Logo
Logo

रसुवा बाढीः भन्सार क्षेत्रका ५ सयभन्दा बढी गाडीसहित नेपालतर्फको संरचना ध्वस्त


0
Shares

काठमाडौँ। रसुवामा आएको भीषण बाढीले मितेरी पुल नजिकैको भन्सार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीले भन्सार परिसरमा राखिएका सवारीसाधन तथा अन्य व्यापारिक सामानहरू पूर्ण रूपमा बगाएको छ ।

भन्सार प्रमुख राजेन्द्र ढुङ्गानाका अनुसार बाढी आउँदा नेपालतर्फको भन्सार क्षेत्रमा करिब ५ सयभन्दा बढी सवारीसाधनहरू राखिएका थिए। आगामी नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोलाई लक्षित गरी आयात गरिएका बीवाईडी, एमजी, वुलिङ, ओमोडा एन्ड जेको र नामी जस्ता ब्रान्डका गाडीहरू यही रुट भएर नेपाल भित्रिने क्रममा थिए।

हाल बाढीको भीषणताका कारण भन्सार क्षेत्रमा पुगेको कुल भौतिक तथा आर्थिक क्षतिको यकिन विवरण संकलन गर्न सक्ने अवस्था नरहेको भन्सार प्रमुख ढुङ्गानाले जानकारी दिए।

चीनतर्फका अन्य सडक खण्ड बन्द भएपछि अधिकांश व्यवसायीहरूले सवारीसाधन आयातका लागि यही नाका प्रयोग गर्दै आएका थिए। दुई वर्षअघि पनि यस्तै बाढीले नयाँ गाडी तथा सामानहरू बगाएपछि बेलिब्रिज निर्माण गरी नाका पुनः सञ्चालनमा ल्याइएको थियो। तर, यसपटकको बाढीले नेपालतर्फका कुनै पनि भौतिक संरचना बाँकी नराखेको कार्यालयले जनाएको छ।

यस्तै, रसुवास्थित नदी किनारका बेत्रावती लगायतका बजार क्षेत्रहरू बाढीले बगाएको छ भने त्रिशूली नदीमा रहेका पुलहरूसमेत क्षति भई सम्पर्क विच्छेद भएको छ।

प्रतिक्रिया दिनुहोस्