Logo
Logo

दुई चार जना पक्राउ गर्दैमा सुशासन आउँछ भन्ने होइन


वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल, पूर्वअध्यक्ष, ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल

693
Shares

नयाँ सरकार गठनसँगै देखिएको सक्रियताले राज्य संयन्त्रमा नयाँ गति थपेको छ । सरकार बनेलगत्तै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितका व्यक्तिहरूमाथि अनुसन्धान, बिचौलिया व्यापारी पक्राउ, गुण्डागर्दीविरुद्ध अपरेसन, विमानस्थल क्षेत्रमा दलाल नियन्त्रण, र ट्राफिक कडाइजस्ता कामले जनतामा सकारात्मक छाप परेको छ । लामो समयदेखि निर्णयहीनता, सुस्त प्रशासन र राजनीतिक हस्तक्षेपजस्ता आरोपलाई चिर्दै बालेन सरकार अघि बढेको छ ।

यही कारण भ्रष्टाचार निवारणमा काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले नवगठित बालेन सरकारले भ्रष्टाचार नियन्त्रणमा प्रशंसनीय सुरुवात गरेको निष्कर्ष निकालेको छ । देशलाई सुशासनतर्फ लैजान समयसीमासहित सरकारले बृहत् कार्यसूची पारित गरेकोमा ट्रान्सपरेन्सीले प्रशंसासमेत गरेको छ । धेरै वर्षदेखि उठाइँदै आइएका सुशासनका विषयहरू अधिकांश १०० कार्यसूचीमा समावेश भएको ठहर गर्दै ट्रान्सपरेन्सीले जनताको हित र सुशासनको पक्षमा काम हुने विश्वास लिएको छ । यसैसन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालसँग दृष्टिले गरेको कुराकानीको सम्पादित अंश ।

बालेन सरकारले १०० दिनका १०० कार्यसूची सार्वजनिक गरेर काम थालेको छ । त्यसमा भ्रष्टाचार अन्त्य र सुशासनको सन्दर्भलाई कसरी हेर्नुभएको छ ?
सरकारले जनतासामू आफ्नो प्रतिबद्धताको रूपमा १०० कार्यसूची सार्वजनिक गरेको छ । सुरुवातमा सरकारले अघि सारेका १०० बुँदा र सरकारले थालेको कामलाई राम्रो मान्नुपर्छ । सरकारले नयाँ किसिमले काम गर्न खोजेको देखिन्छ । जनतालाई प्रभाव पार्ने किसिमले सरकारले पाइला चालेको देखिन्छ । त्यो पाइला गन्तव्यसम्म पुग्छ कि पुग्दैन भन्ने कुरा चाहिँ १०० दिनपछि भन्न सकिन्छ । सयवटा बुँदामा लेखिएका कुरा राजनीतिक स्टन्ट मात्रै हो कि साँच्चिकै कार्यान्वयनका लागि हुन् भन्ने कुरा सरकारको मधुमास बितेपछि मूल्याङ्कन गर्नुपर्छ ।

०४८ सालयताका उच्चपदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचारीलाई कारबाही गर्ने विषयमा पनि शंका गर्नुपर्ने ठाउँ छ र ?
कुनै पनि काम गर्दा त्यसको ‘वेट’ हेर्नुपर्छ । ०४८ सालदेखि ०८२ सालसम्म सार्वजनिक जीवनमा काम गरेका सम्पूर्ण राजनीतिक क्षेत्रका व्यक्ति र राष्ट्रसेवक सबैको सम्पत्ति छानबिन गर्ने भनिएको छ । यो अति महत्वकांक्षी कुरा हो । ०४८ देखि हालसम्ममा कति मन्त्री भए ? कति सचिव भए ? कति निर्देशक भए ? कति प्रोजेक्ट म्यानेजर भए ? यो सबै जोड्दा दशौँ हजार मानिस होलान् । ती सम्पूर्ण मानिसहरूको सम्पत्ति जाँचबुझ गरेर त्यसबाट एउटा निष्कर्ष निकाल्ने कुरा कहिलेसम्म गरिसक्ने भन्ने उल्लेख छैन । ५ वर्ष, १० वर्ष कति वर्षमा यो काम सक्ने ? त्यो टिम कस्तो हुन्छ ? त्यसको कार्यपद्धति के हुने हो ? त्यो केही पनि भनिएको छैन । सरकारको महत्वकांक्षा योजना भएन भने पनि काम गर्न सकिदैन । तर, यो चाहिँ अति महत्वकांक्षाजस्तो देखिएको छ ।

यसमा सरकार कसरी अगाडि बढ्नुपथ्र्याे ?
कुनै पनि सरकारले ओभरल्याप हुने गरी कुनै पनि काम गर्नु हुँदैन । ०५८÷५९ सालसम्मको सम्पत्ति त सर्वोच्च अदालतका न्यायाधीश भैरवप्रसाद लम्साल आयोगले जाँचिसकेको छ । लम्साल आयोगको प्रतिवेदन त सरकारसँग छ । यस्तो अवस्थामा ०४८ यताकै सम्पत्ति छानबिन गर्नेभन्दा कार्य बोझ धेरै हुन्छ । त्यसकारण लम्साल आयोगको प्रतिवेदन प्रकाशित भइसकेपछि अहिलेसम्म सार्वजनिक पदमा पुगेका राजनीतिकर्मी र राष्ट्रसेवकको सम्पत्ति छानबिन गर्ने भनेको भए अलि व्यवहारिक हुन्थ्यो । सुशासन कायम गर्नका लागि संविधानमा कहाँ कहाँ संशोधन गर्नुपर्छ ? कानुनमा कहाँ कहाँ संशोधन गर्नुपर्छ ? नीति नियम के–के बाधक छन् ? भन्ने कुरा हेरेर त्यसको संशोधनको लागि तत्काल कदम चाल्नुपर्छ ।

भ्रष्टाचारविरोधी अभियन्ताको रूपमा काम गर्दै आउनुभएको छ । तपाईँले देख्नुभएको सुशासनको मुख्य बाधक चाहिँ के हो ?
अहिले सुशासनको मुख्य बाधक नीतिगत भ्रष्टाचार बनेको छ । कुनै पनि मन्त्रीले अख्तियारले समात्ला भन्ने डरले मन्त्रिपरिषद्बाट निर्णय गराउँछ । उक्त निर्णय नीतिगत हुने भएकाले अख्तियार प्रवेश गर्दैन । नीतिगत निर्णयकै आधारमा गलत कानुन बनाएकै कारणबाट देशमा भ्रष्टाचार मौलाएको छ । त्यसकारण सरकारले सबैभन्दा पहिले नीतिगत भ्रष्टाचारको परिभाषा स्पष्ट गर्नुपर्छ । कुनै मन्त्रीले मन्त्रिपरिषद्का लगेर कुनै भ्रष्टाचारजन्य काम ग¥यो भन्दैमा नीतिगतको बहानामा त्यसलाई उन्मुक्ति दिने काम गर्नु हुँदैन । त्यसलाई कारबाही गर्नुपर्छ ।

अहिलेको अवस्थामा अख्तियारले त्यो काम गर्न सक्छ ?
पक्कै पनि भ्रष्टाचारको अनुसन्धान गरेर मुद्दा गर्ने अधिकार अख्तियारलाई छ । ठुलो प्रश्नको घेरामा रहेको अख्तियारले उच्चपदस्थलाई कारबाही गर्न सक्दैन । संविधानप्रति वफादार हुनुपर्ने अख्तियार व्यवहारत जसले नियुक्त ग¥यो, उसैप्रति वफादार हुने समस्या छ । देशमा सुशासन कायम गर्ने सवाल प्रधानमन्त्रीमा भर पर्छ । मन्त्री भनेका प्रधानमन्त्रीका सहयोगी मात्रै हुन् । त्यसकारण सरकारले सुशासन दिनका लागि पहिला होमवर्क गर्नुपर्छ । अहिले सबै मन्त्रीलाई प्रत्येक दिनको कामको रिपोर्ट प्रधानमन्त्री कार्यालयमा पठाउन निर्देशन दिइएको छ । त्यो राम्रो हो । किनकि, काम भएन भने नाक जाने त प्रधानमन्त्रीकै हो । अर्कोतर्फ, लोकतान्त्रिक व्यवस्थामा प्रधानमन्त्री अलोकतान्त्रिक भए भने त्यसले दुस्परिणाम पनि निम्त्याउन सक्छ । त्यसतर्फ पनि हेर्नुपर्छ ।

पूर्वप्रधानमन्त्रीहरू देउवा, ओली र प्रचण्डमाथि सम्पत्ति शुद्धीकरणमा कारबाही हुने अवस्था छ ?
सरकारले सम्पत्ति छानबिनको काम अघि बढाएको छ । त्यसले पूर्णता पाओस् । निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउनैपर्छ । पुराना दलका नेता भ्रष्ट भए भन्ने छाप जनतामा परेको छ । त्यहीकारण पुराना दलहरूप्रति जनतामा अति वितृष्णा थियो । आलोपालो प्रधानमन्त्री हुने कुराले पनि निराशा छाएको थियो । उनीहरूमा ‘हामी चुनावबाट जितेर आएका होइनौँ, हामीले जनतालाई जितेर आएका हौँ’ भन्ने मनोभाव थियो । चुनाव नसकिन्जेल जनता जनार्दन हुन्थे, चुनाव जितेपछि जनतामाथि घोडा चढेर पालैपालो नेतृत्व सम्हाल्थे । त्यो कुरा देख्दा, देख्दा जनता वाक्कदिक्क भएका थिए । सिद्धान्ततः पुराना दलका नेताहरूले पनि भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भनेकै थिए । भ्रष्टाचारको विरोध सबैले गर्छन् तर सत्तामा पुगेपछि भन्ने र गर्ने कुरामा फरक पर्छ । अब त्यस्तो नहोस् ।

राजनीतिज्ञमा मात्र समस्या हो कि कर्मचारीमा पनि समस्या छन् ?
कर्मचारी भनेका घोडा हुन् । घोडालाई लगाम खिच्न जान्नुपर्छ । कर्मचारीको पनि दोष छ । प्रहरीको पनि दोष होला । तर, त्यसको मुख्य नाइके जो घोडा चढ्छ, त्यही हो । कर्मचारीले बदनियतका साथ काम गरेको छ भने एउटा कुरा हो । ठुलाठुला काण्डमा ती कर्मचारीले राजनीतिज्ञहरूको इसारा नपाइकन वा राजनीतिज्ञ खुसी नपारी भनेको ठाउँमा पुग्दा पनि पुग्दैनन् । कर्मचारीलाई त राजनीतिज्ञले नै तह लगाउने हो । अहिले गृहमन्त्रीको कुरा आएको छ–मलाई गृहमन्त्री भए पनि नछोड । कर्मचारी, प्रहरीले गर्नुपर्ने काम त्यही हो । कर्मचारी नेताप्रति वफादार हुने होइन, कानुनप्रति वफादार हुनुपर्छ । मन्त्रीले गलत काम गर्न दबाब दियो भने कर्मचारीले कानुन विपरीतको यो काम गर्न सक्दिनँ भन्न सक्नुपर्छ । त्यही भएर कर्मचारीलाई राष्ट्रसेवक भनिएको हो । जे भन्यो त्यही मान्ने हो भने त तिनीहरू नोकर शाह भइहाले नि । त्यसकारण कर्मचारीले राष्ट्रको नाममा काम गर्नुपर्छ ।

न्यायालयले चाहने हो भने, देशमा भ्रष्टाचार आधा त्यसै कम हुन्छ भन्छन् । बालेन सरकारले न्यायालयमा सुधार गर्न सक्छ ?
प्रकाशमान सिंह राउत प्रधानन्यायाधीशबाट भर्खरै सेवा निवृत्त भए । उनी ०६४ सालमा सर्वोच्च अदालत बारको अध्यक्ष थिए । उनले न्यायापालिकाभित्र भएको भ्रष्टाचारको सम्बन्धमा अध्ययन गर्नका निम्ति मेरो संयोजकत्वमा कमिटी बनाएका थिए । त्यो कमिटीमा प्रकाश बस्ती, भरतराज उप्रेती, कमल नारायण दास सदस्य थिए । त्यो कमिटीले राम्रो प्रतिवेदन तयार पा¥यो । न्यायपालिकामा भ्रष्टाचार छ, बेथिति छ, कुरीति छ भनेर ०६४ सालमै हामीले लेखेर दिएका हौँ । त्यही प्रतिवेदनलाई टेकेर पछि न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा कमिटी बन्यो । त्यो कमिटीले ९० प्रतिशत विषय मेरै नेतृत्वमा बनेको कमिटीको प्रतिवेदनले औँल्याएका विषय नै समेटेको छ । न्यायालयमा मात्र होइन, जहाँ पनि लिडरसिप ठिक छ भने आधा समस्या त्यसै हल हुन्छ । कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीलाई जसले पनि ‘क्लिन’ भन्छन् । भट्टराई र अधिकारी प्रधानमन्त्री भएको बेलामा सचिवालयमा जान मान्छेहरू डराउँथे । किनभने, माथि पवित्र छ भने, त्यसको असर तल पनि पर्छ । न्यायालयमा सुधार गर्न सम्भव छ ।

न्याय क्षेत्रमा तपाईँले अहिले देखेको खास समस्या के हो ?
न्यायपरिषदले न्यायाधीश नियुक्ति गर्छ । नियुक्ति गर्ने संवैधानिक अङ्ग देखाउनका लागि मात्रै भयो । नियुक्ति चाहिँ दलहरूले भागबन्डामा गर्ने भए । वकिलहरू प्रधानन्यायाधीश हुने लाइनमा छन् । पञ्चायतकलामा तत्कालीन राजा वीरेन्द्रले न्यायपालिका सुधार गर्न शाही आयोग बनाएका थिए । राजाले १०–१० वर्षमा रिभ्यू गर्थे । ०४७ सालदेखि अहिलेसम्म हेर्ने हो भने छुट्टै आयोग बनाएर रिभ्यू गरेकै छैन । न्यायपालिका सपार्न सरकारले उच्चस्तरीय न्यायपालिका सुधार आयोग बनाउनुपर्छ । त्यसअघि संसद्मा न्यायपालिका सुधार्नका लागि संकल्प प्रस्ताव पास गर्नुपर्छ । त्यसरी बनेको आयोगले दिएको सुझावअनुसार न्यायपालिका सुधार गर्न सकिन्छ । किनकि, नेपाललाई एउटा ठुलो पोखरी मान्ने हो भने, त्यही पोखरीभित्र न्यायपालिका पनि छ, व्यवस्थापितका पनि छ र कार्यपालिका पनि छ । कार्यपालिका र व्यवस्थापिकामा भ्रष्टाचार हुने अनि न्यायपालिकामा भ्रष्टाचार हुँदैन भनेर पत्याउने स्थिति छैन । सुधार्नका लागि सर्वोच्च अदालतको प्रधानन्यायाधीश बाहिरबाट नियुक्त गर्नै हुँदैन । त्यसरी जाँदा जिल्ला र उच्च अदालतका न्यायाधीशको मनोवल बढ्छ । तल्लो तहबाटै भ्रष्टाचार निवारण हुँदै आउँछ ।

विगतमा प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा थियो । तर, जेनजी आन्दोलनपछि बनेको सरकारका प्रधानमन्त्री (सुशीला कार्की) र मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएन । प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नु जरुरी हो कि होइन ?
प्रधानमन्त्री र मन्त्रीहरूले मात्र होइन, सार्वजनिक पद धारणा गरेका सबैले सम्पत्ति विवरण बुझाउनै पर्छ । सम्पत्ति विवरण नबुझाए जरिवाना गरेर पदबाट हटाउने अवस्था हुनुपर्छ । तर, एउटा समस्या छ, कसको सम्पत्ति कति छ ? कसले कति ब्ल्याकमेलिङ गर्ने हो ? सम्पत्तिमा मान्छेको आँखा लाग्न सक्छ । त्यसको दुरुपयोग नहुने ग्यारेन्टी सरकारले गर्नुपर्छ ।

एउटा मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक गरेपछि स्वतन्त्र निकायले छानबिन गर्ने र त्यसभन्दा बढी सम्पत्ति देखिए सरकारले जफत गर्न मिल्दैन ?
त्यो त कानुन बनाएर मिल्छ । अहिले पनि सम्पत्ति शुद्धीकरण छ । तलब, पुर्खौली सम्पत्ति, शेयर लगानी आदिबाट कमाएको त सबै देखिन्छ । त्यसभन्दा बढीको सम्पत्तिमा त अहिले पनि कारबाही भएकै छ । तर, सम्पत्ति कसरी र कहाँ लुकाउँछन् भन्ने कुरा बुझ्न गाह्रो छ । घुस खानेहरूले विदेशमै व्यवस्थापन गर्छन् भन्ने आम रूपमा आएको छ ।

यसका लागि अख्तियारलाई नै अधिकार सम्पन्न बनाउनुपर्छ कि छुट्टै निकाय खडा गर्नुपर्छ ?
भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार राख्ने कि नराख्ने त्यो कुरा संविधान संशोधन गर्दा विचार गर्नुपर्छ । नेपालमा अख्तियारका प्रमुख आयुक्त र आयुक्त नै भ्रष्टाचारमा मुछिएका उदाहरण छन् । भारतमा अख्तियार छैन, सिबिआईले सबै अनुसन्धानको काम गर्छ । नेपालमा पनि सिआइबीलाई त्यो अधिकार दिन पनि सकिन्छ । भ्रष्टाचार नियन्त्रणका लागि साँच्चिकै एक्सपर्ट व्यक्तिहरू राखेर काम गर्नुपर्छ । उदाहरणका लागि कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएको बेला लेखा समितिका सभापति विरोध खतिवडा थिए । संसद्मा भ्रष्टाचार बढ्यो भनेर धेरै हंगामा भयो । लेखा समितिका सभापति खतिवडाले एउटा प्रतिवेदन तयार पारेर प्रस्तुत गरे । त्यसपछि तत्कालीन प्रधानमन्त्री भट्टराईले भ्रष्टाचार नियन्त्रण सुझाव समिति गठन गरे । राष्ट्रिय सभाका निवृत्तसदस्य महादेव यादवको संयोजकत्वमा बनेको समितिमा अख्तियारका पूर्वप्रमुख राधारमण उपाध्याय, पूर्वमहालेखा परीक्षक विमलराज बस्नेत, पूर्वगृहसचिव वीरबहादुर शाही, भोजराज पोखरेल सदस्यसचिव, श्रीहरि अर्याल र राधेश्याम अधिकारी सदस्य थियौँ । हामीले मोटो प्रतिवेदन तयार गरेका थियौँ । त्यो प्रतिवेदनको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान ऐन सुधार भयो । तर, प्रतिवेदनमा लेखिएअनुसार सबै सुधार चाहिँ भएन । भ्रष्टाचार नियन्त्रण गर्ने, सुशासन कायम गर्ने कुरा आजको भोलि नै हुन सक्दैन । त्यसका लागि स्टेप वाइ स्टेप सुधार गर्नुपर्छ ।

बालेन सरकार भ्रष्टाचार नियन्त्रणमा सफल हुन सकेन भने दीर्घकालीन प्रभाव कस्तो पर्छ ?
हामीले हेक्का राख्नुपर्ने कुरा के हो भने, दुई÷चारजना मान्छेलाई समातेर मात्र सुशासन आउँदैन । यसबिचमा अख्यियारले कयौँ मान्छेलाई पक्राउ गरिरहेको छ । तर, खोइ त सुशासन आएको ? सुशासन व्यक्तिबाट आशा गर्ने होइन, सिस्टमले नै भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ । त्यसका लागि तत्काल न्यायपालिका सुधारका लागि उच्चस्तरीय न्यायिक सुधार आयोग बनाउनुपर्छ । अर्कोतर्फ, सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि त्यस्तै किसिमको शक्तिशाली आयोग बनाएर आयोगको सुझावअनुसार कार्यान्वयनमा जानुपर्छ । किनकि, यो सरकार यसअघिका सरकारजस्तो ३ महिनामा जान्छ कि ६ महिनामा जान्छ कि १ वर्षमा जान्छ भन्ने छैन । ५ वर्ष काम गर्ने म्याण्डेट यसले पाएको छ । यो सरकारले पनि सुधारको काम गरेन भने फेरि कसले गर्छ भन्ने कुरा बडो विचार गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्