Logo
Logo

अछामको मैदानमा भीम रावलको विरासत जोगिएला ?


1.1k
Shares

काठमाडौं । अछाम क्षेत्र नं. १ को चुनावी मैदान यसपटक निकै रोचक र पेचिलो बनेको छ । वि.सं. २०४७ सालदेखि नै राष्ट्रिय राजनीतिमा आफ्नो दह्रो उपस्थिति जनाउँदै आएका डा. भीम रावल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुनः चुनावी मैदानमा उत्रिएका छन् ।

संसदीय राजनीतिका पुराना खेलाडी रावलका लागि यो निर्वाचन केवल पद प्राप्तिको लडाइँ मात्र होइन, बरु उनको राजनीतिक पुनर्जीवन र जनमतको कठिन परीक्षा पनि हो । २०५१ सालयताका निर्वाचनमा एकपटक उम्मेदवार नभएका र एकपटक मात्र पराजय भोगेका रावलले कुल पाँचपटक अछामबाट जितको स्वाद चाखिसकेका छन् । तर, यसपटक परिस्थिति फेरिएको छ; न उनीसँग उनको पुरानो घर नेकपा एमाले छ, न त परिचित ‘सूर्य’ चिह्न नै ।

उनको यो यात्राको पृष्ठभूमि निकै उतारचढावपूर्ण छ । २०३० सालदेखि विद्यार्थी राजनीतिबाट उदाएका रावल एमालेको स्थापनाकालदेखिकै प्रभावशाली नेता थिए । तर, नेकपाको विभाजन र एमालेभित्रको आन्तरिक द्वन्द्वका क्रममा अध्यक्ष केपी ओलीसँगको वैचारिक टक्करले उनलाई पार्टीको किनारामा पु¥यायो ।

चितवन महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग पराजित भएपछि पार्टीभित्र उपेक्षित बनेका रावलले लगातार नेतृत्वको आलोचना गरिरहे । अन्ततः २०८० पुस १० गते उनलाई एमालेबाट निष्कासित गरियो । केही समय ‘मातृभूमि जागरण अभियान’ मार्फत सक्रिय रहे पनि त्यो खासै प्रभावकारी हुन सकेको थिएन । तर, मुलुकमा ‘जेनजी’ आन्दोलनको प्रभाव र माओवादी केन्द्र तथा एकीकृत समाजवादीबीचको एकीकरणबाट बनेको नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी (नेकपा)’ ले रावललाई फेरि राजनीतिक मूलधारमा फर्काउने बाटो खोलिदियो ।

अहिले अछामको भूगोलमा एउटा नयाँ दृश्य देख्न सकिन्छ । सधैँ ‘सूर्य’ मा भोट माग्ने रावल यतिबेला ‘तारा’ चिह्न अंकित झण्डा बोकेर मतदाताको घरदैलोमा पुगिरहेका छन् ।

साँफे, मेल्लेख, बाब्ला र रामारोशनका बस्तीहरूमा पुग्दा उनले आफूले विगतमा गरेका काम र अब गर्नुपर्ने विकासका योजनाहरू सुनाइरहेका छन् । उनले आफ्ना हरेक गतिविधिलाई सामाजिक सञ्जालमार्फत पनि उत्तिकै सक्रियताका साथ सार्वजनिक गरिरहेका छन् ।

उनीसँगै यस क्षेत्रमा ७ जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट दीपक साउँद मैदानमा छन्, जो पूर्व माओवादी नेता हुन् । एमालेले सुरुमा झपट बोहरालाई उठाउने तयारी गरे पनि अन्तिममा जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी छाडेर आएका साउँदलाई टिकट दियो । साउँदको पकड माओवादीको गढ मानिने रामारोशन क्षेत्रमा राम्रो मानिन्छ ।

त्यस्तै, नेपाली कांग्रेसबाट भरतकुमार स्वार चुनावी मैदानमा छन् । पूर्व जिल्ला सभापति रहेका स्वार अछामका एक दिग्गज र रैथाने नेता हुन्, जसको जनतासँग सिधा र लामो सम्बन्ध छ । रोचक कुरा त के छ भने, २०७४ को निर्वाचनमा एमालेमा छँदा रावलले यिनै स्वारलाई पराजित गरेका थिए ।

तर यसपटक रावलसँग एमालेको विशाल संगठन छैन । यो क्षेत्रमा विगत २६ वर्षदेखि कांग्रेसले जित्न सकेको छैन, त्यसैले यसपटक रावल र साउँदबीच कम्युनिस्ट मत विभाजित हुँदा त्यसको फाइदा आफूलाई पुग्नेमा कांग्रेस पक्ष ढुक्क देखिन्छ ।

यी तीन मुख्य पात्रका साथै राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल, नेमकिपाका सुरेन्द्र शाही, राप्रपाका लोकेन्द्र शाह, विप्लव नेतृत्वको नेकपाका लोकेन्द्रबहादुर शाही र स्वतन्त्र उम्मेदवार भीमबहादुर कुँवर पनि प्रतिस्पर्धालाई बहुआयामिक बनाउन लागिपरेका छन् ।

निर्वाचनको अंकगणितलाई केलाउँदा २०७९ को स्थानीय र आम निर्वाचनको मत परिणाम निकै अर्थपूर्ण देखिन्छ । स्थानीय निर्वाचनमा अछाम–१ का ५ पालिकामध्ये कांग्रेसले ४ वटामा प्रमुख जितेर आफ्नो शक्ति प्रदर्शन गरेको थियो भने एमालेले एउटा पनि प्रमुख जित्न सकेन । वडागत मतका आधारमा पनि कांग्रेस अगाडि छ ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट शेरबहादुर कुँवरले १९, ५३४ मत ल्याएर विजयी हुँदा एमालेका झपट बोहराले १५, ०४५ मत प्राप्त गरेका थिए । अहिले रावल उम्मेदवार रहेको दलको तत्कालीन समानुपातिक मत जोड्दा करिब १० हजारको हाराहारीमा देखिन्छ, जबकि कांग्रेस र एमालेको व्यक्तिगत मत करिब १४–१४ हजारको हाराहारीमा छ ।

यसपटक रास्वपाको बढ्दो प्रभाव र वरिष्ठ नेता बालेन्द्र शाहको त्यस क्षेत्रमा भएको भ्रमणले युवा मतदाताको मनोविज्ञानमा कस्तो असर पार्छ भन्ने कुरा पनि चासोको विषय बनेको छ ।

लामो समय एमालेको केन्द्रमा रहेका रावलले पार्टी छाड्दा कति कार्यकर्ता र कति जनमत आफूसँगै तान्न सफल भए भन्ने कुराको वास्तविक परीक्षण यसै फागुन २१ ले गर्नेछ । के रावलले आफ्नो व्यक्तिगत विरासतलाई नयाँ चिह्नमार्फत जोगाउन सक्लान् ? वा अछामको राजनीतिमा नयाँ शक्ति र पुराना विपक्षीले बाजी मार्लान् ? यो प्रश्नको उत्तर भने अछामी जनताको हातमा छ ।

प्रतिक्रिया दिनुहोस्