Logo
Logo

शालिन विद्रोह ‘एकजोर आँखा’


छविरमण सिलवाल

315
Shares

नेपाली समकालीन साहित्यकी एक महत्वपूर्ण आवाजका रुपमा सुलोचना मानन्धरलाई लिन सकिन्छ । उहाँले आफ्ना सिर्जनामार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयासमा अग्रणी भूमिका निभाउँदै आउनुभएको छ ।

उहाँ प्रसिद्ध कवि, अनुवादक, स्तम्भकारसँगै नेपाल भाषा र चिनियाँ भाषामा साहित्य सिर्जना गर्नुहुन्छ । उहाँ कविता लेखनसँगै लघुकथा, कथा, नियात्रा, निबन्ध लेखनमा पनि सक्रिय हुनुहुन्छ । उहाँका कृतिहरूमा ‘रात’, ‘अनुभूतिका थोपाहरू’ र ‘अर्को गोलार्धका मनहरू’ लगायत आधादर्जन कृतिहरू प्रकाशन भएका छन् ।

उहाँको पछिल्लो कथासङ्ग्रह ‘एकजोर आँखा’ प्रकाशन भएको छ । सरल भाषामा गम्भीर प्रस्तुति ‘एकजोर आँखा’को उपलब्धि हो । कथाका क्षेत्रमा उहाँले आफ्नो पकड बलियो बनाउनुका साथै, सधैँ पाठकलाई नयाँपनको आभास दिन सक्षम छन् ‘एकजोर आँखा’का कथाहरु ।

‘एकजोर आँखा’ कथाका विषयवस्तुहरू यही समाजभित्रकै हुन् । समाजभित्र पनि कसैको ध्यान नपुगेका स–साना कुराहरू कथाका विषयवस्तु बनेका छन् । ‘एकजोर आँखा’ कथाभित्र मानवीय संवेदनाहरू सल्बलाइरहेका छन् । अब कल्पनाका कथामात्र लेख्ने युग रहेन । समाजका यथार्थतालाई पाठकसामु पस्कन सक्नु नै सच्चा साहित्य बन्न सक्छ । ‘एकजोर आँखा’ भित्रका कथाहरू पनि यस्तै यथार्थताले भरिएका छन् ।

‘पाठकहरू स्वयं समयका साक्षी हुन् । समयसँगै धेरै कुरा फेरिएको छ । सामाजिक मूल्य–मान्यता फेरिएका छन् । दुःख र सुखको, मितव्ययीता र विलासिताका माप पनि फेरिएका छन् । कुनै कथामा ‘पाँच रुपैयाँ’ भए तिहार मनाउन सकिने अवस्थालाई बुझ्न त्यही समयमा फर्किएर बुभ्mनुपर्ने हुन्छ– कम उमेरमा पाठकका लागि यो त्यति सजिलो नहुन पनि सक्छ ।’ कथा लेखनसँगै उहाँको विनम्रता ‘एकजोर आँखा’मा प्रस्तुत भएको देखिन्छ ।

लेखकको स्वभिमानीपन कथामा यत्रतत्र छरिएका छन् । त्यही स्वाभिमानी र विनम्रपनले नेपाली साहित्य तथा समाजसेवामा सुलोचना मानान्धरको स्थान अग्लो भएको छ ।

‘एकजोर आँखा’ कथासङ्ग्रहभित्र चार-पाँच दशकदेखिका कथाहरू रहेका छन् । सिर्जनाहरू जति नै पुराना भएपनि सर्जकको दृष्टिकोण धेरै लामो हुन्छ नै । चार-पाँच दशको अवधिमा देशमा ठूलै राजनीतिक परिवर्तन भइसकेको छ तर जनताका अवस्था भने जस्ताको तस्तै रहेको यो सत्य हो । त्यो सत्यको उजागर यी कथाहरुले पनि गरेका छन् ।

हामीले पनि थुप्रै भोग्यौँ र अहिले भोग्दै पनि छौँ, हो ति भोगाइहरूको साझा आवाज हुन् ‘एकजोर आँखा’भित्रका कथाहरू । कथाकार महिला भएको हुनाले महिलाका आवाजहरू अलि बढी नै उजागर भए तापनि कथामा समग्र समाजका आवाजलाई प्राथमिकता दिएको देखिन्छ । भोगाइका हिसाबले पितृसतात्मक समाजमा महिलाले भोग्नुपरेका भोगाइहरू अवश्य पनि दुःखदायी नै छन् । त्यसलाई उहाँले कथाका विषय बनाउनुभएको छ ।

झ्यालखाना कथा एउटा पितृसत्ताको दुःखद कथा मान्न सकिन्छ । परिस्थिति र बाध्यताले एउटी नारीको जीवनमा घर कसरी झ्यालखाना बन्नसक्छ भन्ने कुरा कथामा प्रस्तुत भएका छन् ।

‘एकजोर आँखा’सङ्ग्रहभित्र ‘तुतां’ शीर्षकको कथामा बीस वर्षअगाडि नै नेपालभाषाको चलचित्र बनेको छ । तुतांलाई नेपालभाषामा बुढेसकालमा समाउने लौरो भन्ने अर्थ लाग्ने रहेछ । त्यो समयको निकै चर्चित चलचित्र तुतां हाल पनि उत्तिकै लोकप्रिय रहेको छ ।

नेपालभाषाबाट अनुवाद गरिएका उनका कथाहरू पनि ‘एकजोर आँखा’मा हामीले पढ्न सक्छौँ । ‘एकजोर आँखा’भित्रका सोह्र शीर्षकका कथाहरुसँग विविध आयाम र परिवेशसँग साक्षातकार गर्न सकिन्छ ।

‘नेताको अन्तर्वार्ता लिन गएका पत्रकार घरभित्रको अन्तरव्यथा, खासगरी नेताजीको अर्धाङ्गिनीको अन्तरमनको व्यथा सुनेर फर्किन्छु । त्यो घरमा आधा आकाश घाइते छ यतिबेला । आफ्नो सबैभन्दा नजिकको जीवनसाथी, अर्धाङ्गिनी, पत्नीको आवाज सुन्न सकिरहेका छैनन् एक जना नेताले । तिनले कसरी घरभन्दा टाढाटाढाका व्यथित र पीडितहरूको आवाज सुन्न सक्छन् ?’ यी हरफहरू ‘एकजोर आँखा’ कथासङ्ग्रहको पहिलो कथा ‘अन्तर्वार्ता’ शीर्षकमा प्रस्तुत भएका छन् ।

एउटा पत्रकार नेताको घरमा अन्तर्वार्ता लिन पुग्छन्, तर त्यहाँ नेताको बिरामी श्रीमतीलाई वास्ता नगरेर नेता फोनमा व्यस्त छन् । पत्रकारको मनमा लाग्छ यी नेताले घरमा आफ्नै श्रीमतीलाई यस्तो अपहेलना गरिरहेका छन् भने यिनीहरूबाट देशले के आशा राख्ने भन्ने प्रश्न उठाएर अन्तर्वार्ता नलिई फर्किन्छन् । यही हो वर्तमानले भोगिरहेको दैनिकी हो । अबका दिनमा हामी सच्चिनै पर्छ भन्ने मूल कुरा कथाले सबैलाई सचेत गराइरहेका छन् ।
‘एकजोर आँखा’भित्रका कथाहरू केही नेपालभाषाबाट अनुवाद भएका छन्, केही कथाहरू स्कुलको कोर्समा परेका छन् । केही कथा जापानी भाषा अनुवाद भएका छन् । प्रायः सबै कथाहरू राष्ट्रिय पत्रपत्रिकामा प्रकाशन भएका छन् । यहाँ समेटिएका हरेक कथामा बेग्लाबेग्लै सुगन्धहरू पाइन्छन् । ‘एकजोर आँखा’ आफैँमा एउटा शीर्ष कथा हो, जेलमा भेटिएका ती क्रान्तीकारी राजबन्दीका चम्किला आँखामा देशको भविष्य खोजिरहेको एउटा सुन्दर कथा पनि हो ।

विगत चार पाँच दशकदेखि नेपाली समाजले भोगिरहेको भोगाइ ‘एकजोर आँखा’मा पढिरहँदा आफ्नै जीवनको विगतलाई कथाले खोतल्ने प्रयास गर्छ । र, वर्तमान पुस्तालाई पनि कथाले ती दिनहरूको बारेमा जानकारी दिन्छ । यी कथाहरू कथामात्र नभएर एउटा इतिहास पनि हुन् ।

कथाले शालिन रुपमा पनि विद्रोहको विगुल फुक्न सकिन्छ भन्ने कथाका मूल उपलब्धि पनि हुन् । कथाकार भागिरथी श्रेष्ठले भनेजस्तै ‘एकजोर आँखा’कथासङ्ग्रह पहिल्यै आउनुुपर्दथ्यो । तर अहिले प्रकाशन भएर झनै विशेष हुन पुगेको छ । समयसँगै कथाका पात्र, परिवेश परिवर्तन भए पनि ‘एकजोर आँखा’का कथाहरु युगौँयुगसम्म पनि बाँचिरहन्छन् ।

प्रतिक्रिया दिनुहोस्