Logo
Logo

सामाजिक चेतना, राजनीतिक चरित्र र रूपान्तरणको गन्तव्य


भुपेन्द्र थापा ‘माधव’

0
Shares

The current image has no alternative text. The file name is: Bhupendra.docx.jpg


नेपालको आधुनिक राजनीतिक इतिहासलाई नियाल्दा करिब प्रत्येक दशकमा जनआन्दोलन, विद्रोह र संघर्षका रूप लिएर जनता सडकमा उत्रिएको देखिन्छ । यो केवल समयको संयोग मात्र होइन, बरु पटक–पटकका राजनीतिक परिवर्तनपछि पनि शासन प्रणाली, राजनीतिक संस्कार र चरित्रमा अपेक्षित परिवर्तन नआएकाले उत्पन्न भएको जनअसन्तुष्टिको चक्रिय परिणाम हो । झण्डै सात दशकदेखि नेपालको राजनीति अस्थिरताको जालोमा रुमल्लिँदै आएको यथार्थ संसारसामु छर्लङ्ग छ । यति ठूलो त्याग, तपस्या र बलिदानको जगमा उभिएको शासन व्यवस्थाप्रति आज पनि जनतामा आशंका र असन्तुष्टि उत्तिकै देखिन्छ ।

नेपाली राजनीतिक स्थायित्वप्रति अझै पनि शंका कायम छ । २०१५ सालको दुईतिहाइ बहुमतदेखि २०७४ सालमा तत्कालीन नेकपाले पाएको झण्डै दुईतिहाइ बहुमतसम्म, कुनै पनि सरकारले आफ्नो कार्यकाल पूरा गर्न सकेन । यसको मूल कारण खोज्दा बाह्य प्रभावभन्दा बढी सम्बन्धित राजनीतिक दलकै आन्तरिक कमजोरी देखिन्छ । दलहरूबीचको अस्वस्थ प्रतिस्पर्धा, विखण्डन र व्यक्तिगत स्वार्थले अस्थिरताको बीउ रोपेको हो । यद्यपि आजको युवा पुस्तासँग नयाँ सोच, प्रखर नेतृत्व र प्रविधिको उपयोगमार्फत यो चक्र तोड्ने क्षमता छ, जसले दीर्घकालीन स्थिरता र समृद्धिको मार्ग कोर्न सक्छ ।

प्रजातन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि हजारौं नेपालीले जीवन बलिदान गरेका छन् । ती सहिदहरूको रगतले बनेको व्यवस्थाको अपमान गर्ने अधिकार कुनै पनि शासक वा प्रशासकलाई छैन। बीपी कोइराला, पुष्पलाल श्रेष्ठ र मदन भण्डारीजस्ता नेताहरूको विचार, सिद्धान्त र योगदानको सम्मान अनिवार्य छ ।

२०५२ सालमा नेकपा (माओवादी) ले सुरु गरेको सशस्त्र जनयुद्ध नेपालको राजनीतिक इतिहासमा एउटा निर्णायक मोड थियो । यसले सामाजिक अन्याय, असमानता र विभेदविरुद्ध आवाज उठाउँदै राज्य संरचनालाई नै चुनौती दियो। यो संघर्षले राजतन्त्रको अन्त्य, समावेशी राजनीतिक आधार र संघीय प्रणालीको बहसलाई स्थापित ग¥यो । २०६२÷६३ को जनआन्दोलनले राजतन्त्रलाई अन्त्य गर्दै गणतन्त्रको जग बसाल्यो। २०७२ मा जारी संविधानले संघीयता, धर्मनिरपेक्षता र समावेशितालाई संस्थागत ग¥यो ।

तर, कानुनी रूपमा स्थापित यी व्यवस्थाहरू व्यवहारमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेका छैनन् । संविधान जारी भएपछिका वर्षहरूमा पनि राजनीतिक अस्थिरता, सत्ता भागबण्डा, गुटबन्दी र अनैतिक अभ्यासहरू कायम रहे। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता दलहरू पुरानै संरचना र सोचमा अल्झिए । परिणामतः जनताको बदलिँदो अपेक्षा पूरा हुन सकेन र नयाँ राजनीतिक शक्तिहरूको उदय भयो ।

आजको नेपाली समाजको चेतना तीन तहमा विभाजित देखिन्छ—परम्परागत, संक्रमणकालीन र नवचेतना। परम्परागत चेतना पुराना संरचना जोगाउन खोज्छ, संक्रमणकालीन चेतना परिवर्तन चाहेर पनि अलमलमा छ, र नवचेतना विकल्प खोज्दै प्रश्न उठाइरहेको छ। तर यी तीन तहबीच संवाद र सहकार्यको अभाव छ। फलतः समाज एकीकृत शक्ति बन्न सकेको छैन ।

नेपालको मूल समस्या व्यवस्थाको भन्दा पनि चेतनाको अभाव हो। जबसम्म समाज आलोचनात्मक, जिम्मेवार र मूल्यमा आधारित हुँदैन, तबसम्म राजनीतिक चरित्र परिपक्व हुन सक्दैन। व्यवस्थाहरू बदलिए—राणा शासन, पञ्चायत, बहुदल र गणतन्त्र—तर राजनीतिक संस्कारमा अपेक्षित परिवर्तन आएन ।

माओवादी जनयुद्ध र त्यसपछिका आन्दोलनहरूले संरचना परिवर्तन गरे, तर राजनीतिक चरित्र परिवर्तन गर्न सकेनन् । अवसरवाद, गुटबन्दी र सत्ता केन्द्रित सोचले जनतालाई होइन, सत्तालाई प्राथमिकता दिने संस्कारलाई निरन्तरता दियो। यसले स्पष्ट पार्छ—संरचना अघि बढ्यो, तर संस्कार पछाडि रह्यो ।

नेपालको राजनीतिक इतिहास आशा र निराशाको दोहोरिने चक्र हो । हामीले शासक फेर्यौं, संविधान फेर्यौं, नारा फेर्यौं, तर के हामी आफैं बदलियौं? यो प्रश्न असहज भए पनि अनिवार्य छ । हामी परिवर्तनको नारा लगाउँछौं, तर व्यवहारमा अझै सम्बन्ध, पहुँच र स्वार्थमै अल्झिएका छौं ।

आजको समाजमा चेतनाबीच टकराव छ। नवचेतनाले प्रश्न उठाउँछ, परम्परागत चेतनाले त्यसलाई अस्वीकार गर्छ, र संक्रमणकालीन चेतना बीचमै अल्झिन्छ । यसले समाजलाई दिशाहीन बनाएको छ ।

कटु यथार्थ के हो भने—क्रान्तिले संरचना बदल्यो, तर चरित्र बदल्न सकेन। सत्ता बदलियो, शैली बदलिएन । नेतृत्व बदलियो, प्रवृत्ति बदलिएन। सिद्धान्त भाषणमा सीमित रह्यो, व्यवहारमा अवसरवाद हावी भयो ।

‘रूपान्तरण’ केवल संरचना परिवर्तन होइन; यो चेतना र चरित्रको गहिरो रूपान्तरण हो। तर नेपालमा अपेक्षा ठूलो छ, तर चेतना अधुरो र चरित्र अपरिवर्तित छ। यही विरोधाभासले रूपान्तरणको यात्रा अल्झाएको छ ।

यो प्रश्न नेताहरूलाई मात्र होइन, हामी सबैलाई हो। हामी भ्रष्टाचारको विरोध गर्छौं, तर अवसर पाए त्यसमा संलग्न हुन पछि पर्दैनौं। पारदर्शिताको कुरा गर्छौं, तर आफ्नै कमजोरी लुकाउँछौं। नयाँ नेतृत्व खोज्छौं, तर पुरानै संस्कार बोकेर हिँड्छौं ।

यदि समाज आफैं परिवर्तन हुन तयार छैन भने राजनीतिक चरित्र कसरी बदलिन्छ? अबको बाटो स्पष्ट छ—आत्मआलोचना, सिद्धान्त र व्यवहारबीच समन्वय, युवाको वास्तविक सहभागिता र संस्थागत विकास । अन्यथा, सामाजिक चेतना र राजनीतिक चरित्रबीचको दूरी अझै बढ्दै जानेछ, र रूपान्तरणको गन्तव्य सधैं टाढै रहनेछ ।

प्रतिक्रिया दिनुहोस्