Logo
Logo
सम्पादकीय

संकटको निकासः एक वाम, एक ठाम


1.5k
Shares

एमाले अध्यक्ष केपी शर्मा ओली हठ, अहंकारले देशमा उथलपुथल मात्र भएको छैन, त्यसले एमाले स्वयंलाई कमजोर बनाउँदै लगेको छ । पुष्पलालले स्थापना गरेको मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताले हाँकेको एमाले ओलीकालमा आएर दोबाटोमा उभिनुपर्ने अवस्था आएको छ ।

जतिपटक अध्यक्ष, जतिपटक प्रधानमन्त्री भए पनि ओलीले आफ्नो स्वभाव परिवर्तन नगर्दासम्म कम्युनिष्टबीचको सहकार्य सम्भव छैन । ओलीको हठ, अहंकारकै कारण ०७४ सालमा ल्याएको दुई तिहाइ मत खेर गयो । माओवादीसँगको गठबन्धन टुट्यो । नेता–नेताबिच अविश्वासको खाडल चुलियो । त्यसको परिणाम नेपाली जनताले ०७९ को निर्वाचनमा देखाइदियो ।

०७९ को निर्वाचनसम्म आइपुग्दा एमाले दुईतिहाइबाट दोस्रो ठूलो दलमा मात्र सीमित भएन, एकीकृत समाजवादी पार्टीसँगको प्रतिस्पर्धामा करिब ३० सिट गुमाउनुप¥यो । यस कोणबाट विश्लेषण गर्ने हो भने एकतामा बल हुन्छ भन्ने कुरालाई मनन गर्नैपर्छ । वामपन्थीहरुबीच हरेक मोर्चामा सहकार्यको संस्कृति विकास गर्नैपर्छ । फागुन २१ को निर्वाचन वामपन्थीहरूबिच सहकार्य हुने अवसर पनि हो । त्यसलाई गुम्न दिन हुँदैन ।

जेनजी विद्रोहपछि अहिले देश संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । यो अवस्थाबाट देशलाई माथि उठाउने भनेकै कम्युनिस्टहरूले हो । नेपालमा लोकतन्त्रको स्थापनादेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न समेत कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरूले संघर्ष, बलिदानी दिएका छन् ।

नेपाली जनताले आज जुन अधिकार उपभोग गरिरहेका छन्, त्यसमा कम्युनिष्ट पार्टीको ठूलो योगदान छ । यो कुरालाई कम्युनिष्ट नेताहरूले बिर्सँदा कम्युनिष्ट नेताहरूप्रति सामाजिक सञ्जालमा आलोचना, प्रहार बढ्दो छ । यसबाट कम्युनिष्ट नेता र आन्दोलनलाई जोगाउने भनेको कम्युनिष्ट कार्यकर्ताहरूले हो । तर दुर्भाग्य, नेताहरूका कारण कार्यकर्ताहरू विभाजित भएका छन् । फलामे अनुशासनमा बाँधिनुपर्ने कार्यकर्ता सामाजिक सञ्जालमा अराजक भएर प्रस्तुत हुने गरेका छन् । कम्युनिष्ट भनेको केवल सिद्धान्त, विचारमात्र होइन, त्यसबमोजिमको आचरण पनि हो । सादा जीवन, उच्च विचार, उच्च नैतिकता कम्युनिष्टहरुको गुण हो । यसबाट च्युत हुँदा कम्युनिष्ट आन्दोलनमाथि अनेकौँ चुनौती थपिएका छन् ।

यो चुनौतीसँग मिलेर सामना गर्ने बेला आएको छ । जेनजी विद्रोहले निम्त्याएको पृष्ठभूमिमा फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । त्यस निर्वाचनका लागि वैकल्पिक शक्तिका रूपमा नयाँ पार्टीहरू एकजुट भएका छन् । वैकल्पिक शक्ति भन्नुको अर्थ गैरकम्युनिष्ट हुन्, अझ भन्ने हो भने ‘पपुलिज्म’ हुन् ।

कम्युनिष्ट नेताहरू आफ्नो आचरणबाट च्युत हुँदै गएका कारण ‘पपुलिष्ट’ नेता जन्मिएका हुन् । तर, यो शक्ति परिक्षणको घडीमा छ । यिनीहरूको चर्चा क्षणिक हो । यसो भन्दैमा वैकल्पिक शक्ति कमजोर हुने होइन, तर देशमा पुराना पार्टीहरू विस्थापित हुँदै जाने हो र वैकल्पिक धारले सत्ता हातमा लिने अवस्था आउनु भनेको कम्युनिष्ट आन्दोलन कमजोर हुँदै जानु हो ।

कम्युनिष्टहरु नै सच्चा देशभक्त, क्रान्तिकारी र लोकतन्त्रवादी हुने भएकोले केही नेताका कारण अहिले कम्युनिष्ट आन्दोलन कमजोर भएजस्तो देखिए पनि कम्युनिष्ट शक्ति एक ठाउँमा उभिँदा मात्र देशले निकास पाउँछ भन्ने कुरा इतिहासले पुष्टि गरेको छ । चाहे आसन्न राष्ट्रियसभाको निर्वाचन होस्, चाहे फागुन २१ को निर्वाचन नै किन नहोस्, जनताको चाहना एक वाम एक ठाम हो ।

प्रतिक्रिया दिनुहोस्