
काठमाडौं । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल रहेको राजनीतिक संवाद टोलीले केहि बेरअघि सानेपा पुगेर जेनजी आन्दोलनका क्रममा आगजनी भएको कांग्रेस पार्टी कार्यालय अनुमगन गरेको हो । सरकारी टोलीले आसन्न निर्वाचनको वातावरण बनाउने विषयमा पनि कांग्रेस नेताहरूसँग छलफल गरेको छ ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कांग्रेस, एमाले, तत्कालीन माओवादी केन्द्र लगायत राजनीतिक दलका कार्यालय, नेताहरूका निवास, सिंहदरबार, संसद् भवन, अदालत, प्रहरी कार्यालय, सपिङ मल र निजी व्यावसायिक प्रतिष्ठानहरूमा आगजनी भएको थियो ।












