Logo
Logo

पार्टीमा सम्मानजनक व्यवहार नभए परिणाम अप्रिय हुने पोखरेलको चेतावनी


1.5k
Shares

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीभित्र सबै तहका नेता–कार्यकर्तासँग सम्मानजनक व्यवहार सुनिश्चित नभए त्यसका परिणाम अप्रिय र नोक्सानदायी हुन सक्ने चेतावनी दिएका छन् ।

११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग पराजित भएपछि देखिएका प्रतिक्रिया र चर्चालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत अनावश्यक भ्रम र तरंग सिर्जना नगर्न भनेका हुन् ।

उनले महाधिवेशनबाट भएका संस्थागत निर्णयको पालना सबैको कर्तव्य भएको स्पष्ट पारेका छन्। तर, निर्णयको पालना भन्दै नेता–कार्यकर्ताबाट आत्मसमर्पण अपेक्षा गर्नु गलत हुने उनको भनाइ छ । ‘सबैले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन्,’ उनले भनेका छन् ।

पोखरेलले विगतमा पार्टीभित्रको आन्तरिक विवादले एमालेले भोग्नुपरेका नकारात्मक अनुभवको स्मरण गराउँदै त्यसै किसिमको अवस्था दोहोरिन नदिन नेतृत्व गम्भीर हुनुपर्ने बताएका छन् । संस्थागत रूपमा भएका निर्णयको विरोधमा कुनै गतिविधि नहुने दाबी गर्दै उनले व्यवहारमा काखा–पाखा देखिए असन्तुष्टि स्वाभाविक रूपमा व्यक्त हुने धारणा राखेका छन ।

उनका अनुसार यसपटक नेतृत्व चयनमा सर्वसम्मति बन्न नसक्नुका पछाडि नेतृत्वबाट ठोस पहल नहुनु पनि एउटा कारण हो । यसले कतिपय प्रतिनिधिहरूमा नेतृत्वबाट योजनाबद्ध रूपमा केहीलाई विदा गर्न खोजिएको हो कि भन्ने प्रश्न पैदा गरेको उनको संकेत छ ।

महाधिवेशनका क्रममा समूहगत प्रतिस्पर्धा भए पनि पार्टी जीवनको लोकतान्त्रिकरणजस्ता नीतिगत मुद्दा खुलेर उठाइएको पोखरेलको भनाइ छ । ती विषय ‘अवधारणा पत्र’का रूपमा सार्वजनिक गरिएको र बन्द सत्रमा औपचारिक रूपमा प्रस्तुत भइसकेकाले लुकाउनुपर्ने केही नरहेको समेत उनले बताएका छन् ।

पोखरेलले पार्टी एकतालाई बलियो बनाउन सबै तहबाट जिम्मेवार व्यवहार आवश्यक रहेको बताएका छन् । विधि र प्रक्रियाबाट भएका निर्णयको निशर्त पालना, पार्टी विभाजनको सशक्त विरोध र सबै कार्यकर्ताको स्वाभिमान तथा आत्मसम्मानको संरक्षण अहिलेको मुख्य आवश्यकता भएको उनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्