सङ्खुवासभा । यहाँको सिलिचोङ गाउँपालिका-३ का बालकिशोर कुलुङ मुलुकको व्यवस्था र अवस्था बदल्न तीन दशकअघि माओवादी विद्रोहमा सामेल भएका थिए । २०५२ साल फागुन १ गतेदेखि सुरु भएको ‘जनयुद्ध’मा क्रान्तिको विगुल फुक्दै हिँडेका कुलुङले करिब एक दशक माओवादी आन्दोलनको अग्रमोर्चामा बिताए ।

मुलुकमा गणतन्त्र आएपछि केही परिवर्तन होला भन्ने उनलाई लागेको थियो । त्यसपछिका दुई दशकमा भित्ताको पात्रो फेरिने बाहेक जनताले महसुस गर्ने परिवर्तन कुलुङले देख्न पाएनन् । मुलुकमा बढ्दो भ्रष्टाचार, अनियमितता र कुशासनको ग्राफ उस्तै गरी बढ्यो ।
त्यसो त उनी भूमिगत राजनीतिक यात्रालाई विराम लगाउँदै पारिवारिक जीवनमा फर्किए । राजनीतिक परिवर्तन सफल भए पनि जनताको अवस्थामा सोचेजस्तो परिवर्तन नहुँदा क्रान्ति पुनः जन्मिन्छ भन्ने उनलाई लाग्ने गर्थ्यो । भइदियो पनि त्यस्तै । आफूले लडेर ल्याएको राजनीतिक परिवर्तनको जगमा आफ्ना सन्तानले कुनै न कुनै दिन फेरि समृद्धिको ढोका उघार्लान् भन्ने अटल विश्वास थियो उहाँमा ।
सायद कुलुङको रगतमै चेतनाको बीज पोखिएको हुनुपर्छ । मुलुकको बिग्रँदो अवस्था देखेर कुलुङका छोराहरु पनि निकै चिन्तित देखिन्थे । सामाजिक सञ्जालमा हुर्किएको र विश्वपरिवेश बुझेका युवा पुस्ता मुलुकको पछिल्लो अवस्थाप्रति सन्तुष्ट थिएनन् । मुलुकमा बढ्दो भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, निष्क्रिय पारिएको सामाजिक सञ्जाल सक्रिय पार्नुपर्ने, जनताप्रति सरकारको जवाफदेहीतालगायत माग राख्दै जेनजीले गत भदौ २३ गते भद्र विरोध प्रदर्शन आयोजना गरे ।
सो आन्दोलनमा बालकिशोरका माइला छोरा प्रविण पनि होमिए । प्रवीणलाई लाग्यो राजनीतिक परिवर्तनमा बुबाको योगदानलाई संस्थागत गर्न पनि आफू आन्दोलनमा होमिनुपर्छ । त्यसपछि मात्र मुलुकमा आर्थिक समृद्धि स्थापना गर्न सम्भव हुन्छ ।
भदौ २३ गते प्रविण र उहाँका भाई मौसम दुवैजना विरोध प्रदर्शन क्षेत्रमा सहभागी भए । प्रदर्शनस्थलमा एकाएक गोली चलेपछि दुवैजना सुरक्षित स्थलतर्फ लागे । कैयौँले आँखै अगाडि ज्यान गुमाए । त्यसदिन प्रविण र भाई मौसम दुवै जना सकुशल कोठामा फर्किए । तर अघिल्लो दिनको दृश्यले उनीहरूलाई झनै छटपटी भयो । डरत्रासले रोकिने अवस्था रहेन । झनै आन्दोलनमा सहभागी हुने जोश पलायो । आन्दोलनमा राज्यपक्षबाट भएको बल प्रयोग र त्यसबाट भएको मानवीय क्षतिले दाजुभाईलाई नै मर्माहत बनायो । २४ गते बिहानै दाजुभाई पुनः आन्दोलमा सडकमा ओर्लिए ।
गौशालमा भएको आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर २१ वर्षीय दाजु प्रविण ढले । भाई मौसमले अन्य साथीको सहयोगमा अस्पताल पु¥याउँदा प्रविणले ज्यान गुमाइसकेका थिए । प्रविणको दायाँ छातीमा गोली लागेको थियो । भाई मौसमले दाजुको निधनको खबर लुकुवा गाउँमा रहेका आमाबुबालाई सुनाए ।
ज्यान हत्केलामा राखेर देशका लागि लड्नुभएका बालकिशोरलाई छोरा सहिद भएपछि परेको पीडा मापन गर्ने कुनै यन्त्र छैन । ‘मैले पनि देशकै लागि भनेर लडेँ, छोरा पनि देशकै लागि सहिद भयो, अब कहिलेसम्म नेपालीले देशका लागि भनेर लडिरहनु पर्ने हो ?’, बालकिशोरले प्रश्न गर्दै भने, ‘देशमा आमूल परिवर्तन ल्याएर अब कसैले पनि बलिदानी गर्न नपरोस् ।’
लाउने खाने उमेरमा छोरो गुमाउनु परेपछि बुबा बालकिशोरका आँखा अझैँ ओभाएका छैनन् । बालकिशोर दम्पती पुत्र वियोगको असह्य पीडामा छन् । प्रविणलाई सरकारले सहिद घोषणा गरिसकेको छ । तर, छोराको सपनाको पूरा हुन्छ कि हुन्न भन्ने चिन्ताले सधैँ बालकिशोरलाई सताउने गरेको छ । जेनजी आन्दोलनको नेतृत्व गरेकाहरू अहिले विभिन्न गुटमा विभाजित भएको देख्दा उनको मन खिन्न हुने गर्छ ।
सहिदका सपना पूरा गर्न सहिद परिवारबीचको एकता अपरिहार्य भएको बालकिशोरको भनाइ छ । ‘सहिदले उठाएको मुद्दा सम्बोधन र सपना पूरा हुनुपर्छ’, उनले भने, ‘राज्यले राहत दिने मात्रै होइन, सहिदका सपना पनि पूरा गर्नुपर्छ ।’
कोरिया जाने प्रविणको सपना
प्रविण एक वर्षअघि मात्र कोरियन भाषा पढ्न काठमाडौँ गएका थिए । उनले भाषा परीक्षा पास गरेर कोरिया जाने र पारिवारिक समृद्धि भित्र्याउने योजना बनाएका थिए । जेनजी आन्दोलनमा प्रविणको निधन भएपछि बुबा बालकिशोर र आमा मालतीको सपना ढलेको छ ।
प्रविणका कान्छा भाइ मौसम भन्छन्, ‘दाजुले जुन चाहनाले देशका लागि बलिदान दिए, सहिदको सपना पूरा गर्न सरकार र सम्बद्ध पक्षले ध्यान दिनुपर्छ ।’
प्रविणका बुबाआमा गाउँमै खेती किसान गर्दै आएका छन् । सहिद कुलुङको गाउँ लकुवा सदरमुकाम खाँदबारीबाट एक दिनको पैदल दूरीमा पर्दछ । सरकारले सहिद घोषणा गरेपछि सिलिचोङ गाउँपालिकामा निर्माणाधीन अपर सङ्खुवा जलविद्युत् आयोजनाले उहाँको परिवारलाई एक लाख ७४ हजार ३०५ रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।
प्रविणको गत असोज १ गते सिलिचोङ-३ स्थित लकुवामा अन्त्येष्टि गरियो । मृत्यु भएको १० दिन पछि नेपाली सेनाको हेलिकोप्टरमार्फत विराटनगर हुँदै उनको शव सिलिचोङ ल्याइएको थियो । सिलिचोङ गाउँपालिकाको केन्द्र ताम्कुमा कुलुङको पार्थिव शरीरमा पालिका अध्यक्ष भूपालराज मेवाहाङले राष्ट्रिय झण्डा ओढाएर सम्मान अर्पण गरेका थिए । त्यसपछि कुलुङको शव यात्रासहित जन्म गाउँ लकुवामा लगेर अन्त्येष्टि गरिएको हो ।
बालकिशोरका छोरामध्ये प्रविण माइला हुनुहुन्थ्यो । जेठो छोरा नेपाली सेनामा कार्यरत छन् । लकुवामा २०६० असोज ९ गते जन्मिनुभएका प्रविणले गाउँकै सगरमाथा माध्यमिक विद्यालयबाट कक्षा १० र काठमाडौँको पुष्पलाल क्याम्पसबाट कानुन विषयमा कक्षा १२ उतीर्ण गरेका थिए । उनी हाल स्नातक तह पहिलो वर्षमा अध्ययनरत थिए ।
दुवै पुस्ता विद्रोही चेतले भरिएको कुलुङ परिवारको तेस्रो पुस्ताले भने देशका लागि बलिदानी दिनु नपरोस् भन्ने बालकिशोरका परिवारका अन्य सदस्यको चाहना छ ।












