काठमाडौं । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता बमोजिम यो प्याक सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात प्याक लिएर यसको फाइदा लिन सक्छन् । पुस २६ बाट सञ्चालनमा आएको यो प्याकको मूल्य करसहित मात्र २९९ रुपैयाँ तोकिएको छ ।
यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट ईसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन् ।
‘ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन्, जसअन्तर्गत प्रति मिनेट मात्र १ रुपैयाँमा कल गर्न सकिन्छ’ एनसेलले एक विज्ञप्तिमार्फत भनेको छ ‘त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन् ।’
एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा १९ रुपैयाँमै प्रदान गरिने र प्रयोगकर्ताले यो डेटा फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ ।
युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्नु पर्दछ । आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिन्छ ।












