काठमाडौं । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रसँग सम्बन्धित सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार दृढ रहेको जनाएको छ।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपालले लिपुलेक क्षेत्रबारे आफ्नो स्पष्ट धारणा भारत र चीन दुवैलाई पुनः अवगत गराइसकेको जानकारी दिए ।
उनका अनुसार सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग हुन् भन्ने विषयमा नेपाल सरकार स्पष्ट र अडिग छ ।
प्रवक्ता पौडेलले नेपाली भूमि हुँदै भारत-चीनबीच सञ्चालन हुने भनिएको कैलाश मानसरोवर यात्राका विषयमा पनि सरकारले आफ्नो धारणा सार्वजनिक गरिसकेको बताए। उनले ऐतिहासिक सन्धि, तथ्य, नक्सा र प्रमाणका आधारमा नेपाल–भारत सीमा समस्या समाधानका लागि सरकार सधैँ कूटनीतिक पहलमा रहेको उल्लेख गरे।












