Logo
Logo

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न


441
Shares

काठमाडौँ । नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ समूहलाई स्वागत गरेको छ । बैंकले सोमबार बिहान आयोजना गरेको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौँ समूहका सहभागीलाई औपचारिक बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो ।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका चौथो र पाँचौँ समूहका ४० जना सहभागीलाई कार्यक्रमका अध्यक्ष नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल तथा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले प्रमाणपत्र वितरण गरेका थिए । सो अवसरमा छैटौँ समूहका २० जना सहभागीलाई औपचारिक रूपमा स्वागत गरिएको थियो । कार्यक्रममा फेलोसिपमा सहभागी सामाजिक उद्यमीहरूले उत्पादन गरेका वस्तु तथा सेवाको प्रदर्शनीसमेत गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष पौडेलले नबिल एसएसईले युवाहरूलाई उद्यममार्फत नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास र वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । नबिल एसएसईका प्रशिक्षार्थीहरूले हालसम्म देशभर १७ हजार रोजगारी सृजना गरिसकेको उल्लेख गर्दै उनले कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए ।

कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. खड्ग केसीले नबिल बैंकले सुरु गरेको यो कार्यक्रम समाजका लागि उदाहरणीय रहेको उल्लेख गरे । त्रिभुवन विश्वविद्यालयलाई यस कार्यक्रममा सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै उनले आगामी दिनमा पनि सहकार्यलाई अझ सशक्त रूपमा अघि बढाउन विश्वविद्यालय तयार रहेको स्पष्ट पारे ।

नबिल बैंकका सञ्चालक निर्वाणकुमार चौधरीले पाँच वर्षअघि सुरु गरिएको कार्यक्रममा सहभागी सबैलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गरे । सुरुमा नबिल बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा मात्र सीमित रहेको कार्यक्रम अहिले विभिन्न सरोकारवाला निकायको साझा अभियान बनेको उनको भनाइ थियो ।

“पाँच वर्षको निरन्तर यात्रामा करिब २०० उद्यम स्थापना भई १७ हजारभन्दा बढी रोजगारी सृजना भएका छन् । आज यो कार्यक्रम बैंक र विश्वविद्यालयको मात्रै नभई सबैको साझा कार्यक्रम बनेको छ,” उनले भने । चौधरीले यो यात्रा अझ लामो रहेको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सरोकारवालाप्रति आभार व्यक्त गरे ।

त्रिभुवन विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका निर्देशक डा. गोविन्द तामाङले नबिल एसएसईको सुरुदेखि हालसम्म सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । नबिल बैंकसँगको सहकार्य सन् २०२८ सम्मका लागि विस्तार गरिएको जानकारी दिँदै उनले यो कार्यक्रम कक्षाकोठामा सीमित नभई व्यवहारिक र अनुभवमा आधारित रहेको उल्लेख गरे । सामाजिक उद्यमी बन्न चाहनेहरूका लागि नबिल एसएसईको फेलोसिप कार्यक्रम सशक्त माध्यम बनेको उनको भनाइ थियो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले स्वागत मन्तव्य दिँदै बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक उद्यमशीलतामा जोड दिँदै आएको र उद्यमशीलतामार्फत मुलुकको विकासमा योगदान पुर्‍याउँदै आएको बताए ।

नबिल बैंकले मुलुकभर सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यसहित सन् २०२१ नोभेम्बर २६ देखि ‘नबिल एसएसई’ सुरु गरेको हो । नवप्रवर्तनशील सोचको विकास, समावेशी उद्यम प्रवर्द्धन तथा सामाजिक उद्यमीलाई प्रशिक्षण, सञ्जाल र सहायताको व्यवस्था गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन हुँदै आएको छ ।

नबिल बैंकले त्रिभुवन विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा छ महिनासम्म सञ्चालन हुने फेलोसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । फेलोसिप अवधिमा सहभागीहरूले प्रत्येक महिना तीन दिन आवासीय प्रशिक्षण लिनेछन् भने बाँकी समय आफ्नै कार्यस्थलमा उद्यम सञ्चालन गर्नेछन् । तालिम अवधिभर मेन्टरको व्यवस्थामार्फत व्यवसाय सञ्चालनमा आइपर्ने व्यवहारिक चुनौती समाधानमा सहयोग प्रदान गरिन्छ । हालसम्म फेलोसिप कार्यक्रमअन्तर्गत ९६ जना सामाजिक उद्यमी सहभागी भइसकेका छन् । उनीहरूले ६२ उद्यम सञ्चालन गरी १४ हजार पाँच सयभन्दा बढी रोजगारी सृजना गरिसकेका छन् ।

त्यस्तै, नबिल बैंकले देशभरका १० वटा शैक्षिक संस्थामार्फत नबिल एसएसई सर्टिफिकेट कोर्स सञ्चालन गर्दै आएको छ । सातै प्रदेशबाट १ हजार ६९ जनाले यसबाट लाभ लिइसकेका छन् । उनीहरूले १३१ उद्यम सञ्चालन गरी दुई हजार पाँच सयभन्दा बढी रोजगारी सृजना गरेका छन् ।

नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंकमध्ये एक हो । सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित बैंकले विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । नबिल एसएसईमार्फत सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजनाका माध्यमबाट दिगो विकासमा योगदान पुर्‍याउने प्रतिबद्धतालाई नबिल बैंकले आफ्नो प्रमुख प्राथमिकताका रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्