Logo
Logo

सहरको निष्ठुरी भोक, बुबाको अर्ती र संघर्ष


छविरमण सिलवाल

0
Shares


बाल्यकालका संस्मरणहरु खोल्दै गर्दा पुनः बाल्यकालमै पुगिन्छ । त्यो समाजका कुरा यो समाजले पढ्दा रमाइलो मनोरञ्जन लिन्छन्, त्यसैले पनि हाम्रा कुरा भावी पुस्ताहरुलाई पढाउनु पर्छ । हामीले भोगेको यथार्थ हाम्रा सन्ततिका लागि रसिला कथा बन्न सक्छन् । हाम्रा दुःख, भोगाइ उनीहरुले नपत्याउन सक्लान् तर, पढेर मनोरन्जन भने लिन सक्छन् ।

हाम्रो भोगाइ र उनीहरुको भोगाइमा आकाश जमिनको फरक छ । हाम्रो त्यो भोगाइका क्षण हामीलाई नै होइन जस्तो लाग्छ, कहिलेकाहीँ, तर भोग्ने हामी सकुशलै छौँ, र समाज जस्ताको तस्तै छ । केही पुराना पात फेरिए, केही नयाँ पालुवा पलाए मात्र फरक यही हो । पात फेरिने र पलाउने क्रममा हामी उभिएका छौँ, अहम्को पर्खालमा, त्यो पर्खाल कतिबेला ढल्छ हामीलाई पत्तै हुँदैन ।

हाम्रो बसोबास गाउँमै थियो, बेँसीमा थिएन । गाउँमा सबैको घर थियो, बेलुका घर जाँदा धेरै जना गफिँदै उकालो लाग्दा, घर पुगेको पत्तै नहुने । सबैको घर जाने समय भनेको प्रायः एउटै हुन्थ्यो । कोही रित्तो हुने थिएन कसैले के कसैले के बोकेका हुन्थे बेँसी झर्दा, कम्पोष्ट मल, घाँसपात बोकेर झर्दथे । बेँसीबाट जाँदा पराल तथा सिजनअनुसारको खाद्य सामग्रीहरु बोकेर उकालो लाग्दथे । गाईवस्तु प्रायः बेँसीमै हुन्थे ।

गाईवस्तु चराउनको लागि पाखोहरु खुल्ला थियो । लगभग पैतालिस मिनेटमा गाउँबेँसी गर्न सकिन्थ्यो, त्यति टाढा पनि थिएन । विस्तारै मान्छेहरुलाई बँेसीको सुविधाले मोहनी लगाउँदै लग्यो । पहिला बेँसीमा औलो लाग्छ भनेर कोही बस्दैनथे ।

अहिले बँेसीमै सर्न थाले । हाम्रो भने त्यति राम्रो घर नभएको कारणबाट गाउँमै बस्ने गर्दथ्यो, भएको पुरानो गोठमा दाजु अलग्गिएर बसेको कारणबाट बँेसीमा घर थिएन । बुबाको तुरुन्तै घर बनाउन पनि सक्ने स्थिति थिएन । हामी सानै थियौँ । त्यसकारणले पनि हामीले गाउँ छोड्न सकिरहेका थिएनौ ।

मान्छेलाई जति सुख सुविधा भए पनि पुग्दैन, उसका एक पछि अर्को विलासिताका कुराहरु भोग्न तम्सिरहन्छन् । अहिले गाउँको हाम्रो घर भत्किएको घेरै भएको छ । साहुटोलको त्यसबेलाको रौनक अहिले झाडीले खाएको छ । उनीहरुका सबै घरहरु भग्नावशेषमा परिणत भएका छन् । हाम्रो घरको पनि त्यही हाल छ । प्रायः सबैले गाऊँका घर जग्गाहरु बिक्री गरिसकेका छन् । बिक्री नगरेकाहरुको धाँस काटिरहेका छन् । काम गर्ने मान्छेहरु नपाइने हुनाले जमिन बाँझिएका छन् । बेँसी अहिले शहर बनेको छ, गाउँ खण्डहर । बुबाले भने जस्तै समय समयको कुरा हो–‘कहिले सासुको पालो कहिले बुहारीको पालो ।’

गाउँमा कुनैकुनै काम गर्न मलाई औधि गाह्रो लाग्दथ्यो । जस्तै चैतको महिनाको गर्मीमा गहुँ चुट्ने, दोहोरो मकै गोड्ने, धान गोड्ने र आली लगाउने यी कामदेखि म तर्कन्थे । तर्केर सुख थिएन, गर्नेपर्ने बाध्यता थियो । यी काम गर्नुपर्यो भने केही न केही बहाना बनाएर उम्कने कोसिस गर्थे । बरु गाई चराउन जान्थे, घरमा खाना पकाएर बस्थेँ, खाजा बनाएर लैजान्थेँ । सधैँ त्यो सम्भव पनि थिएन, बाध्यताले म कहिलेकाहीँ परिहान्थे । काम सुरु गरेपछि भने निरन्तर लगनशील भएर लाग्थे । अल्छी गर्दिनथिएँ । आफ्नो जिम्माको काम सधैँ फत्ते गरेर आउँथे ।

गाउँको कुरा गर्दा म निकै भावुक हुन्छु । बाल्यकाल बिताएका ती दिनहरु कति निश्चल थिए । कति उत्सुकता थिए, कति उत्साहित थिए, तिनै ऊर्जावान दिन सम्झँदा अहिले मन फुरुङ्ग हुन्छ । शरीरमा शक्ति प्रवाहित भएको अनुभूति हुन्छ । मलाई यस्तो सुखद अनुभूति दिने त्यो गाउँको प्रेरणाका पात्र मेरा आमाबुबा नै थिए । उहाँहरुको निश्चलता र सोझोपनको अहिले म सिको गर्दैछु । आखिर जीवन के नै रहेछ र ? अहिले बुबाले छोेडेर जानुभएको पनि २३ वर्ष भएको छ । अहिले आमाले पनि छोडेर जानुभयो ।

आमाबुबा ईश्वरीय रुपधारण गरेर हाम्रा कार्यका मूल्याङ्कन गरिरहनुभएको होलाजस्तो लाग्छ मलाई । त्यसैले त उहाँहरुको पदचाप हामीलाई प्यारो भएको छ । उमेरले आधा शताब्दीको घण्टी बजाइरहँदा कतिबेला हामी बाआमाले पछ्याउँदै गरेको मार्गमा पुग्छौँ, त्यो कसलाई थाहा हुन्छ र ?

बाल्यकालका सम्झनाले म कहिले भावनामा बग्छु, मीठा, नमीठा क्षणले रोमाञ्चित बन्छु, तर वर्तमानको कर्तव्यबाट टाढा हुन भने सक्दिनँ, किनकि अहिले म पनि कसैको बा भएको छु । अनि एउटा बाको कर्तव्यबाट कसरी टाढा रहन सक्छु । पुराना स्मृतिका हरेक पललाई शब्दरुपि माला उनि रहेको छु । विगतका दुःखद क्षणले वर्तमानमा सुखद अनुभूति थपिदो रहेछ भन्ने अनुभूति भैरहेछ मलाई । लाग्छ त्योे बेलाको दुःखले अहिले लेखिएका संस्मरणहरु अरुका लागि प्रेरणादायी बन्न सक्छन् । वास्तवमा हामीलाई लेख्नको लागि विषयवस्तुको कमि छैन्, आफ्नै भोगाईलाई मात्र पनि लेख्न सक्यो भने धेरै पुस्तकहरु बन्छन् । ति पुस्तकहरु धेरैका प्रेरणाका स्रोत बन्ने गर्छन ।

म कहिल्यै खाली बस्न सक्दिन, केही न केही गरिरहन चाहन्छु । यो प्रेरणा मलाई बुबाबाटै प्राप्त भएको हो, बुबाका त्यो प्रेरणालाई म धर्तीबाट बिदा नहुन्जेल सम्मालेरै राख्छु । र, त बुबाका हरेक शब्दलाई सन्देश ठानेर शब्दजालमार्फत यस्ता स्मृतिहरु लेखिरहेकोछु । बासँगका स्मृतिहरु लेख्दा मलाई अकै किसिमको उर्जा मिल्छ । बुबा नै अगाडि बसेर मेरा कुराहरु लेख भन्नु भएझैँ लाग्छ ।

स्कुल सकिए पछिको समय कसरी सदुपयोग गरौँ भनेर सोच्दै थिएँ । गाउँमा केशव ओझादाईले सिलाई सिकाउँदैछन् भन्ने कुरा साथी नवराज दाहालमार्फत थाह पाएँ । नवराजजीले पनि सिलाई सिक्ने चाहना भएको बताए पछि मलाई सजिलो भयो । र हामी दुबै केशवदाईको घरतर्फ गयौँ । –‘ल केटाहो सिलाई सिक्ने भए भोली देखि आउनु, पैसा महिनाको बतिस रुपैया लाग्छ है ।’ भनेर हामीलाई भने । यही कुरा बुबालाई भने । बुबाले कहाँबाट खोजेर बतिस रुपैया दिनुभयो । त्यसपछि मैले एक महिना ढुक्कले सिलाई सिके ।

अर्को महिनामा भने बुबालाई दुःख दिइन किनकी सिलाई सिक्न म गइन । केशव ओझादाइले पयरकाल(खुट्टाले चलाउने मेशिन) कलकत्ताबाट लिएर आएका थिए । अहिले सम्झन्छु ओझादाइ त निकै क्रान्तीकारी पो रहेछन् । एउटा पुरोहितको छोराको त्यो कदम पक्कै पनि हामीले सराहाना गर्नै पर्छ । त्यसबेला त हामीले के बुझेका थियौ र अहिले सम्झँदा उनी समाजका प्रेरणाका स्रोत रहेछन्, भन्ने मैले ठानेको छु ।

सिलाई सिकेर पहिलो दिन म खाना खाएर बेसीँ झरे र, मलको डोको बोकेर खेतमा जादैँ थिएँ, बाटोमा मलाई दुईजना छिमेकीले नराम्ररी हप्काए । ‘थुक्क मुला बाहुनको छोरा भएर दमैको काम सिक्ने अब देखि तेरो जात गयो ।’ मैले उहाँहरु जिस्केको होला भन्ने ठानेर केही जवाफ फर्काइन । मुसुक्क हाँसेर आफ्नो बाटो लागे । बेलुका बुबालाई सबै कुरा बताएँ ।

बुबाले भन्नु भयो–‘काम ठूलो सानो हुन्न, सक्यो जान्यो भने जसले गरे पनि हुन्छ । त्यसकारण अरुको कुरामा लाग्ने होइन, आफ्नो कर्म बलियो बनाउने हो ।’ हुन पनि मलाई बुबाले गर्ने कामप्रतिको सम्मान नै मन पथ्र्यो ।

कालान्तरमा मलाई गाली गर्ने ति दम्पत्तिको छोराहरुले सिलाई सिकेर काठमाडौँमा केही वर्ष सिलाई प्रशिक्षण केन्द्र खोले । मलाई लाग्छ हामीले कामलाई सम्मान गर्नु पर्छ, अनि हामी सम्मानित भएको महसुस हुन्छ । अहिले हाम्रो देशको मूल समस्या भनेकै यही छ, कामप्रतिको सम्मान छैन । त्यही काम विदेशमा राम्रो र स्वदेशमा लाज लाग्छ । यसले हामी दिनप्रतिदिन धाराशाही भैरहेका छौं । यो शहरमा कामलाई सम्मान गर्न सिके मैले, हातमा केही सिप सिके, बुबाका हरेक वाक्यलाई दिव्य ज्ञान मानेर अहिले पनि त्यही मार्गमा लागि रहेको छु ।

कर्मसँग जोडिएको अर्को प्रसङ्ग बाहुनले हलो जोत्न नहुने त्यो समयमा हामी भेडाबारी गएर राती बाह्रबजे गोरु नारेर जोत्याँै । दिउँसो त अरुले थाह पाउछन्, बबाल होला भन्ने डर । क्रान्तीकारी भयो भनेर अर्के लन्ठा लाग्ने बेर थिएन, त्यसैले हामी एउटा समूह उतैको निमन्त्रणामा काम फत्ते गरेर फर्केका थियौँ । बाहुनले हलो जोत्यो भनेर पछि कत्रो बवाल झण्डै गाउँ निकालामा परिएन । अहिले सबै बाहुनहरुले हलो जोत्छन । यो समयको खेल हो, समयसँग कसैको केही लाग्दो रहेनछ । त्यसै बेला हामी चार पाँच जनालाई राती नै भेडावारीमा बोलाउँथे । पर्दाभित्रबाट एउटा मान्छे बोल्थ्यो । त्यो प्रशिक्षण कार्यक्रम रहेछ, पछि बुझियो ।

अन्तेममा पञ्चयती व्यवस्था मुर्दावाद भन्थ्यो, सानो स्वरमा हामीले पनि भन्नुपथ्र्याे । बिहानीपख कार्यक्रम सकिएपछि हामी आफ्नो घर फर्किन्थ्यौँ । लहलहैमै भए पनि केही यस्ता काम गरियो । तर यी सबै कुरा म बुबाको अनुमति लिएरमात्र गर्थे ।

बुबा केही नयाँ सिक्नु पर्छ भन्नु हुन्थ्यो । जता जे भए पनि सोह्रवर्षको उमेरमै शहर पसियो । शहरमा सबै आफ्नै थाप्लोमा परेपछि सुखदुःखको अनुभूति बेग्लै हुँदो रहेछ । ठूला घरको ठूलै समस्या भनेझैँ शहरको समस्या झनै जटिल थियो । दुःखै भए पनि गाउँमा भोकै बस्नुपर्ने थिएन । यता शहरले कैयौ दिन भोकै राख्यो ।

चप्पल चुढिन्छ भनेर हातमा बोकेर शहरका सडकमा कैयौदिन खाली खुट्टा हिडियो । त्यसको लेखाजोखा नै छैन । तापनि शहरमा पसेपछि आजसम्म गाउँ फर्कने मौका मिलेकै छैन । गाउँ विर्सन सकेको पनि छैन, बुबा आमाका स्मरण झनै ताजा भएका छन् । यी र यस्तै लेख मार्फत मैले बुबाआमालाई सधैँ जीवित बनाउने कोसिस गरेको हुँ । आफू जलेर सन्तानलाई प्रकाश दिने मैनबत्ती हुनुहुन्थ्यो बुबा । बस् एउटै गुनासो छ, तपार्इँका सन्तान सक्षम भएर देशविदेशमा गरेका चकचकी तपाईँले कता बसेर हेर्दैै हुनुहुन्छ ?

मैले माथि नै उल्लेख गरेको छु, मलाई केही काम गर्न असाध्यै कठिन महशुस हुने गर्दथ्यो । त्यसमध्ये एउटा गहँु काट्ने र चुट्ने पनि हो । बेँसीमा सान्दाइकोे घर थियो, त्यहीँ खलो पनि थियो । काटेको गहुँ त्यहाँ ल्याएर चैत महिनाको मध्यान्नामा गहुँ चुटिरहेको थिएँ । दिदीहरु पनि थिए । सान्दाइ घरबाट निस्केर मलाई बोलाए । र, भने– ‘थुक्क जाँठा, यत्रो पढेको मान्छेले पनि यस्तो घाममा गहुँ चुटेर बस्छ ।

बुद्धि नभाको, मचाहिँ यति पढेको भए बरु काठमाडौँमा गएर भाँडा माझ्थें, गाउँमा यत्रो पनि यस्तो काम गर्ने थिइन् ।’ घामले टाउको चड्की रहेको बेलामा उनले झन उकेरा लगाए । मैले पनि मेरै लागि भनेका होलान भन्ने ठानें । बेलुका बुबालाई सबै कुरा भने । बुबाले पनि त्यही कुरा दोहोर्याउनुभयो ।

‘बाबु अब म तलाई पढाउन सक्दिनँ, धेरै भाइ छौँ, यहाँ बसेर के हुनु र अब तैले शहर गएर आफै पौरख गर्नुपर्छ, मलाई पनि भरथेक गर्नुपर्छ भाइहरुलाई पनि पढाउनु छ । दाइले भन्यो भनेर चित्त दुखाउने होइन, उसले भनेको कुरा ठिक हो अब म यसरी बस्दिनँ भनेर इख लिनुपर्छ ।’

म उचित समयको पर्खाइमा थिएँ । बिरानो शहरमा यात्रा गर्नु, काम खोज्नु, धेरै कुराको चुनौती थियो । म जाने नै भएपछि बुबाले एक सय कताबाट खोजेर मेरो खल्तीमा हालिदिनुभयो । प्यारो गाउँ छोड्नु पर्दा आँखा रसाएँ । दाइ र भान्जा ध्र्रुव शहरमै बस्थे, डेरा खोज्दै पुगें । केही दिन कार्टुनमा मोजा राखेर बाटो बाटोमा बेच्दै हिँडे । बागबजारको टुकुचा पुलमाथि पनि मोजा बेचेर बसें । शहरको कथा धेरै छ ।

पहिलोपल्ट ६ महिना जागिर खाएँ । तलब सबै दाइले सामान लगेर कटाउने गर्थे । ६ महिना काम गर्दा पनि सुको हात नपरेपछि मैले जागिर छोडिदिए । त्यसपछि आफू एक्लै बानेश्वर डेरा सरे । काम खोजे । जेनतेन शहरले बाँच्न सिकायो । अहिले शहर मेरो लागि साथी भएको छ । धेरैले काठमाडौँलाई गाली गरेर सिर्जना गरेको देख्छु । म भने यो शहरलाई मायाले सुम्सुम्याउँछु । जसले गाउँको विरानोपनलाई मायाले त्यसबखत आश्रय दिएको थियो, अहिलेसम्म दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्