Logo
Logo

सत्ता केन्द्रित राजनीतिले कम्युनिस्ट आन्दोलन रक्षात्मक बन्योः प्रचण्ड


0
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित गर्न सत्ता केन्द्रित राजनीतिभन्दा माथि उठेर आन्दोलन र सङ्घर्षमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य, एकता र पुनर्गठन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै दाहालले केवल सरकार निर्माण र परिवर्तनमा मात्र ध्यान दिँदा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको टिप्पणी गरे । उनले सहकार्यको उद्देश्य सरकारमा जानु मात्र हुन नहुने र यसलाई नयाँ आन्दोलनको सृष्टिका रूपमा अगाडि बढाउनुपर्ने बताए ।

दाहालले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको मुद्दामा आधारित भएर गरिने सङ्घर्षले मात्रै वास्तविक रूपान्तरण सम्भव हुने उल्लेख गरे । विगतमा माओवादी आन्दोलनमा सहभागी शक्तिहरूबीचको ऐतिहासिक सम्बन्ध र बलिदानको स्मरण गर्दै उनले अन्य वामपन्थी दलहरू, खासगरी नेकपा (एमाले) सँगको सहकार्य र एकताको अनुभवबाट शिक्षा लिनुपर्नेमा जोड दिए । विगतका कमीकमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न उहाँले सबै राजनीतिक दलका प्रतिनिधिहरूलाई आह्वान गरे ।

उनले भने, ‘मलाई लाग्छ, आजको कार्यक्रममार्फत यहाँ उपस्थित सबै पार्टीका प्रतिनिधि साथीहरूले सहकार्यको यात्रामा सहभागी हुने सङ्कल्प गर्नुहुनेछ । यो सहकार्यको उद्देश्य सरकारमा जानु मात्र होइन, आन्दोलनलाई बलियो बनाउनु पनि हो । सरकारमा जाने र छोड्ने कुरामा मात्र केन्द्रित हुँदा कम्युनिस्ट आन्दोलन आज रक्षात्मक अवस्थामा पुगेको छ । त्यसैले उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदाय र श्रमजीवी जनताको आन्दोलन तथा वर्गसङ्घर्षमा सहकार्य गर्दै रूपान्तरणको आधार तयार गर्नुपर्छ । हामीले विगतमा एउटै मोर्चामा लडेको अनुभव छ । नेकपा (एमाले) लगायत अन्य पार्टीसँगको विगतको सहकार्य र एकताबाट शिक्षा लिँदै विगतका कमजोरी नदोहोरिने गरी रणनीतिक रूपमा अगाडि बढ्न आवश्यक छ । त्यसका लागि म यहाँहरू सबैसँग विशेष अपिल गर्न चाहन्छु ।’

दाहालले सबै वामपन्थी शक्तिहरूलाई सहकार्यको यस नयाँ यात्रामा सहभागी हुन र कम्युनिस्ट आन्दोलनलाई नयाँ गति दिन विशेष अपिल समेत गरे ।

प्रतिक्रिया दिनुहोस्