Logo
Logo

जापानको नयाँ यात्रा


378
Shares

म फेरि जापान पुगेँ । भूगोल उही, नक्सा उही, साथीहरू पनि उनै – तर म आफैँ भने उही थिइनँ । युवावस्था उहिल्यै बाटो लागिसकेको थियो । समय बग्दै बग्दै सन् २०१८ मार्चसम्म पुगिसकेको थियो । संयोगले भनुँ या समयले मिलाएको फेरि आफ्नै जन्मदिन – मार्च १२ मा नै जापान पुगेकी रहिछु । पहिलो पाली जापान पुग्दा पनि यस्तै बेला, त्यो बेला जापान पुगेकै दिन मलाई ठुलो सप्र्राइज दिएका थिए साथीहरुले । मेरो जापानसँगको सम्बन्धमा यो मार्च १२ किन यसरी जोडिएको हो कुन्नी, बुझ्न बाँकी नै छ ।
यसपाली मलाई लिन आउने मेरा पुराना साथीहरु हैन, मेरी छोरी थिई । समयको खेल ! पहिलोपल्ट म जापान पुग्दा छोरी सानै थिई । मेरो साथमा थिइन । त्यसबेला म यता जापान आएका बेला ऊ बाबुसँग नेपाल फर्केर प्राइमरी स्कूलमा भर्ना भएकी थिई । एकातिर जापानमा साथीहरूको स्नेह र अर्कोतिर छोरी साथमा नहुनुको न्यास्रो र दुःखका बीच च्यापिएकी थिएँ । त्यही छोरी पछि हेर्दा हेर्दै हुर्की, बढी र एमबिबिएस सकेर डाक्टर बनी ।

आफ्नै निर्णयमा शहरका ठूला अस्पतालमा नबसी देशका दूरदराज गाउँहरूमा बिरामीको सेवा गर्न पुगी । अनि आफ्नै विद्वताको बलले टोकियो युनिभर्सिटीबाट एकपछि अर्को गरी लगालग स्नातकोत्तर र विद्यावारिधिका चुलीमा टेकेर उभिई । यतिबेला उसले आफ्नो सफलताको टोपी लगाउने बेला भएको थियो । दीक्षान्त समारोहका निम्ति उसका अभिभावकहरुलाई युनिभर्सिटीले पठाएको निमन्त्रणामा म मात्र जापान पुगेकी थिएँ– गौरवान्वित आमाको हैसियतमा । बाँचेर हेर्नुपर्छ– समयको प्रवाहसँगै जीवनका विभिन्न आयामहरु देखापर्दै जाँदा रहेछन् ।

यी पङ्क्तिहरु लेखिरहँदा समय अझै अगाडि बढिसकेको छ । त्यो बेलाको म र आजको म बिच अझै धेरै कुराहरु फरक भइसकेका छन् । जापानमा कति कुराहरु फरक भयो, मलाई राम्रो थाहा छैन । हाम्रो देशमा भने अनेक उथलपुथल भएर कैयन सरकार परिवर्तन भइसकेका छन् । सरकार मात्र हैन शासन पद्धति नै फेरिएका छन् । समयको आफ्नै नियम हुँदो रहेछ, हामीले बुझ्नु र नबुझ्नु अर्कै कुरा ।

मेरी त्यही छोरी सानी छँदा उसलाई फ्रक किनिदिन्थे मेरा साथीहरू । आफ्नै छोरीलाई झैं माया गर्थे उसलाई । तिनै पुराना साथीहरूसँग पनि फेरि भेट हुने सम्भावनाले मात्रै पनि मलाई असाध्यै रमाइलो लागिरहेको थियो । मेरी छोरीको सफलतामा आफ्नै सफलता देख्ने र उसले विद्यावारिधीको टोपी लगाउने बेलासम्म पनि मलाई निरन्तर साथ दिइरहने निशिकावासँगको सम्बन्धलाई म सामान्य कुरा हो भन्नै सक्दिनँ । शाङ्घाईमा छँदा मेरो आर्थिक अवस्था बुझेर डलरको भाउमा छोरीको स्कूल फि तिर्न सक्षम होस् भनि मेरा लेखहरुलाई जापानी भाषामा अनुवाद गरिदिने मित्र आओकी सानलाई पनि पुनः प्रत्यक्ष भेट्न पाउनु– कति खुसीको कुरा !

टोकियो युनिभर्सिटीले नै छोरीको दीक्षान्त समारोहको निम्ति मलाई निम्तो पठाएपछि भिसा लिन केही गाह्रो भएन । मार्चको ११ तारिखमा म जापानतिर उँडेँ । मनभरि खुसी थियो । सन्तानको सफलताभन्दा ठूलो खुसी आमाको निम्ति के हुन्छ र ? राती बैंककमा केही घण्टाको ट्रान्जिटपछि फेरि जहाज चढेँ । यसपालि उडानमा म एक्लै थिएँ । हुन त पहिलो पल्ट जापान पुग्दा पनि म एक्लै नै थिएँ– फरक भन्नु यति हो कि पहिले २४ वर्ष अघि शाङ्हाईबाट चढेको जहाज पानी जहाज थियो र तीन दिन लगाएर जापान पुगेकी थिएँ । यसपालि काठमाडौँमा चढेको जहाज भने हवाई जहाज थियो र धेरै कम समयमा जापान पुग्दै थिएँ ।
जहाजबाट ओर्लिने बेला बोर्डमा मेरो नाम बोकेर आफ्नै छोरी उभिएकी देख्दा म भावुक भएँ । दिन कसरी फेरिँदो रहेछ ! अब ऊ मेरो अभिभावक भइसकेकी थिई । मभन्दा धेरै गुना बढि लेखन् पढन् र काम सक्दै अघि पुगिसकेकी ‘डबल डाक्टर’ छोरीलाई न्यानो अँगालो मार्दै जिस्क्याएँ । छोरीको सफलतामा म त्यसै त्यसै गर्वले दंग परेकी थिएँ । छोरीको अनुहार पनि तपस्या पछिको आभाले चमक्क चम्केको तपस्वीको जस्तो बनेको थियो ।

एयरपोर्टबाट एउटा रेल चढेर जानु पर्ने रहेछ आफू बस्ने ठाउँमा । रेलबाट हेर्दा टोकियो सहर उस्तै भव्य देखेँ । जाने ठाउँ– छोरीको डेरा थिएन । युनिभर्सिटीको होस्टेल पनि थिएन । मेरी माइली दिदीकी छोरी रचनाको अपार्टमेन्ट थियो । रचना त्यतिबेला आफ्नो पनि पिएचडीको सिलसिलामा नेपालमा फर्केको बेला परेको थियो । ऊ नेपालमा भएको बेला, मलाई आफ्नो ठाउँमा गएर बस्नु भनेकी थिई आमा छोरीलाई नै ।

उता ज्वाई शम्भुमात्रै थिए । जापानमा लामो समय बसेको र जापानी रहनसहनमा पारङ्गत भएको, कामको जिम्मेवारी पनि धेरै बोकेकोले धेरै व्यस्त थिए– जापानी जस्तै । जे होस् यसपालीको जापानको बसाई साथीको घरमा नभएर आफ्नै छोरीको घरमा बसेझैं महशुस भयो । टोकियोजस्तो महङ्गो ठाउँमा भएपनि महङ्गो पैसा तिरेर सानो ठाउँमा खुम्चेर बस्नुपर्ने अवस्था भएन । छोरीको फराकिलो अपार्टमेन्टमा सफा वातावरणमा बसियो । त्यहाँ आफ्नै घर जस्तो महसुस गर्न पाउनु सानो कुरा थिएन ।
जापानसँग मेरो कुन जन्मको सम्बन्ध रहेछ कुन्नी– यति धेरै भावनामा डुब्छु जापानको कुरा आउना साथ ! झन् यसपालि पनि म जापान पुग्ने दिनमा नै आफ्नो जन्मदिन परेछ । साँझ ज्वाइँ शम्भुले एउटा विशेष रेष्टोराँ बुक गरिराखेका रहेछन् । ज्वाइँलाई थाहा रहेछ मेरो जन्मदिनको कुरा– छोरीहरूबाट पहिल्यै सुनेको पनि होला । रेस्टोराँ विशेष नै थियो । खाने कुरा पनि गज्जब राम्रो हुने नै भयो ।

पहिले कहिल्यै नखाएका जापानी शाकाहारी खाना खायौं । मेरी छोरी पनि शाकाहारी भएकोले त्यो दिनको निम्ति शम्भु पनि भेज नै भइदिए । विशेष ठाउँमा बसेर विशेष दिनमा विशेष अवस्थामा सँगै खाना खाइरहँदा मेरो हृदयमा सबैप्रति आभार पोखिइरहेको थियो ।

समय सन्दर्भ संयोग भन्ने कुरा पनि मान्छे आफैले चाहेर मात्र नहुँदो रहेछ ! अनेक कारण र परिस्थिति मिलेर आफै जुरेर आउने रहेछ । समय बितेको मान्छेले चालै पाउँदैन । त्यो रेष्टोराँमा बसेर सबै असल मनहरूप्रति र जीवनप्रति नै कृतज्ञ हुँदै, छोरीको सफलतामा गर्व गर्दै खाना खाइरहँदा र गफ गरिरहँदा पहिलो पल्ट जापान पुगेको पुराना दिनहरूको सम्झना भयो । त्यसबेला मलाई त्यति धेरै मद्दत गर्ने ती पुराना स्नेही असल साथीहरू आफ्नै वरिपरी रहेजस्तो अनुभूति भयो । उनीहरूसँग प्रत्यक्ष भेट्न झनै हतारो लाग्यो…

प्रतिक्रिया दिनुहोस्