
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
गएराति गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले ठक्कर दिँदा चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेलको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका भुजेलको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको पूर्वी नवलपरासीका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सो गाडी तीव्र गतिमा थियो । एउटा लेनमा भएको गाडी अर्को लेनमा करिब एक सय मिटर अगाडि पुगेर मात्रै रोकिएको थियो । सो गाडीभित्र अर्ना बियरको कार्टुन समेत फेला परेको छ ।
गाडीमा अरु कोको थिए भन्ने खुलिसकेको छैन । ठक्कर दिने गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका)को रहेको र गाडीसहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।











