नै संघर्ष हुन्छ । र, “हामीले त यसरी ग¥यौँ, यति कुरा तिमीले नसक्ने हुन्छ र ?” भन्ने शब्दहरूले भित्रभित्रै आत्मालाई गलाइरहेको छ ।
यो समय साँच्चै नै कठिन छ । किनकि यहाँ शरीर मात्र होइन, आत्मा पनि निरन्तर परीक्षामा छ । पोस्टपार्टमको वास्तविकता देखिने घाउहरूभन्दा फरक हुन्छ । यो कसैले नबुझ्ने, कसैले नदेख्ने भित्रभित्रै उर्लिरहने भावनाहरूको आँधी रहेछ । यस्तो अवस्थामा परिवारबाट आउने “तिमी थाकेको छ्यौ, तिमीलाई पनि आराम चाहिन्छ, थोरै विश्राम गर” जस्ता साधारण शब्दहरूले मनको भारी एकाएक हलुका पारिदिन्छन् ।
यो केवल शरीरको बोझ मात्र होइन, मनको बोझ झन् भारी बनेको समय हो । कहिले त आफूलाई नै चिन्न नसकिने क्षणहरू आउँछन् । पहिलेजस्तो ऊर्जा छैन, आत्मविश्वास छैन । “म ठीक छु” भनेर आफैँलाई ढाडस दिन मनले पनि मान्दैन !
जीवनभर कहिल्यै “म व्यर्थ रहेछु, केही गर्न सकिनँ, म किन यस्तो भएँ ?” भन्ने प्रश्नले नछोएको मनलाई अहिले यिनै प्रश्नहरूले बेलाबेला घेर्छन् र चुपचाप रुवाइदिन्छन् ।
तर यिनै अशान्त, कमजोर क्षणहरूले नै एक आमाको हृदयलाई अझ गहिरो बनाउँदै लैजान्छन् । जब थकानबीच पनि म आफ्नो सन्तानलाई हेरिरहन्छु । उसको सानो सास, सानो मुटुको धड्कन, मेरो अनुहार खोज्दै उसले दिने त्यो निस्कलुष मुस्कान । यी सबै पलहरू मातृत्वका सबैभन्दा पवित्र संगीतजस्ता लाग्छन्, जहाँ पीडा, डर र आँसुले मायाको लय हालेर गुनगुनाउँछन् ।
प्रसूति पछिको यात्राः दाम्पत्य सम्बन्धको मौन परीक्षा
मेरी आमा मेरो जीवनको आधारस्तम्भ हुनुहुन्छ । उहाँले दिनुहुने माया र त्याग सायद कुनै शब्दले मापन गर्न सक्दैन । यो यात्रामा उहाँले जसरी मलाई माया गर्नुभयो, त्यसको बदलामा दिन मसँग जीवनभर केही पनि पर्याप्त हुने छैन ।
“तँ सुत, म बच्चा सुताउँछु” भन्ने सरल वाक्यमा कति गहिरो माया लुकेको छ । नजिक हुँदा साथ । टाढा हुँदा घण्टैपिच्छे फोन । ‘के खाइस् ? आराम गर’ भन्दै सम्झाइरहने त्यो निरन्तर केयरले मलाई मातृत्व मात्र होइन, मायाको अर्थ पनि सिकाइरह्यो ।
लाग्थ्यो– आमाले जति मलाई कसैले बुझ्न सक्दैन, कसैले सम्हाल्न सक्दैन । तर यो यात्रामा मेरो श्रीमानले कहिल्यै एक्लो महसुस गराउनुभएन । थकित हुँदा उहाँका हातले बच्चा समातेका ती पलहरू, आँखाले “म छु” भनेर ढाडस दिने मौनता । एकछिन भएपनि एक–अर्काको काखमा शिर राखेर बस्ने ती मौन क्षणहरू । यिनैले मलाई “म सक्छु, मेरो अस्तित्व मेटिएको छैन’ भन्ने आभास दिनेरहेछ ।
प्रेम बुट्यानमा फूलझैँ फूल्ने दाम्पत्यको जग पनि समयसँगै परिपक्व हुँदै जाँदो रैछ । तर, दाम्पत्य सम्बन्धमा आउने सबैभन्दा गहिरो परीक्षा भनेको प्रसूति–पछिको यात्रा हो । यो यात्रा केवल आमाको मात्र होइन । दुवैको धैर्य, बुझाइ, समर्पण र विश्वासको मौन परीक्षा पनि हो ।
सन्तानको आगमनसँगै जीवनमा नयाँ रंग थपिन्छ । तर त्यही रंगसँगै थकान, जिम्मेवारी, संवेदनशीलता र चुनौतीहरूको पहाड पनि ठडिन्छ । प्रसूतिपछिको समय दाम्पत्यको पुनर्जन्म रहेछ । दाम्पत्य सम्बन्धको मौन परीक्षा भनेको पीडाको बीचमा हात नछाड्नु, साथ निभाइरहनु, आँसु र तनावका बीचमा पनि एक–अर्कालाई “तिमी एक्लै छैनौँ” भन्न सक्नु हो । यो समय दुवैका लागि कठिन हुन्छ, तर यही कठिनताले प्रेम, समझदारी र जिम्मेवारीलाई फरक स्तरमा पु¥याउँछ ।
नदेखिएर पनि रातकी रानीले पर–परसम्म सुगन्ध छरेझैँ मेरो काखमा मुस्कानका बहार छर्ने सन्तानलाई निहाल्दा ती मुस्कान हिमालको काखजस्तै शीतल र शान्त लाग्छन् । यिनै दुःख र पीडाको लामो यात्रापछि पाएको एउटा मिठो शब्द– आमा । जुन नारीको सौभाग्यको कुरा हो ।
सम्झन्छु– प्रेम पहिले हाम्रो लागि हासो–मजाक, सङ्गत र रोमान्स मात्रै थियो । तर जब बुझे प्रेमको परिभाषा नै बदलियो । अहिलेको प्रेम अब केवल अनुभूति होइन, यो जिम्मेवारी हो । साथ हो । सहयोग हो । धैर्य हो । र, यी सबैबीच चुपचाप बगिरहने अटुट प्रतिबद्धता हो ।
अन्त्यमा,
पोस्टपार्टमको यात्रा केवल शारीरिक निको हुने प्रक्रिया मात्र होइन । यो आमाको मन, आत्मा र पहिचानको गहिरो पुनर्निर्माण हो । यस यात्रामा पीडा, डर, थकान र आत्मसंशय छन्, तर त्यहीँसँगै असिम माया, शान्ति र अर्थ पनि छन् । यही कठिन यात्राले आमालाई कमजोर होइन, अझ संवेदनशील, गहिरो र प्रेमले भरिएको बनाउने रैछ ।











