काठमाडौं । फागुनमा वाणिज्य बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर फेरि घटाएसँगै बचतकर्ताको प्रतिफल झन् खुम्चिएको छ। समग्र निक्षेप बढिरहेको तथ्यांक सार्वजनिक भइरहँदा पनि संरचनागत रूपमा मुद्दती निक्षेपको हिस्सा एक वर्षमै करिब १० प्रतिशत बिन्दुले घटेको छ ।

घट्दो ब्याजदर र दीर्घकालीन बचतमा घट्दो आकर्षणबीचको यो सम्बन्धले बैंकिङ प्रणालीको स्थिर स्रोत कमजोर बन्दै गएको संकेत गर्छ । अब केवल दर कति घट्यो भन्ने होइन, बचतकर्ताको विश्वास कता जाँदै छ भन्ने विषयमा सबैको चासो बढेको छ ।
वाणिज्य बैंकहरूले पछिल्लो समय मुद्दती निक्षेपको ब्याजदर निरन्तर घटाउँदै लगेका छन् । फागुन महिनामा बचतकर्ताले पाउने व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर माघ महिनाको ४.६८४५ प्रतिशतबाट झरेर ४.५६९ प्रतिशतमा सीमित भएको छ ।
केही महिनायता जारी रहेको यो गिरावटले बचतकर्ताको प्रतिफल क्रमशः खुम्चिँदै गएको छ । जसले गर्दा ५ करोड ३० लाखभन्दा बढी निक्षेपकर्तामा असन्तोष बढाएको छ । एकातर्फ ब्याजदर घट्दै छ, अर्कोतर्फ बैंकिङ प्रणालीभित्रको निक्षेप संरचनामा समेत उल्लेखनीय परिवर्तन देखिन थालेको छ । यी दुई प्रवृत्ति सँगसँगै हेर्दा दीर्घकालीन वित्तीय स्थिरताबारे गम्भीर प्रश्न उठ्न थालेका छन् ।
केन्द्रीय बैंक र अन्य बैंकहरूले प्रणालीमा प्रशस्त तरलता रहेको र कर्जाको माग सुस्त भएकाले ब्याजदर घटेको बताउँदै आएका छन् । अहिले मुद्रास्फीति पनि घटेको र मुद्रास्फीतिभन्दा निक्षेपको ब्याजदर माथि नै रहेकाले चिन्ता लिनुपर्ने अवस्था नरहेको उनीहरूको मत छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार, चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा कुल निक्षेप ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा निक्षेप १४.८ प्रतिशतले बढेको छ ।
यी तथ्यांकले बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको देखाउँछ । तर, समग्र वृद्धिभन्दा पनि निक्षेपको संरचनागत स्वरूपमा आएको परिवर्तन बढी अर्थपूर्ण छ ।
२०८२ पुस मसान्तमा कुल निक्षेप संरचना हेर्दा चल्ती निक्षेप ६.९ प्रतिशत, बचत निक्षेप ४१.३ प्रतिशत र मुद्दती निक्षेप ४२.८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा मुद्दती निक्षेपको अंश ५२.६ प्रतिशत थियो । अर्थात्, एक वर्षमै मुद्दती निक्षेपको हिस्सा करिब १० प्रतिशत बिन्दुले घटेको छ । यसको ठीक उल्टो बचत निक्षेप ३४.१ प्रतिशतबाट बढेर ४१.३ प्रतिशत पुगेको छ ।
यसले दीर्घकालीन स्थिर स्रोत घट्दै र तुलनात्मक रूपमा तरल तथा चञ्चल प्रकृतिको निक्षेप बढ्दै गएको स्पष्ट संकेत गर्छ ।
संस्थागत निक्षेपतर्फ पनि समान प्रवृत्ति देखिएको छ । २०८२ पुस मसान्तमा कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्ष ३५.५२ प्रतिशत थियो । प्रतिशतमा सामान्य देखिए पनि संस्थागत मुद्दती निक्षेपको क्रमशः घट्दो हिस्सा अर्थपूर्ण छ ।
संस्थागत निक्षेप प्रायः ब्याजदरप्रति संवेदनशील हुन्छन् । जब मुद्दती निक्षेपको दर ५ प्रतिशतभन्दा तल झर्छ, तब निक्षेपकर्ताले वैकल्पिक लगानी साधन—सरकारी ऋणपत्र, म्युचुअल फन्ड, सेयर बजार, प्रत्यक्ष व्यवसायिक लगानीतर्फ रकम सार्ने सम्भावना बढ्छ ।
पाँच करोडभन्दा बढी निक्षेपकर्ताको हित र विश्वास जोगाउनु केवल बैंकहरूको व्यावसायिक निर्णयमा छोड्ने विषय होइन, यो नीतिगत प्राथमिकताको विषय पनि हो । यदि समयमै सन्तुलित हस्तक्षेप गरिएन भने अहिलेको संरचनागत परिवर्तन भोलिका दिनमा प्रणालीगत जोखिममा रूपान्तरण हुन सक्छ ।
यही सन्दर्भमा घट्दो ब्याजदरलाई संरचनागत परिवर्तनको प्रमुख कारणका रूपमा हेर्न थालिएको छ । जब मुद्दती निक्षेपको प्रतिफल निरन्तर घट्छ, बचतकर्ताले दीर्घकालीन रूपमा रकम ‘लक’ गर्न रुचाउँदैनन् । परिणामतः रकम बचत खातामा राख्ने, छोटो अवधिको निक्षेपमा सिमित गर्ने वा बैंकिङ प्रणालीबाहिर विकल्प खोज्ने प्रवृत्ति बढ्छ । यद्यपि, हाल समग्र निक्षेप बढिरहेको छ, तर त्यो निक्षेपको गुणस्तर र स्थायित्व कमजोर बन्दै गएको संकेतलाई नजरअन्दाज गर्न मिल्दैन ।
बैंकरहरू तरलता उच्च रहेको र कर्जा माग सुस्त रहेको यो समयमा महँगो निक्षेप राख्नु व्यावसायिक रूपमा सम्भव छैन । ब्याजदर माग र आपूर्तिको आधारमा निर्धारण हुन्छ । पुससम्म मुद्रास्फीति २.४२ प्रतिशत मात्र रहेकाले ४.५ प्रतिशत हाराहारीको निक्षेपदर अझै सकारात्मक वास्तविक दरमा रहेको दाबी गरिन्छ । केन्द्रीय बैंकले समेत ब्याजदर करिडोरको तल्लो सीमा घटाएर स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतमा झारेको छ, जसले अल्पकालीन दरहरूलाई सीमाभित्र राख्ने उद्देश्य राख्छ ।
तर, वित्तीय प्रणालीको दिगोपन केवल समष्टिगत सूचकमा निर्भर हुँदैन । बैंकहरूको सम्पत्ति–दायित्व व्यवस्थापन दीर्घकालीन स्थिर निक्षेपमा आधारित हुन्छ ।
यदि, मुद्दती निक्षेपको अंश घट्दै गयो भने बैंकहरूले छोटो अवधिको स्रोतबाट दीर्घकालीन कर्जा वित्तपोषण गर्नुपर्ने हुन्छ, जसले परिपक्वता असन्तुलनको जोखिम बढाउँछ । दीर्घकालीन लगानी परियोजनाहरूका लागि स्थिर स्रोत आवश्यक हुन्छ; अस्थिर निक्षेप संरचनाले कर्जा विस्तार क्षमतामा दबाब ल्याउन सक्छ ।
यसका साथै बचतकर्ताको मनोवैज्ञानिक पक्ष पनि उत्तिकै महत्वपूर्ण छ । बैंकिङ प्रणाली विश्वासमा आधारित हुन्छ । यदि ठूलो संख्यामा खुद्रा तथा संस्थागत बचतकर्ता बैंकिङ प्रणालीबाहिरका विकल्पतर्फ सर्न थाले भने, हाल प्रशस्त देखिएको तरलता भविष्यमा अस्थिर हुन सक्छ । आकस्मिक तरलता दबाब, ब्याजदरमा अप्रत्याशित उछाल, वा कर्जा आपूर्तिमा संकुचनजस्ता अवस्था उत्पन्न हुन सक्ने जोखिम रहन्छ ।
त्यसकारण अहिले ‘निक्षेप बढ्यो’ भनेर खुशी हुने भन्दा पनि कुन बैंकको निक्षेप बढिरहेको छ र कुन बैंकको घटिरहेको छ भन्ने तर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । स्थिर मुद्दती निक्षेपको हिस्सा घट्दै र दर–संवेदनशील बचत तथा अल्पकालीन निक्षेप बढ्दै जाने क्रम जारी रह्यो भने बैंकिङ प्रणालीको आधार कमजोर हुन सक्छ ।
घट्दो ब्याजदरलाई दीर्घकालीन बचत संस्कृति, वित्तीय समावेशीकरण र पूँजी निर्माणसँग जोडेर हेर्नुपर्ने अवस्था आएको छ । पाँच करोडभन्दा बढी निक्षेपकर्ताको हित र विश्वास जोगाउनु केवल बैंकहरूको व्यावसायिक निर्णयमा छोड्ने विषय होइन, यो नीतिगत प्राथमिकताको विषय पनि हो । यदि समयमै सन्तुलित हस्तक्षेप गरिएन भने अहिलेको संरचनागत परिवर्तन भोलिका दिनमा प्रणालीगत जोखिममा रूपान्तरण हुन सक्छ ।












