
नेपालका शाहवंशिय राजाहरू कसरी देशभक्त र जनप्रेमी थिए ? इतिहास साक्षी छ । हाम्रो र अघिल्लो पुस्ता आज पनि जीवित छ । पृथ्वीनारायण शाहले जनताको अपार साथ र सहयोगमा स्थापना गरेको राज्य विस्तारमा हजारौँ नेपाल आमाका होनहार छोराछोरीहरूको रगत, पसिना मिसिएको थियो ।
पृथ्वीनारायण शाहको नेतृत्वमा भएको विशाल नेपालको औताली खाएका गीर्वाणयुद्ध विक्रम शाहदेखि अन्तिम राजा ज्ञानेन्द्र शाहसम्म आइपुग्दा १८१६ को सुगौली सन्धि, दिल्ली सम्झौता हुँदै २०६१ साल माघ १९ गते सम्मको शासन व्यवस्थालाई फर्केर हेर्ने हो भने नेपालका राजाहरू पृथ्वीनारायण शाह बाहेक कुनै पनि राजाहरू देशभक्त थिएनन् ।
नेपालका राजाहरूले आफ्नो औतालीमा आएको लुटको स्वर्ग र विलासिताको सिंहासन जोगाउन अनगिन्ती राष्ट्रघात र जनघात गरेका इतिहासमा काला कर्तुतहरू आज पनि ताजै छन् ।
राजतन्त्रले नेपाली आम शोषित, पीडित नागरिक माथि गरेको दमन, अन्याय, अत्याचार, थिचोमिचो, बलात्कार, हत्या, हिंसा र निर्ममता, बर्बरता कायरतापूर्ण प्रदर्शन रक्तिम इतिहासका पानाहरूमा आज पनि सुरक्षित छन् । नेपाल आमाको छातीमा विदेशी, साम्राज्यवाद र विस्तारवादी शासकहरूलाई कुल्चन दिने निरङ्कुश सामन्ती राजतन्त्रको राष्ट्रघात र जनघातका असीमित सन्धि, सम्झौताहरूले मुलुक स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डता कमजोर भएको छ ।
नेपालमा पृथ्वीनारायण शाहले एकीकरण गरेपछि साह वंशहरूले २४० वर्ष शासन गरे दार्शनिक रूपमा, हिन्दु धर्मको ईश्वरीय दैवी शक्तिको स्वघोषित उपाधिको पगडी पहिरेर राजसंस्थाले लामो समय नेपालमा आफ्नो स्वार्थ अनुरूप राजकाज चलायो ।
मुलुकमा राष्ट्रघातको बीजारोपण शाहवंशीय राजाहरूबाट सुरु भएको थियो । यदि राजाहरू साम्राज्यवाद र विस्तारवाद सामु आफ्नो सत्ता र निजी स्वार्थमा लागेका थिएनन् भने विशाल राष्ट्र नेपाल आज यति सानो भागमा खुम्चनु पर्ने थिएन । जनतामाथि निरङ्कुश तानासाही र थिचोमिचो लादेर सामन्ती शासन थोपरेर मोजमस्ति एवं विलासिताको स्वर्गमा नरमाएको भए राजतन्त्र यति छिटो अवसान हुने थिएन ।
राजतन्त्रले आफ्नो विलासिताको स्वर्ग जोगाउन छिमेकी मुलुक ब्रिटिसहरूको उपनिवेशमा रहेको भारतलाई सार्वभौम एवं स्वाधीन मुलुक नेपालको आधाभन्दा अधिक भू–भाग सुम्पेर राष्ट्रघातको श्रृंखला सुरुवात ग¥यो । १८१६ को सुगौली सन्धि मार्फत इष्ट इन्डिया कम्पनीलाई नेपालका महत्त्वपूर्ण भू–भागहरू बुझाउने राजा गीर्वाणयुद्ध थिए । जसका कारण कुमाउ, अल्मोडा र नैनीताल, गढवाल, टेहरी गढवाल र पौडी गढवाल लगायतका क्षेत्रहरू सतलज नदिका केही भागहरू सहित पहाडी क्षेत्र, तराईका उर्वर भूमीहरू सिवालिक पहाड र तराई बिचको सम्पूर्ण तल्लो भू–भाग कोसीदेखि गण्डकको तराई क्षेत्र (हाल भारतको बिहार) गण्डक देखि घरघरसम्मको तराई क्षेत्र (हाल भारतको उत्तर प्रदेश) यसरी सुगौली सन्धिले नेपालको तत्कालीन महत्त्वपूर्ण भू–भागको एउटा ठूलो हिस्सा भारतमा गाभिन पुग्यो र विशाल नेपालको सानो खुम्चिएको वर्तमान सिमानामा निर्धारण हुन पुग्यो ।
आफू र आफ्नो वंशलाई बहादुर र देशभक्त दाबी गर्ने राजाहरूले आफ्नो स्वर्गको आधिपत्य जोगाउन गरेका अनगिन्ती निरङ्कुश, तानासाही र साम्राज्यवाद एवं विस्तारवादको नाङ्गो दलालीपन भएको छ । अनगिन्ती राष्ट्रघात गरेको राजतन्त्रले साम्राज्यवाद र विस्तारवाद भित्र्याएर बहु राष्ट्र कम्पनी स्थापना गरी नेपाली पुँजीको र नेपालका साना तथा ठूला ब्यापारी एवं पुँजीको विकास र प्रवद्र्धनमा रोक लगाएको थियो ।
नेपालको राजसंस्था विचार, सिद्धान्त, आदर्श र एजेन्डा विहीन रैती, ढोके बैठकहरू जम्मा गरेर मोजमस्ति सँगै अश्लील प्रदर्शन गर्ने तत्त्व झैँ थियो । मोजमस्ति, विदेश भ्रमण आफ्ना आफन्तलाई दरबार, सुन, चाँदी, हिरामोति र विभिन्न खरखजाना जोडेर १९८० मा मुलुकको ढुकुटी नै रित्याएर राष्ट्रिय बजेट बनाउने समेत पैसा नभएको यथार्थ इतिहासमा छर्लङ्गै छ ।
कोसी र गण्डकी नदी भारतलाई बुझाउने राजतन्त्र र राणाहरू कसरी जनप्रेमी, देशभक्त र विकास प्रेमी भए ? कोसी सम्झौता गर्ने नेपालका तत्कालीन राजा त्रिभुवन थिए । आफ्नो शासनकालमा भारतलाई कोसी नदी सुम्पिदिएर नेपालको समग्र हितविपरित कोसीमा बाँध लगाउन लगाउने, नेपालको जलस्रोत माथिको आफ्नो अधिकार भारतलाई सुम्पने, नेपालको भविष्यलाई १९९ वर्षका लागि आफ्नो स्वार्थमा विदेशीलाई बेच्ने, स्थानीय हजारौँ नागरिकहरूलाई डुबान पारी विस्थापन हुन बाध्य पार्ने, पर्यावरण माथि असर पार्ने, ब्यारेज र नहरका कारण नदीको स्वतन्त्र प्राकृतिक बहाव र परिस्थिति प्रणालीमा नकारात्मक असर पार्ने जसका कारण जलचर र जैविक विविधतामा ह्रास आउने जस्ता राष्ट्रहित, जनहित पर्यावरणहित, प्राकृतिक हित विपरीत यति ठूलो राष्ट्रघात र जनघात गर्ने राजतन्त्र र राजा त्रिभुवन कसरी देशभक्त भए ? गण्डकी सम्झौता, त्यस्तै राजा महेन्द्रले गरेको अर्को शृङ्खलाबद्ध राष्ट्रघातको पुनरावृत्ति हो ।
त्यसैगरी टनकपुर बाँध राजा वीरेन्द्रको शासनकालमा भयो । राजाहरूको एकपछि अर्को राष्ट्रघाती र जनघाती सम्झौताले नेपालको विकास र समृद्धिको आधार बोकेको ठूला–ठूला नदी कोसी, गण्डकी आज भारतको अधिनमा पुगेको छ । जसका कारण हाम्रो देश नेपालले अपेक्षित लाभ लिन पाएन । नेपाल भारत सहमति अनुसार विद्युत् वा सिँचाइ सुविधा जस्ता अपेक्षित लाभहरूबाट नेपाल वञ्चित हुन पुग्यो । क्रमशः राजा वीरेन्द्रको कार्यकालमा नै अर्को राष्ट्रघाती महाकाली सम्झौता पनि भयो । त्रिभुवन देखि महेन्द्र, वीरेन्द्रसम्म हुँदै ज्ञानेन्द्रको शासनकालसम्म आइपुग्दासम्म नेपाल–भारत बिच भएका असमान सन्धि सम्झौता देखि नेपालका नदिनाला सम्झौतासम्मका विभिन्न समय र कालखण्डमा भएका सन्धि सम्झौताहरु एकलौटीरुपमा भारतको तर्फबाट उलङ्घन हुँदै आइरहँदा समेत एक शब्द र कूटनीतिक पहल गरेर समस्याको समाधान नखोज्ने राजतन्त्र र राजाहरू कसरी देशभक्त र जनप्रेमी भए ?
लिपुलेक, लिम्पियाधुरा र कालपानी भारतलाई बुझाएर भारतलाई खुसी पार्ने आफ्नो निरङ्कुश सामन्ती शासनको आयु लम्ब्याउन जस्तोसुकै राष्ट्रघात र जनघात गर्न पछि नपर्ने राजा र राजतन्त्र आजको एक्काइसौँ शताब्दीको वैज्ञानिक एवं चेतना र सूचना प्रविधिको युगमा परिकल्पना गर्नु र फेरी मरिसकेको संस्थालाई फर्काउँछु भनेर मरिहते गर्नु मनोगत मूर्खताको मात्र हुनेछ ।
१८५६ देखि भारतले नेपाली भूमिमाथि गर्दै आएको विस्तारवादी नीति अन्तरगत भूमि अतिक्रमणको नाङ्गो हस्तक्षेप विरुद्ध साहवंशीय राजसंस्था र राजाहरूको मौनताले देश र जनताप्रति यो संस्था कतिको जिम्मेवार छ भन्ने प्रस्ट हुन्छ । लिपुलेक, लिम्पियाधुरा, कालपानी, सुस्ता लगायत मेचीदेखि महाकालीसम्म दार्चुलादेखि ताप्लेजुङसम्म छ सय भन्दा बढी वर्ग किलोमिटर नेपाली भू–भाग ७१ स्थानमा अतिक्रमण निरन्तर रूपमा भइरहँदा पनि नेपालका शाहवंशीय राजा र तिनका राजपरिवारहरूले मूकदर्शक भएर बस्नु त्यो कुन राष्ट्रवाद र जनवाद थियो ?
बरु नेपाल आमाका सपुत योद्धाहरूले शाहवंशीय निरङ्कुश तानासाही, राष्ट्रघात र जनघात विरुद्ध आवाज उठाउने राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता सहित विदेशी हस्तक्षेप, जनताको आधारभूत मौलिक हक अधिकारको पक्षमा आवाज उठाउँदै जनतालाई जागृत गराउँदै हिँड्ने लखन थापा देखि भिमदत्त पन्थ, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द, दुर्गानन्द झा, रत्न कुमार बान्तवा, यज्ञ बहादुर थापा लगायत कयौँ देश र जनताको अधिकार एवं निरङ्कुश सामन्ती सत्ता विरुद्ध आवाज उठाउने महानायक, जननायकहरूको बीभत्स, निर्मम र आर्तकित रूपमा हत्या गरी राजा र राणाहरूले आफ्नो लुटको लङ्का जोगाउन कतिसम्म वर्वतापूर्ण कर्तुतहरू गरे ।
त्यसको हिसाब किताब हजारौँ किताबका ठेली पनि अपूर्ण हुनेछन् । नेपालमा राजतन्त्रात्मक र राणा शासन व्यवस्था एउटा लामो अन्धकार युग थियो । आज त्यो निरङ्कुश एवं तानासाही व्यवस्थाको अन्त्य भएको छ । राजतन्त्रमा सत्ताको विरोध वर्जित थियो । तर लोकतान्त्रिक गणतन्त्रमा सत्ता र शासकको विरुद्ध आवाज उठाउने अधिकार सबैमा छ । लोकतन्त्रको सुन्दर पक्ष नै यही हो । लोकतन्त्रमा स्वतन्त्रता, मानवअधिकार तथा सबै किसिमका बिचार र मत भिन्नताको सम्मान एवं प्रतिनिधित्व स्वीकार्य हुने गर्दछ । अझ भन्नु पर्दा वर्तमान व्यवस्थामा राजावादी देखि लोकतन्त्रवादीहरुले स्वतन्त्रताको उपयोग निर्धक्क सँग गर्न पाएका छन् ।
राजतन्त्रात्मक व्यवस्थाझैँ फरक बिचार राखेको आधारमा जेल–नेल–यातना सहित मृत्युवरण गर्न पर्ने छैन । आफ्ना बिचार आस्था विरोध, समर्थनका लागि राजनीतिक गतिविधि स्वतन्त्र रूपमा अभिव्यक्त गर्न पाइन्छ । लोकतान्त्रिक व्यवस्थाको आत्मा भनेकै राजनीतिक स्वतन्त्रता हो । यो व्यवस्थाले निरङ्कुश, तानासाही, सामान्तिन राजतन्त्रले झैँ निर्मम, निर्जल र कायरतापूर्ण गतिविधि देखाउने छुट छैन ।
कसैको स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने अधिकार छैन । नेपाली राजनीतिक रङ्गमञ्चमा राजावादीहरूको लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार, देश सकियो, देश बरबाद भयो, विकास भएन, सुशासन कमजोर भयो, भ्रष्टाचारले सीमा नाघ्यो, जनताले आफ्नो अधिकार पाएनन् जस्ता अनैतिक र तथ्यहीन आरोपमा जनताको मनोभावना भड्काउने गरेको पाइन्छ तर त्यो सत्य होइन ।
अवश्य पनि नेता, बिग्रियो, पार्टीहरू सत्तामोही भए, सुशासन कमजोर भयो, हत्या, हिंसा अराजकता मौलायो, त्यो केही हदसम्म सही र वास्तविक छ तर निरङ्कुश राजतन्त्रमा जस्तो भने अवश्य छैन । यदि एउटा पार्टीले राष्ट्रहित विपरीत जनहित विपरीत आफ्नो सत्ता र शक्तिको दुरुपयोग ग¥यो भने लोकतन्त्रमा त्यसको विकल्प नयाँ पार्टी नयाँ नेतृत्व रोज्न र खोज्न सकिन्छ तर निरङ्कुश व्यवस्थामा भने त्यो अवसर जनताले पाउने छैनन् ।
त्यसको पछिल्लो उदाहरण जेन–जी विद्रोहबाट उत्पन्न नेपाली राजनीतिक घटनाक्रम नयाँ राजनीतिक दल, नेतृत्व र सामाजिक चेतना एवं परिवर्तन प्रतिको आधुनिक वैज्ञानिक र प्राविधिक जागरणले नेपाली समाजको नयाँ लोकतान्त्रिक परिवर्तन थियो । फेरी पनि समाजमा आएका चेतनाको आँधीबेहरीले समृद्धिको बाढी ल्याउँछ भनेर निर्धक्क भएर बस्ने समय भने आज पनि छैन किनकि राजाका रैतीहरू भन्दा नेताका भक्तिगान गाउने सामाजिक कुसंस्कार र कुविचारले नेपालको भविष्य झन् अन्धकारतर्फ धकेल्ने खतरा पनि सँगसँगै देखा परेको देखिन्छ ।
देशले खोजेको परिवर्तन सरकार होइन संस्कार हो । नागरिकहरूले रोजेको परिवर्तन आकारमा होइन बिचारमा हुनु पर्दछ । तब मात्र समग्र परिवर्तनको सपना साकार हुनेछ । यो देशका निर्माता सचेत जागृत र परिवर्तनकारी जनता नै हुन् । जनताको दुःख, कष्ट, रगत पासिनाले सिर्जेको हाम्रो मुलुकलाई राजा महाराजा लगायत तिनका रैतीहरूले कुत उठाएर खाए झैँ खाने अधिकार कोही कसैले खोज्छ भने इतिहास र वर्तमान साक्षी छ । त्यो कदापि नेपाली जनतालाई स्वीकार्य छैन । यो देश जति बन्यो जति जोगियो त्यो नेपाली जनताको रगत र पसिनाले मात्र सम्भव भएको हो ।
यसको स्वामित्व कोही कसैले लिन खोज्छ भने इतिहासको पानामा कालो कर्तुतका रूपमा स्थापित हुनेछ । युवा आज पलायनताको शृङ्खला तीव्र छ यसको रोकथाम अनिवार्य सर्त बनेको छ । राजा महाराजाहरूले गोर्खा भर्ती सम्झौता लागू गरेर नेपाली ऊर्जाशील रगत पसिना विदेशी भूमिलाई बेचेर आफ्नो विलासिताको स्वर्गमा जसरी इन्द्रले झैँ राज गरेर खानेकाम गरे त्यो अविलम्ब रोक्ने काम अबको नेतृत्वले गरोस् अन्यथा मुलुक बाल आश्रम र वृद्ध आश्रममा परिणत हुनेछ ।
अबको नेतृत्व लोकप्रियतावादी दर्शनले होइन नेपाली माटोले लत्पटिएको स्वाधीनता र स्वाभिमानताको जगमा उभिएर जबाफदेहिता, पारदर्शिता र कर्तब्यनिष्ठटामा प्रतिबद्ध हुनु पर्दछ भने नागरिक आफ्नो कर्म पसिना र आफ्नै आर्थिक धरातलमा विश्वास गर्ने इमानदार हुनु पर्दछ तब मात्र देशले सही नेतृत्व पाउने छ र मुलुक समृद्धि र सुशासनको यात्रामा अघि बढ्ने छ । सदियौँदेखि राजा र राजाका रैतीको चङ्गोलमा फसेको देश, नेताको भक्तिगान गाएर फेरी देश बरबाद तर्फ नधकेलौँ चेतनाको आँखा खोलौँ परिवर्तन हाम्रै पालामा सम्भव छ ।











